बागलुङ, १६ असोज– गुरुकुलमा दलीत र जनजातीलाई पनि संस्कृत पढाउनु पर्छ भन्ने अभियानमा लागेका चन्द्रकान्त पौडेल पक्राउ परेका छन् । स्थानीय एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा उनलाई बिहिबार साँझ पक्राउ गरिएको हो । स्थानीय गोपाल पौडेलले दिएको उजुरीपछि प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए ।
यसअघि उनीविरुद्ध साइवर अपराधको मुद्दा पनि परेको थियो । उक्त मुद्दाको छिनोफानो नहुँदै स्थानीय युवालाई कुटपिट गरेको आरोप लागेको हो । प्रहरीले ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको बताएको छ । पौडेलले सामाजिक संजाल प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीलाई जथाभावी गालीगलौज गरेका थिए ।
केही महिनाअघिदेखि कुँडुलेस्थित मुक्तीनाथ वेद विद्याश्रममा दलीत र जनजातीले पनि संस्कृत पढ्न पाउनुपर्ने माग राख्दै आएका थिए । उनको मागमा स्थानीयले विरोधसमेत गरेका थिए ।
जिल्ला प्रशासनले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । विद्यालयका अध्यक्ष सहदेव राजभण्डारीले भने विज्ञप्ती प्रकाशित गरेर विद्यायमा जो–कसैलाई पढ्न पाउने व्यवस्था गरिएको बताएका थिए ।
पौडेलविरुद्ध भने धेरै स्थानमा झगडा गरेको आरोप छ । उक्त विद्यालयमा ५ वर्षअघि पढाउने क्रममा शिक्षकको हैसियतमा विद्यार्थीलाई कुटपिट गरेको पनि आरोप लगाइएको थियो । पौडेलको फेसबुकमा श्रीमतीले चलाएको भन्दै पक्राउ गरिएको विषय गम्भिर भएकोले संचारमाध्यमले पनि चासो राखिदिनुपर्ने लेखेकी छिन् ।





