कार्तिक महिना ।
घमाइलो दिन । घाम भने त्यति रापिलो थिएन । छिनछिनमा चिसो स्याँठ मज्जाले बत्तिएर हान्थ्यो अनुहारमा । तर पसिनाले निथ्रुक्क रुझेको थियो ज्यान । दशैंको टिकासमेत बगेको आभास हुन्थ्यो पसिनाले निधारबाट, तपतप । चिउँडोसम्म आइपुग्थ्यो कहिले त । हातैले पुछिदिएँ मैले । जमरा भने जस्ताको तस्तै थियो कानैमा । गलेका थिए खुट्टाहरु । ढाड दुखेर उधुमै । तर थाकेको थिएन मन । हारिन मैले ।
साल २०७५ । विजयादशमीको त्यो दिन । म साइकलमा थिएँ । साइकल चाँहि गुडिरहेथ्यो महेन्द्र राजमार्गको मोरङ खण्डमा । लामो दुरीका बसहरु फाट्टफुट्ट मात्रामा गुडेका थिए सडकमा । दशैंको त्यो रौनकता टेम्पो, भ्यान अनि रिक्सामा सवार मानिसहरुको निधारभरिको रातो टिका अनि मुहारमा छचलकिएको उमंगले प्रष्ट हुन्थ्यो । यसैले मन प्रफुलित बनेको थियो । हतासमा थिएँ म । पुग्नु थियो कुनै हालतमा धुलाबारी, झापा । किनकि मेरो स्वागतमा दिउँसैदेखि पखाईमा थिए साथीहरु । उनीहरुलाई निराशा बनाउन निको लागेन । अबेर राती भने पनि पुगेरै छाडें । थाकेको, गलेको अनि दुखेको पीडाहरु आफैं बिलाएर गएको भान भएको थियो त्यो बेला ।
º º º º º
मनमा फ्याट्ट योजना बुन्यो । यसपालिको दशैं, तिहार अनि छठ पृथक तरिकाले मनाउने । घुमेरै । त्यो पनि साइकलमै । लाग्यो यस यात्रालाई अझ उपलब्धीमुलक बनाऊँ । फगत साइकल कुदाएर मात्र नभई यस यात्राले केही निचोड देओस् । केही अर्थपूर्ण रहोस् । अनि बन्यो, ‘दिगो विकासका लागि साइकल अभियान, देश घुमौं देश बुझौं’ अभियान । सँगै जोडे केही सन्देशहरु । पर्यटन वर्ष २०२० को प्रचारप्रसार, रक्तदान सम्बन्धी जागरण, अटिजमबारे जनचेतना अनि साइकल, वातावरण र पर्यटनका लागि साइकल अभियान ।
हिमालहरु छ्याङ्ङ खुलेका देखिन्थे पोखराबाट । उस्तै खुलेका थिए पोखरेलीका मन पनि । दशैंको आँगमन यसैले अथ्र्याउथ्यो । दशैंसँगै पलाएको थियो हल्का जाडो । दशैं मनाउन सबै घर फर्कदाको हतारो थियो जताततै । दशैंको मुखैमा म भने घरबाट निस्कदै थिएँ । चवालिस दिने एकल साइकल यात्राका लागि । अबको चवालिस दिन मेरा लागि साथी बन्ने भए मेरो साइकल । उसका लागि साथी म । यसैले मलाई उनन्तीस जिल्लाहरु पु¥याउने छ । मनमा अलिकति उत्साह, जोस अनि उत्सुकताको ककटेलले रमरम पारेको थियो । अनि म हानिएको थिए सुन्दर सुदुर पूर्व ।
पूर्व टेकेकै पहिलोपल्ट थिए मैले । पहिलोपल्ट नै पूर्व (प्रदेश एक) लाई साइकलमै एक फन्को मार्ने योजना अनुरुप उदयपुरबाट यात्रा सुरु गरें । अझ भनौं उदयपुरबाट यात्राको उदय ।
साइकलको नाताले झ्याङ्गिएको विशेष साइनो छ यहाँ । अपनत्व वा आफ्नोपनको अनुभूति उदयपुर पाइला टेक्दै आभाष मिलेको थियो मनमा । यहाँको साइकल संघ अनि साइकलेहरुको मायाले आल्हादित भएको थिए म । एक रित्तो थिएन मनमा एक्लोपन । लाग्दो हो, धेरै पटक आइसकेको थिए यहाँ । तर पाइला भने पहिलोपल्ट न टेकेको मैले । कुनाकन्दरा टोलीसँगै चहारें । घना सालको जंगल, उदयपुर सिमेन्ट फ्याक्ट्री, माटोले बनेको ताजमहलजस्तो आकृति साइकलमै डुलें अनि स्वादिलो घुगी चाखेर दिनलाई बिट मारें । अर्को दिन बिहानै नचाहँदा नचाहँदै बिदाइका हात हल्लाउँदै म चुरे पहाडको उकालो उक्लेर तराई झरें ।
कदमाहा पुगेर महेन्द्र राजमार्गमा मिसिएँ म । अनि लागे पूर्वै पूर्व । यहीँ यात्राको मेसोमा सप्तरी पनि घुमिहालौं भन्ने रहर जाग्यो । अनि केटो लाग्यो राजविराजतिर ।
झम्के साँझ । राजविराजको चहलपहल साँझ छिपिएसँगै बाक्लिदै थियो । त्यहाँका सक्रिय युवाहरुको समूह रहेछ । उनीहरु मेरै स्वागतका लागि तम्तयार रहेछन् । चोकैमा पु¥याए मलाई । स्पिकर अनि माइकको समेत जोरजाम पारे । नेताको भाषणले गुन्जिने चोक मेरो स्वागत कार्यक्रमले तातियो । बाइक वा स्कुटी रोकेरै पुलुक्क मलाई हेर्थे सबै । ट्राफिक जाम हुने अवस्था आइप¥यो । नजिकैको ट्राफिक बिटबाट प्रहरीसमेत आइपुग्यो हुइँकेर । भीडलाई हटाउन हम्मेहम्मे परेको थियो उनलाई । मलाई भने भित्रैभित्र लाज पो लाग्न थाल्यो । मेरो कारणले अरुलाई दुःख नहोस्, मनमनै गमें । मैथिली परम्परा अनुसार धोती, गम्छा अनि पागले स्वागत भयो मलाई । त्यो पहिरन पनि यो मौलिकता झल्कने स्वागत अनि आतिथ्यता मेरा लागि विशेष । मनैदेखि आभार टक्क्राएँ टोलीलाई । उदयपुरमा चिनाजानी भएका एक जना यादव दाई कहाँ गाँस र बाँसको प्रबन्ध भो । अनि उहाँसँगै पुगें उहाँकै घर । त्यस रात त्यतै बिताएँ ।
दशैंको नवौ दिन । अर्थात् नवमी । सप्तरीमा मन्दिरै मन्दिर । भगवती मन्दिर अनि कनकलीनी मन्दिर त्यहाँका प्रसिद्ध मन्दिरहरु रहेछन् । साइकलमै पुगें त्यहाँ । तीर्थालुहरुको उस्तै आचक्ली भीड । भारतको सिमाना नजिकै रहेछ, छिन्नामस्ता । राजविराजबाट करिब तेह्र कि.मी. दक्षिण । भारतीय नम्बर प्लेटका गाडीहरु बाक्लै गुडिरहेका देखिन्थे बाटामा ।
लाखौं लाख तीर्थालुहरु दशैंमा यहाँ आउँछन् भन्ने यर्थाथता भीडले प्रष्ट देखाउँथ्यो । मन्दिरका मुख्य पुजारी साह्रै व्यस्त देखिन्थे । भेट्ने अवसर मात्र जुरेन, मन्दिर वरपर उहाँसँगै घुमेर इतिहास बुझ्ने मौकासमेत मिलेको थियो । त्यहीं दिन कोशी कटेर कोशी टप्पु वन्यजन्तु आरक्षमा पुग्ने मेरो योजना थियो । केही समय घुमेर म पूर्व लागें ।
बडेमानको कोशी ब्यारेज । यसलाई छिचोल्न पनि केही मिनेट लाग्दो’रैछ साइकलमा । वर्षात्मा केही ढोकाहरु मात्र खोले भने पनि बिहार पुरै डुबानमा पर्छ अरे । कति लाखौं लिटर पानी बग्दा हुन् प्रत्येक सेकेन्ड, मनमनै प्रश्न गरें ।
ब्यारेज कटेसँगै कोशी किनार । त्यही सुर्यास्तसँगै तारेका माछाको परिकारमा रम्दै थिए पर्यटकहरु । झमक्कै रात परेको थियो कोशी टप्पु आरक्षको मुख्य कार्यालय पुग्दा । एक दिनको पाहुना बनें म । सबै कर्मचारीहरु दशैं बिदामा थिए, मात्र थिए रेन्जर सुमन जी अनि सहयोगी भाई रविन्द्र ।
बिहानै रविन्द्र भाई मलाई कोशी टप्पु घुमाउन राजी भएँ । बस्तीमा पसेको जंगली हात्ती रातभर धपाएर बिहान चार बजे मात्र सुतेका रहेछन् उनी । अनिदो देखिन्थे उनी । हात्तीकै कुरा के गर्दै थियौं, बाटैमा त्यही जंगली हात्ती टक्क देखियो । मात्र केही सय मिटरको दुरीमा । डरले छात्ती फुल्लेर आयो । यसले त केही समय अघि मात्र मान्छेसमेत मारेको रहेछ । साइकल रफ्तारमा कुद्यो, त्यो भन्दा छिटो मन ।
अर्नाहरुको स्रामाज्य रहेको ठाउँ, कोशी टप्पु । कोशी किनारमा मस्त चरनमा रहेको एक हुल अर्नाहरु मात्र नियालेनौं, सँगै मिठो धुनका थरीथरीका चराहरुको चिरबिरले बिहानी थप रोमाञ्चित अनि प्रेमिल बनेको थियो । सुनसान अनि शान्त वातावरण । त्यसैमा हराएँ म । कति बेला पुर्वी गेटबाट बाहिरिएछ पत्तै भएन ।
कोशी टप्पुलाई बाई बाई गर्दै लागें म धरान । ‘धरानको बजारमा, माया बस्यो एकै नजरमा’, जति जति धरान नजिकिँदै गयो, त्यति सिन्धु मल्लको त्यो गीतको गुनगुहाट बढ्दै गयो । बजारको चोकैमा रहेछ, घण्टाघर । घडीले साँझको छ बजाउँदै गर्दा म धरानमा पाइला टेकेको थिएँ । लाहुरेको शहर भन्छन्, धरान । सानो तर चिटिक्क परेको शहर ।
बिहानै डाँडा उक्ले, दर्शन गर्न बुढासुब्बा मन्दिर । मागेको पु¥याइदिन्छन् रे यहाँ । जता हे¥यो, त्यतै देखिन्छन् बाँधेका मालाहरु । मैले चाँहि केही मागिन् । प्रेमको प्रतीक मान्ने रहेछन् यसलाई । त्यहाँबाट देखिने धरान बजार उस्तै लोभलाग्दो । मनै हर्ने । नजिकै रहेका दन्तकाली अनि शिव मन्दिरको आ–आफ्नै विशेष महत्व रहेछन् । अनि फरक इतिहास अनि गहिरो जन–आस्था । यता विपी कोइराला स्वास्थ्य प्रतिष्ठान उस्तै भव्य अनि सुविधा सम्पन्न रहेछ । परिसरमा एक फन्को घुमें ।
साइकले विजय दाई कहाँ दशैंको पहिलो टिका थापें । नेवारी परिकारहरु जति स्वादिला र रसिला, उस्तै उहाँको आतिथ्यता अनि स्वागत । साइकलले जोडेका नाताहरु बडो गज्जबका । उस्तै निकट अनि प्रिय । करिब चार÷पाँच वर्षको अन्तरालमा साइकलमा रम्दै गर्दा सँगै धेरै मान्छेहरु कमाएको थिएँ । हरेक ठाउँ पुग्दा आफ्नै अनुभूति लाग्दो रैछ ।
इटहरी चोक छेवैको चिया पसल । त्यहीं भेट भो, पत्रकार विराट अनुपम, कवि बद्री भिखारी, देवन किराँती अनि प्रमोद दाजुसँग । चियासँगै तातो गफगाफ भयो । यो आफैंमा सौभाग्य भेट थियो मेरा लागि ।
त्यहीं दिन, करिब आठ बजे धुलाबारी, झापा पुगें । मित्र जयराम जी, एमनेष्टी इन्टरनेशनल, दाह्री ग्याङ अनि विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा स्वागत कार्यक्रम तय भयो । दिउँसैदेखि कुराउँदा मन भने खल्लो बनेको थियो । बिर्साइदिएको थियो भव्य स्वागतले, थकान अनि भोक । ऋणी बनें सबैप्रति ।
ट्रेकिङ गाइड प्रशिक्षण गर्दा ताका भेट भएको थियो जयराम जी सँग । साह्रै मिहिनेती अनि सहयोगी उनी । दशैंको खुसी बटुल्ने मौका मिल्यो उनकै घरमा । असी कटेका हजुरआमा अनि हजुरबाबाट टीका थाप्ने सौभाग्य मिल्यो । हजुरआमा बितेको एक वर्ष बढी भइसक्यो, तर सम्झना भने अझै ताजै छ मनमा । मरेका छैनन् ती मिठा सम्झनाहरु । रहिरहनेछन् ह्रदयको अन्तरकुनामा सधैं ।
भmापाकै टोकला चिया बगान, काँकडभिट्टा बोर्डर, नेपालकै होचो स्थान केचना कबल, किचक बधजस्ता महत्वपूर्ण गन्तव्यहरु साइकलमै पुगें । मिठा मिठा सम्झनाहरुलाई पोको पार्दै म लागें इलामहुँदै माथि माथि ।
यात्राको आठौं दिन । यात्रा चाँहि झापा टु इलाम । अबेर साँझ मात्र कन्याम पुगें । दशैंको माहोल, होटल सबै प्याक । परेन त फसाद । तीन कि.मी. पर फिक्कल पुग्ने जाँगर थिएन मनमा । एक त थाकेको ज्यान, अर्को बिहानै कन्यान चिया बगानको मगमग सुन्दरतामा हराउँनु थियो ।
यस्तैमा भेट भो अशोक जी । गफगाफ भो । अनि उनलाई आफ्नो समस्या सुनाएँ । अनि बाँस मिल्यो नजिकै रहेको उनको अंकलको घरमा । अंकल, आन्टी अनि बैनीहरु उस्तै आत्मीय अनि हँसिला । बिहानै अशोक जी’ले आफ्नै घोडामा कन्यान मात्र घुमाएनन्, बैनीले कन्यामका चिया समेत कोसेली पोकी पार्दिइन् । सँगै पोको पारेको आभास भयो, उहाँहरुको माया अनि आतिथ्यता । अनि म लागें इलाम बजारतिर ।
पूर्वलाई एक फन्को मारें बीसौं दिनमा । प्रदेश एकको सोलुखुम्बुबाहेक बाँकी तेह्र जिल्ला साइकलमै पुगें । घुमें । धेरै सिकें अनि बुझें । अनि तराई झरें पश्चात् लागें पश्चिमै पश्चिम, महेन्द्रनगरसम्म । उदयपुरबाट उदय भएको यस यात्रा चवालिसौं दिनमा कञ्चनपुरमा बिट मारें ।
दशैं, तिहार अनि छठ, नेपालमा मनाइने विशेष पर्वहरु । तराईदेखि हिमालसम्म अनि पूर्वदेखि पश्चिम नेपाल घुम्दै यी पर्वहरु मनाएँ । फरक फरक ठाउँ अनि भिन्न परिवारसँग । जातीय एकता अनि धार्मिक सहिष्णुता यथार्थमै अनुभूति भयो । वास्तवमै नेपाल बुझ्ने आँखीझ्याल बन्यो यो यात्रा । उस्तै फरक अनि स्मरणीय रहे बटुलेका सम्झनाहरुका पलहरु ।
जय साइकल । जय पर्यटन ।





