पोखरा, २१ असोज– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशमा थप मन्त्रालय र मन्त्री आवश्यक नभएको प्रतिक्रिया दिएका छन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाट यहाँ रहेका केही मन्त्रालय फुटाएर ठूलो मन्त्रिमण्डल बनाउने तथा मन्त्रीहरु फेरबदल गर्ने अभिव्यक्ति सार्वजनिक भइरहँदा मन्त्रिमण्डलमा दोस्रो वरियतामा रहेका मन्त्री गुरुङले यो धारणा राखेका हुन् । ‘एउटा कुरा के छ भन्दा, अहिलेको अवस्थामा मन्त्रालय फुटाएर मात्रै पनि समस्याको समाधान हुँदैन’, ढोरपाटनसँगको विशेष कुराकानीमा उनले भने, ‘हो, मन्त्रालय फुटाउँदा काम पुग्छ भन्ने पनि लाग्दैन । यहाँ थोर थोरै (अधिकार) छ, धेरै कुरा संघमै छ । कानूनमा जे भएपनि । सबै अधिकार हामीलाई देऊ भने पनि गर्न सकिने अवस्था छैन ।’
उनले केही मन्त्रालयहरुमा दायित्व बढी भएको र सो दायित्व निभाउन सक्ने सचिव र कर्मचारी भए अहिलेकै अवस्थाले काम चल्ने तर्क पनि गरे । सामाजिक विकास मन्त्रालय सम्हाल्ने सचिवले स्वास्थ्य पनि बुझ्नुपर्ने, स्वास्थ्य हेर्नेले सामाजिक र सांस्कृतिक क्षेत्र पनि बुझ्नु पर्ने बाध्यताले गर्दा कामगर्न गाह्रो हुने गरेको बताउँदै उनले सबै विषय बुझ्ने कर्मचारी भएमा समस्या नहुने जिकिर गरे ।
‘मन्त्री विशुद्ध राजनीतिक मान्छे भएकाले उसले मन्त्रालयका कुरा सबै बुझ्न सक्दैन’, उनले भने, ‘माथि (संघमा) एउटा मन्त्रालय हुन्छ, त्यहाँको सचिवले एउटा कुरा मात्रै बुझे पुग्छ, यहाँ त मन्त्रालयको सचिव भएर आउँदा पनि धेरै कुरा बुझुनुपर्छ । बनको आयो उद्योग नबुझ्ने हुँदा भने यहाँ समस्या हुन्छ ।’
उनले मन्त्रालय थप्दा संरचना पनि थपिने ह्ुँदा त्यसले खर्च बढाउने संकेत पनि गरे । ‘मन्त्रालय थप्दा मन्त्री मात्र हैन कि सहायकदेखि नै खोजेर कर्मचारी भर्ना गर्नुपर्ने हुन्छ । त्यहीँबाट काम गरौँ भन्ने हुँदैन । यही बजेट टुक्र्याएर जाऊँ भनेर पनि हुँदैन । नयाँ बजेट बनाउनुपर्छ’, उनले भने, यहाँ त प्रदेश सरकारलाई स्थापित गर्नुछ ।’ उनले प्रदेश सरकारका हालसम्मका गतिविधिले यसको औचित्य प्रुष्टि गरेको जिकिर गर्दै उद्यमशीलता विकास, रोजगारी सृजनासँगै प्रदेशको अर्थतन्त्रको आकार ठूलो बनाउने प्रदेश सरकारको लक्ष्य भएको बताए ।




