
नवलपुर, १६ कात्तिक– नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्षसहित गाउँपालिकाका ४ जना कर्मचारी संक्रमित भएपछि कार्तिक २१ गतेसम्म सेवा प्रवाह बन्द भएको छ ।
शुक्रबार संकलन गरी पोखरा परीक्षणका लागी पठाईएको स्वाव नमूनाको रिपोर्टमा हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे, वहाँको परिवारका एक सदस्य, स्वास्थ्य शाखा प्रमुख र कार्यालय सहयोगी ३ जनासहित ८ जनामा संक्रमण पुष्टि भएको हो ।
अध्यक्ष पाण्डेले आफूमा कोभिडका कुनै लक्षण नरहेको तर पोजेटिभ देखिएपछि होम आईशोलेशनमा बसेको बताएकी छन् ।
पछिल्लोपटक कार्तिक ८ गते यता अध्यक्ष पाण्डेले गाउँपालिकाका २ ठूला कार्यक्रममा सहभागी भएकी थिईन् । उनले दशैअघि उज्यालो हुप्सेकोट कार्यक्रमअन्तर्गत मोहनडाँडामा विद्युत प्रसारण लाईनको उद्घाटन र दशैपछि वडा नं. २, ४, ५ र ६ का ३ सय १५ घरधुरीलाई सोलारबत्तीको प्यानलसहितका सामग्रीहरु हस्तान्तरण गरेकी हुन् ।
गाउँपालिका अध्यक्षमा कोरोना पुष्टि भएपछि विकट गाउँमा बसोबास गर्नेहरु अध्यक्षले हस्तान्तरण गरेको सामग्री आफुहरुले साथमै लिएका कारण त्रसित बनेका छन् ।






