नवलपुर, ९ कात्तिक- नवलपुर प्रहरीले जुवा खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ । जुवाखालबाट प्रहरीले नगद समेत बरामद गरेको छ । नवलपुरको कावासोती वडा नं. १४ स्थित प्रेमलाल महतोको घरमा कौडा खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । कौडा खालबाट १ लाख ६८ हजार २ सय २५ रूपैयाँ नगद बरामद भएको नवलपुर प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए ।
पक्राउ पर्नेमा कावासोती २ का ४४ बर्षीय श्याम श्रेष्ठ, कावासोती १ का २७ बर्षीय विनोद सुनार, कावासोती ८ का ३४ बर्षीय सन्तोष परियार, कावासोती १४ का ३६ बर्षीय मिनबहादुर थारू र कावासोती १४ कै ४० बर्षीय नारायण महतो रहेका छन् ।
एसपी प्रकाश मल्लका अनुसार नियन्त्रणमा आएका पाँचै जनालाई पक्राउ पुर्जी जारी गरिएको छ । कार्यालय खुलेपछि जुवातास तथा सट्टावाजी अन्तर्गत रहेर म्याद थप गरी अनुसन्धान हुने जनाईएको छ ।





