बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शुक्लागण्डकीका विद्यालयमा पोशाक होइन मास्क अनिवार्य !

शुक्लागण्डकीका विद्यालयमा पोशाक होइन मास्क अनिवार्य !


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७७, बुधबार

तनहुँ, १४ असोज– तनहुँको शुक्लागण्डकी नगरपालिकाभित्र चैत दोस्रो सातादेखि बन्द सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएको छ । शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गर्दै असोज १ बाट सिकाइ सहजीकरण थाल्न निर्देशन दिएपछि तनहुँका १० वटै स्थानीय तहका विद्यालय खुलेका हुन् ।
तनहुँमा इन्टरनेटको पहुँचमा भएका विद्यार्थीलाई विद्यालयले अनलाइन कक्षा चलाएका छन् । अनलाइन कक्षाको पहुँचबाहिरका विद्यार्थीलाई न्यून संख्या भए विद्यालयमै र धेरै विद्यार्थी भएका विद्यालयका शिक्षक गाउँटोलमै पुगेर पनि सिकाइ सहजीकरण गर्न थालेका छन् ।
सात महिनासम्म घरमै थुनिएका विद्यार्थी पढ्न पाएपछि दंग छन् । पहिला पोसाक अनिवार्य लगाउन निर्देशन दिने विद्यालयहरूले पछिल्लो समय पोसाकको साटो मास्कलाई प्राथमिकता दिन थालेका छन् ।
‘विद्यालय आउँदा विद्यार्थीलाई अनिवार्य मास्क लगाउन भनेका छौं’, शुक्लागण्डकी नगरपालिका–१० छब्दी माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद सिग्देलले भने, ‘मास्क नभएका विद्यार्थीलाई विद्यालयले नै वितरण गरिरहेको छ ।’
उनका अनुसार विद्यालयमै जोर–बिजोर कक्षा चलाइएको छ । मास्कसँगै विद्यार्थीलाई थर्मल गनले ज्वरो नापेर कक्षा प्रवेश गर्न दिइएको उनी सुनाउँछन् । ‘कोरोना संक्रमणको जोखिम झनै बढेको छ । कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षकमा संक्रमण फैलन नदिनलाई सतर्कता अपनाएको छौं’, उनले भने ।
त्रसित मनस्थिति लिएर विद्यालय आउने विद्यार्थीलाई पाठ्यपुस्तकका अलावा कोरोनाबारे शिक्षा दिने प्रधानाध्यापक सिग्देलको भनाइ छ । विद्यार्थीलाई पाठ्यक्रमका अलावा कोरोनाबारेको शिक्षा दिने गरेको उनले बताए ।
गाउँटोलमा सिकाइ सहजीकरण गर्न पुग्ने शिक्षकको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै मास्क र स्यानिटाइजर अनिवार्य गरेको शुक्लागण्डकी–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माविका सहायक प्रधानाध्यापक एकनारायण भण्डारीले जानकारी दिए ।
‘कोरोना निको हुने भ्याक्सिन नबन्दासम्म जोखिम नै छ । जोखिम भए पनि विद्यार्थीलाई सिकाइबाट वञ्चित गराउन भएन’, उनी भन्छन्, ‘जनस्वास्थ्यका मापदण्ड अपनाएर सिकाइ सहजीकरण गरिरहेका छौं ।’
विद्यार्थी र शिक्षकलाई मास्क, स्यानिटाइजर, ग्लोब्सजस्ता स्वास्थ्य सामग्री खरिद गर्न नगरपालिकाले तत्कालका लागि विद्यालय सुधार योजनाको रकम उपयोग गर्न निर्देशन दिएको शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाईंले बताए ।
‘सर्वप्रथम विद्यालय र सिकाइ केन्द्र सरसफाइ गर्न आवश्यक छ’, उनले भने, ‘स्वास्थ्यका मापदण्डअनुसार चाहिने सामग्री खरिदका लागि विद्यालय सुधार योजनाको रकम खर्च गर्न भनेका छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->