नवलपुर, ८ कात्तिक— प्राकृतिक चिकित्सालयले आईशोलेशन भवन निर्मलीकरण थालेको छ । बिगत ५ महिनादेखी निरन्तर कोरोना संक्रमितको उपचारमा प्रयोग भएको भवन सहित अस्पतालका शैय्या निर्मलीकरण गर्नुपर्ने आवश्यकता महशुस भएर निर्मलीकरण गर्न थालिएको प्राकृतिक चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले बताए ।
डा. पौडेलका अनुसार जिल्ला विपद कोभिड १९ रोकथाम उपचार र नियन्त्रण समितिको बैठकको निर्णय बमोजिम शुक्रवारबाट थालिएको निर्मलीकरण कार्यका कारण १ हप्ता थप सेवा बन्द हुने जनाईएको छ ।
निर्मलीकरण कार्यमा जिल्ला प्रहरी कार्यालयबाट संक्रमित भई आईशोलेसनमा बसेका प्रहरी कर्मचारीहरुले सहयोग पुर्याईरहेका छन् ।
यस अवधिमा आकस्मिक सेवा बन्द नहुने जनाईएको छ । यहाँबाट ७ सय बढी कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्राकृतिक चिकित्सालयमा अहिले १० जनामात्रै आईशोलेशनमा छन् । जिल्लाभित्र रहेका सक्रिय संक्रमित ४०४ जनामध्ये बाँकी होम आईशोलेशनमा छन् ।
यस्तै, अहिले चाडपर्वका बेला भएकाले बिरामी भई स्वास्थ्य संस्थामा जान अलमलमा पर्न सक्ने अवस्थालाई मध्यनजर गरी नवलपुरका त्यस्ता ब्यक्तिहरुले सम्वन्धित पालिकाका स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा सम्पर्क गर्न र आपतकालीन अवस्थामा मध्यबिन्दु जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. शिवराज न्यौपानेको फोन नं. ९८५१०६५०८४, डा. साजन श्रेष्ठ ९८६००५५०८३, प्राकृतिक चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलको फोन नं. ९८५६०८८४८८ र इमर्जेन्सी ईन्चार्ज बिष्णु पाठकको फोन नं. ९८४४७४९९४७ मा २४ सै घण्टा सम्पर्क गर्न आग्रह गरिएकोे छ ।





