तनहुँ, १४ कात्तिक -‘कोरोना संक्रमण केही होईन्, सामान्य रुघाखोकी जस्तै हो’ भन्नेहरु धेरै छन् । तर, हेलचक्य्राँई गरी कोरोनालाई समान्य ठान्दा ज्यानै जान सक्ने बताउँछन् कोरोना जितेका जिल्ला समन्वय समिति तनहुँका सदस्य एंवम् प्रवक्ता गल गुरुङ ।
४३ बर्षीय गुरुङ भन्छन्, ‘आईसियुमा पुगेपछि बल्ल थाहा हुन्छ, कोरोना के रैछ भनेर । कोरोना केही होईन्, सामान्य रुघाखोकी जस्तै हो भन्ने नठानौँ । सचेत रहेर कोरोना लाग्न नदिनु नै उत्तम हो रैछ ।’
कोरोना जित्ने अचुक औषधी उनले ‘आत्मबल’ लाई ठान्छन् । ‘धेरै साथीले कोरोना केही हैन, गुर्जो र बेसार पानी खाएपछि निको हुन्छ भन्नुहुन्छ’, उनी भन्छन्, ‘लक्षण सहितको कोरोना देखियो भने केही खाएर पनि निको हुदैन् । निको हुन आत्मबल चाहिन्छ ।’,
जनप्रतिनिधि भएकाले उनी कार्यक्रममा सहभागी भईरहन्थे । स्वास्थ्यको एकदमै ख्याल राख्ने, आफुले अन्य जनप्रतिनिधीलाई पनि मास्क सेनिटाईजरको प्रयोग गर्न लगाउने, धेरै भिडभाडमा नजाने र जनस्वास्थ्यको मापदण्ड पालना गरेकाले कोरोना पोजेटिभ रिपोर्ट आउला भन्नेमा उनलाई शंका नै थिएन् ।
करिब दुई हप्तासम्म ज्वरोले थलिए गुरुङ । यो अवधीमा उनले सामान्य रुघाखोकी सम्झेर अस्पताल जान खोजेन्न । दुई हप्तासम्म निको होलाकी भन्ने आशमा क्वाटरमा आईसोलेट भएर बसेका उनी श्वासप्रश्वासमा समस्या देखिन थालेपछि अर्धचेत अवस्थामा असोज २७ गते जिल्ला अस्पताल दमौली पुगेर रगत परिक्षण र भिडियो एक्सरे गरे । फोक्सोमा समस्या देखिएको भन्दै त्यहाँका चिकित्सकले उनलाई पोखरा रिफर गरिदिए ।
एम्बुलेन्स खोजेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुगेका उनलाई उच्च ज्वरो आएको भनेपछि भर्ना लिन आनकानी गरियो । सोर्सफोर्स नै लगाएर बल्लतल्ल अस्पतालले भर्ना लिएर प्रिआईसोलेसनमा राखेको गुरुङ बताउँछन् । भोलिपल्ट स्वास निकालेर पिसीआर परिक्षण गर्न पठाईयो । असोज २९ गते उनलाई कोरोना पोजेटिभ पुष्टी भयो ।
कोरोना पोजेटिभको रिपोर्ट आउँदा निकै अत्तालिएको उनी बताउँछन् । श्वासप्रश्वासमा समस्या देखिएकाले गुरुङलाई पोजेटिभ रिपोर्ट आएको दिनेदेखी ४ दिनसम्म कोभिड अस्पतालको आईसियुमा राखेर उपचार गरियो । कोरोना पुष्टी भएको १४ औँ दिनमा बुधबार कोरोनामुक्त भएर घर फर्किएका गुरुङ अहिले चिकित्सकको सल्लाह बमोजिम होम क्वारेन्टिनमा छन् ।
आइसियुमा रहँदा आफुले बाँच्ने आश मारेको उनी बताउँछन् । भाग्यले नयाँ जिवन पाएको सुनाउँदै उनी भन्छन्, ‘आइसियुमा उपचाररत आडैको संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएर छिनभरमै मृत्युवरण गरेको कहाली लाग्दो दृश्यले आफु पनि बाँच्दिन जस्तो लाग्थ्यो । मृत्यु भएपछि पनि लाश बेलैमा नउठेर लाशसंगै सुत्नुपर्दा झनै पिडा हुने ।’ आईसियुबाट ४ दिनपछि वार्डमा सारेपछि अब बाचिन्छ भन्ने आश पलाएको उनले सुनाए ।
आइसोलेसन वार्डमा सिमिति स्वास्थ्यकर्मी खटाइएकाले संक्रमितको उचित ख्याल नभएको उनको भनाई छ । ‘संक्रमित छट्पटिएर मर्न आँटेपनि स्वास्थ्यकर्मीलाई पिपीई लगाउन २५–३० मिनेट लाग्दो रहेछ । उनीहरु आउन नपाउदै मान्छे बितिसक्ने अवस्था देखियो । कोरोनाले भन्दा पनि बेला बेलामा अक्सिजन सकिराख्ने र त्यहाँ स्वास्थ्यकर्मी सिमित भाको कारणले पनि संक्रमितहरुको सजिलै ज्यान जादो रैछ’, गुरुङले बेलिबिस्तार सुनाए ।
कोरोना निको भएर आएपछि समाजले हेर्ने दृष्टीकोणमा उनले धैरै फरक पाएका छन् । ‘कुनै अपराधी आए जस्तो दृष्टिकोणले हेर्छन्’, उनले भने । संक्रमितलाई राम्रो व्यवहार गरी आत्मबल बढाउन सकेमा कोरोना बिरुद्धको लडाईमा सहजै जित हासिँल हुने उनले जनाए । गुरुङले स्थानिय तहका जनप्रतिनिधीले कोरोना सम्बन्धि सचेतना फैलाउनुपर्ने आवश्यकता औल्याए ।





