तनहुँ, २५ असोज– रोटरी क्लव अफ नेपालले तनहुँको व्यास नगरपालिकालाई पिसीआर परिक्षण गर्ने मेसिन सहयोग गरेको छ । क्लबले १२ लाख ५० हजार रुपैयाँ मुल्य पर्ने मेसिन सहयोग गरेको हो ।
कोरोना भाईरसको संक्रमणदर दैनिक बढिरहेका बेला पिसीआर परिक्षणको दायरा बढाउन नगरपालिकालाई रोटरीले सहयोग गरेको मेसिन सञ्चालनमा आएपछि पोखरामा स्वाब संकलन गरी पठाउनुपर्ने बाध्यता भने हट्ने छ । तर, मेसिन कसरी चलाउने भन्ने निक्र्यौल भईनसकेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
‘दमौली अस्पतालसंग सहकार्य गर्ने कि भन्ने छ । निर्णय भइसकेको छैन । यसबारे छिट्टै टुंगो लगाउँछौँ’, उनले भने । अस्पतालसंग सहकार्य हुन नसके नगरपालिकाले नै ल्याब निर्माण गरेर मेसिन चलाउने श्रेष्ठको भनाई छ । ३ घण्टामा ८ जनाको स्वाब परीक्षण गर्न सक्ने मेसिनको क्षमता हो । २४ घण्टा निरन्तर चल्दा ६४ जनाको स्वाब परिक्षण हुनेछ ।
जेठ अन्तिम सातातिर विदेशबाट फर्किएर स्थानीय तहले बनाएका क्वारेन्टिनमा बस्नेको लर्को थियो । १४ दिन क्वारेन्टिनमा बसेपछि घर फिर्नलाई स्वाब परिक्षण गर्दा अनिवार्य रिपोर्ट नेगेटिभ आए मात्र पाइन्थ्यो । तर, स्वाब दिएको दुई हप्तासम्म पनि रिपोर्ट नआइदिँदा स्थानीय तह तनावमा थिए ।
पोखराको प्रयोगशालामा चाप धेरै भएकाले रिपोर्ट ढिलो आउन थालेपछि जिल्लाका स्थानीय तहले मिलेर पिसीआर मेसिन खरिद गर्ने निर्णयका थिए । प्रदेशमा पिसीआर मेसिन थप भई पिसीआर परिक्षणको क्षमता बढेकाले मेसिनको सट्टा जिल्लाकै १० स्थानीय तहको संयुक्त लगानीमा जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा आईसोलेसन भवन निर्माण चलिरहेको छ । ५० शैय्या क्षमताको आईसोलेसन सञ्चालन गर्ने लक्ष्यसहित निर्माणधिन आठ कोठे भवनको काम हाल अन्तिम चरणमा पुगेको छ ।





