पोखरा, २६ असोज–गण्डकी प्रदेशमा सोमबार थप १ सय २६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी सोमबारको पहिलो विज्ञप्तिअनुसार नयाँ थपिएकासँगै प्रदेशमा संक्रमितको सङ्ख्या चार हजार ९ सय ७१ पुगेको छ । थपिएकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिकाको वडाका ४३ जना, तथा मध्यविन्दु नगरपालिका–१४ का एक जना पुरुष छन् । गैँडाकोट नगरपालिका वडा नं १४, १५ र १६ का चार जना, बागलुङमा नेपाली सेनामा कार्यरत दुई पुरुषसहित वडा नं ७, १०, ४, १ र २ का सात जनामा सङ्क्रमणको पुष्टि भएको छ । यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिकाका १३ जना, बन्दीपुर गाउँपालिकाका चार जना, भिमाद गाउँपालिकाका चार जना, ब्यास नगरपालिकाका वडा नं १०, १, ४, ३, २, १४ र ८ का ११ जना, लमजुङ मध्यनेपाल नगरपालिकाका दुई जनामा र स्याङ्जाको भीरकोट गाउँपालिकाका एक जनामा पनि सङ्क्रमण रहेको पाइएको छ ।
कास्कीको पोखरा महानगरपालिका विभिन्न वडाका गरेर २४ जनामा सङ्क्रमणको पुष्टि गरिएको छ । उनीहरू वडा नं २९, ८, ६, १४, १३, २५, १०, १, ६, ५ र ७ का व्यक्तिहरू हुन् । यसबाहेक फेवासिटी अस्पतालको क्यान्टिनमा कार्यरत एक जनामा पनि सङ्क्रमण रहेको पाइएको छ । यस्तै पश्चिमाञ्चल अस्पतालमा कार्यरत दुई जना, ओम अस्पतालमा उपचाररत एक जना र चरक मेमोरियल अस्पतालमा उपचाररत दुई जनामा पनि सङ्क्रमण रहेको पाइएको छ ।





