सुन्दर शहर दुबई, ठुला अनि गगनचुम्बी भवन, विश्वको व्यापारिक, आर्थिक केन्द्र र एक पटक घुम्नै पर्ने स्थान पनि । सुन्दा जति भव्य लाग्छ । पुगेर हेर्दा झनै मनमोहक छ । निकै कडा मुस्लिम सभ्यता, संस्कार अनुसार चलेको वा त्यसकै नियममा बाँधिएको हुन्छ । मुस्लिम सँस्कार विश्वकै सबैभन्दा कट्टर र अरु धर्मभन्दा निकै भिन्न र अत्यन्तै कडा नियम रहेकोे देखिन्छ । नेपालीको लागि वैदेशिक रोजगारीको उचित गन्तव्य नै भन्नुपर्छ । नेपालीहरु कहिलेदेखि दुबईमा आय भन्ने तथ्यगत सरकारी डाटा नभएपनि ६७ सालदेखि सरकारी तवरबाट आएको देखिन्छ । यो क्रम माओवादी द्वन्द्वमा उकालो लाग्यो भने ६३ सालको परिवर्तनपछि अत्यधिक रुपले बढेको छ । बाध्यता भनौ वा आफ्नो रहर, यहिं सपनाको शहरमा वैदेशिक रोजगारीको सिलसिलामा आउन पुगिएछ । घर छाडेर कहिल्यै बाहिर रात कटाउन नसक्ने मैले वैदेशिक रोजगारीको भुत सवार भयपछि मात्र न हो काठमाडौ देखेको । आफ्नै देशको राजधानी स्वर्गपुरी लाग्ने मलाई दुबई देख्दा त साँच्चिकै इन्द्रापुरि लाग्यो ।
स्थानीय मानिसको लागि निकै उदार र कर्तव्यबोध गर्ने सरकार जुनसुकै कुरामा पनि विश्वकै पहिलो र एकमात्र हुने सपना, सोच राख्दो रहेछ । साथमा विकासको मामिलामा ५ दशकको भविष्य सोचेर दृढ कदम चाल्न सक्ने नेतृत्वले देश हाँकेको आभास हुन्छ । १०÷१२ लेनको केन्द्रिय चिल्ला राजमार्ग, हरियाली बगानसहित एकीकृत बस्ती, ठुल्ठुलो व्यापारिक महल, गगनचुम्बी भवनमा होटेल, मानव बस्तीको आधुनिक अपार्टमेण्ट, रेसिडेन्सी सिस्टम । बस्तीभन्दा बाहिर व्यवस्थित एकीकृत औद्योगिक पार्क । अत्याधुनिक प्रविधिसहितको संरचना, आधुनिक शहरीकरण साथमा पुराना संस्कृति झल्काउने शहर वर दुबई र देरा दुबई त्यसमाथि राजाले चलाएको शासन देखेर, जो कोही नेपालीलाई आफ्नो मातृभुमी र दुबईबीच तुलना गर्दै रातदिन घोत्लिन बाध्य बनाउने रहेछ । साँच्चिकै देश विकास गर्नलाई मानिसको इच्छाशक्ति, दुरदर्शिता, दृढ संकल्प अनि कुशल शासक र असल नेतृत्वको आवस्यकता पर्ने रहेछ । न कि हाम्रो देशमा जस्तो आन्दोलन र बन्द हडताल गरेर सरकारी संरचना ध्वस्त पारेर लादिएको फलानो वाद र कुनै ढिस्कानातन्त्रको आवश्यकता नै पर्ने रहेछ ।
अचेलको २१ औँ शताब्दीमा पनि आधुनिकतामा रम्न नचाहने सायदै कोही होला । त्यसैलाई मध्यनजर गरेर नै कट्टर मुस्लिम देश र इस्लामिक कानुन भएको देशमा पनि नवउदारवादी र पश्चिमेली आधुनिकवादलाई सहज रूपमा स्विकार्दै बर्षेनि लगभग नेपालको जनसंख्याभन्दा दोब्बर पर्यटक भित्राउन सफल भएको छ । झण्डै–झण्डै युरोपेली मुलुकजस्तै लाग्ने दुबईमा शुर, सुरा र सुन्दरी भनेको सामान्य जस्तै लाग्छ । निश्चित स्थान, निश्चित समयअवधि तोकेर व्यापार व्यावसाय हुन्छ । सुन्दरीको खोजीमा रमाउनेको लागि छुट्टै रेडलाइट एरिया छुट्याइएको छ । कानुनले बर्जित गरेको कुनै पनि मामिलामा सख्त कारबाही गर्ने प्रावधान पनि छ । जबकी निश्चित स्थानभन्दा बाहिर चुरोट पिउने, फोहोर फाल्ने, बाटो काट्ने गरेकोमा समेत चर्को जरिवाना तिर्नुपर्छ । सुरक्षाको निम्ति जुनसुकै स्थान, सडक, गल्ली, चोक र सार्वजनिक सवारी साधनमा सिसि क्यामेरा राखिएको देख्न सकिन्छ भने शून्य क्राइम अनुरुप नागरिको जिउधन र व्यावसायिक लगानीको ग्यारेन्टीमा कुनै कसुर बाँकी राखेको देखिदैन । तथापि पनि त्यस्ता अपराध क्राइम नभएको भने होइन । कडा सुरक्षा संरचना साथै आधुनिक नेटवर्कको माध्यमबाट २४ घण्टाभित्र कानुनी दायरामा ल्याउन सफल भैराखेको हुन्छ ।
वैदेशिक रोजगारीमा आएको व्यक्ति खासगरि नेपालीहरु शुक्रबारको दिनमा भेला भएर दुःखसुख साटासाट गर्दै भलाकुसारी गर्ने ठाउँ बरदुबइ रहेछ । मलाई पनि आफन्तसंग भेटघाट हुने नयाँ चिरअपरिचित इस्टमित्रलाई भेट्न बरदुबइ जाने रहर जाग्यो । सोच्थे नेपाली दाजुभाई, दिदीबहिनी विकसित ठाँउ नयाँ पुरानो दुबै सभ्यता भएको कडा कानुन र कट्टर धर्म संस्कृति मान्ने देशमा आएपछि पक्कै पनि त्यही अनुरुप चल्छन् होला, यहाँको विकास देखेर देशभक्त बन्दै जन्मभूमिप्रति सामाजिक उत्तरदायी बनेर देश विकासको कुरा गर्छन् होला, आपतविपतमा परेकालाई मानवीय व्यवहार गर्छन् होला यस्तै यस्तै सोच बोकेर वर दुबई (नेपाली पार्कले परिचीत ठाउँ)मा पुगेको थिए । ओहो ! यहाँ त आफ्नै देशमा हुने मेला, जात्राजस्तो नेपालीको भिडभाड ! झुण्ड झुण्ड परेर बसेका अनेकौं स्वार्थगत संघ संगठनले नेपालीको संस्कार झल्काउने रहेछ । अझ लभ डाँडातिर तरुना–तन्नेरी भेला भएर अश्लिलता पोख्ने हर्कत देख्दा पो जो–कोही अचम्मित हुन्छ ।
रक्सिले मातेर अर्धचेत अवस्थामा सुरवालमै पिसाब गरेको दृश्यले जो कोही नयाँ मान्छे सोच्न बाध्य हुन्छ । अनि चिच्यायर आफैलाइ सोध्न मन लाग्छ । अरे भाइ के पारा हो यो परदेशमा ? कस्तो संस्कार हो यो बिरानो ठाउँमा नेपालीको ? ए ! भेटघाट गर्ने ठाउँ हो कि रक्सीको मातमा जात्रा देखाउने ठाउँ ? वा यौवनता पोख्ने कुनै स्थान ? अब आम नवआगन्तुक नतमस्तक हुनु शिवाय केही रहेन । यिनै मान्छेको भिडबाट कोही कराउँदै थियो । ए सर नेपाली तात्तातो मःम खाने ? बंगुरको मासुसँग बियर पिउने ? कि रक्सी पिउने ? लु भन्नुस् है तपाइकै साथी हाजिर छ । बियर र मःम पिलेट प्रत्येक एकको मात्र दस दिराम । हुलभित्र भौतारिदै सबैलाई आफ्नो बस्तु किन्न निम्ता दिदै हिँड्ने यस्ता मान्छे र तिनका आवाज झट्ट सुन्दा नेपालभित्रै छु कि भन्ने भान भएपनि गहिरिएर सोच्दा जो कोही आम मान्छेको मनमा निराशा छाउँछ । यहाँ उपस्थित जनाउने नेपालीहरुलाई न कुनै कानुनको डर छ न कुनै संकोच नै रहेछ । मैले सोचेको मित्रता सचेत नेपालीपन र भोगेको यथार्थमा आकाश जमिनको फरक रहेछ । यस्तो स्थिती देखेर मलाई निराशाबाहेक केही मिलेन ।
खास गरिकन लेवर क्याम्प (सोनापुर, अलकुज, जावेल अलि, पार्को साइड साथै डिआइपी)तिर कतिपय नेपालीहरुले कम्पनीबाट पाउने सेवासुबिधा र भनेजस्तो काम नपाएर दुःख पाएको खबर यदाकदा नआएको हैन । तर पनि साँझको समयमा मादक पदार्थ सेवनपछि ठुलो ठुलो लरि र ट्रकको बिचमा जोडी बाँधिएर गर्ने यौनलीला देख्दा आफ्नै आँखा छोपेर हिड्न बाध्य बनाउँछ । पाकिस्तानी, बंगाली, इन्डियन, श्रीलंकन र फिलिपिनोसंग प्रेम सम्बन्ध गाँस्ने र लिभिङ टुगेदरमा बस्ने नेपाली युवायुवती प्रसस्तै भेटिन्छ । साथै केही अर्धभुमिगत रूपमा स्वैच्छिक यौन व्यावसायमा लागेको पनि देखियो । विदेशीसंगको सामिप्यतापछि नेपाली युवायुवतीले धर्म परिवर्तन गर्ने क्रम बड्दो छ । यद्यपी प्रेम सम्बन्ध र लिभिङ टुगेदरकै शिलशिलामा नेपाली चेलीबेटीको हत्याहिंसा भएको घटना नसुनिएको पनि होइन । तथापि पनि अनैतिक क्रियाकलाप भने रोकिएको छैन । राजदुतावासको गैरजिम्मेवारीपन र राजदुतले आफ्नै नागरिकप्रति देखाउने विभेद देख्दा राजदुतावास हुनु र नहुनुको कुनै अर्थ राख्दैन । त्यस्तै गरेर गैरनेपाली संस्था एनआरएनको भूमिकाको कुरा गर्दा नेपाली नागरिकको उद्वारको क्रममा उदासिन मात्रामा देखा पर्छ । खासगरी भन्नुपर्दा एनआरएक संघ कुनै राजनीतिक पार्टीको झुण्डभन्दा भिन्न लाग्दैन । नेपालदेखि भिजिट भिसामा बोलाएर अलपत्र पार्ने, चेलीबेटीलाई इन्डिया, श्रीलंकाको बाटोहुँदै अनेकौं देशमा पु¥यायर ठग्ने, यौनधन्दा डिस्कोतिर लगाउने, युवा युवतीलाई काम दिलाएबापतको कमिसन माग्ने र अझै भन्नुपर्दा हुण्डी कारोबार गर्नेहरु अधिकान्स एनआरएनकै भुमिकामा रहेकोे व्यक्ति प्रायः नै देखिन्छ ।
सायद अचेल यस्तै अनैतिक क्रियाकलाप बढ्दै गएर नै होला नेपालीहरु विदेशीसामु बदनाम हुँदै गएका छन् । सुधारको बाटो अपनाउने कुनै छाँटकाँट देखिदैन । यस्तै क्रियाकलाप रहिरहे कुनै दिन मेहनती नेपाली भनेर चिनिने नेपालीलाई पनि बंगाली नागरिकलाई जस्तै युएईमा भिसा बन्देज लगाउँछ कि भनेर सोच्न बाध्य तुल्याउँछ । सरकार युवालाई वैदेशिक रोजगारमा धकेलेर रेमिट्यान्सले देशको अर्थतन्त्र चलाउने ध्याउन्नमा मात्र छ । तर वैदेशिक रोजगारीमा गएको नागरिकको अवस्था र नागरिकप्रति गरिने सरकारको गैरजिम्मेवारीपन साथै वैदेशिक रोजगारीभित्रका अस्तव्यस्त स्थिति देख्दा लाग्छ । प्रधानमन्त्री ज्युले भने जस्तै सुखी नेपाली समृद्ध नेपाल अथवा प्रचण्ड, बाबुराम ज्युको कथन सिंगापुर, स्वीजरल्याण्डजस्तै विकास होइन । बरु युवा युवतीको निर्यात गर्दै आफुले देशको अर्थतन्त्रले धान्नै नसक्ने राज्य व्यवस्था (गणतन्त्र र संघीयता) विदेशी दातृ निकायसंग ऋण मागेर चलाउँदा वैदेशिक ऋणले थला पर्ने निश्चित प्रायः नै छ । नागरिक विश्वकै गरिब र दुखी नेपाली हुनेमा शंका गर्नु पर्दैन । यदि देशलाई सत्मार्गमा डो¥याउने र विकासमा कायापलट ल्याउने हो भने बैरीलाई किल्ला कटाएजस्तै निजी स्कुल र कलेजमार्फत आफ्नै देशभित्र बैरी उत्पादन गर्ने आधुनिक शिक्षा नामको युरोपेली सहयोगमा लादिएको अंग्रेजीका कथा साहित्यलाई डाँडा कटाउनु पर्छ । सरकारले आफ्नै देशको भाषा सँस्कृती माटो सुहाउँदो कृषि विज्ञान, वनस्पति जगतभित्रका आयुर्वेद विज्ञानको महत्वलाई ध्यानमा राख्दै देशको इतिहास, धर्म सँस्कृती भूगोल र नैतिक शिक्षा पठनपाठनमा उतार्न आवस्यक हुन्छ । त्यस्तै उचित सिपमुलक तालिम दिँदै युवाहरूलाई स्वरोजगारमा उतार्न प्रयत्नशील हुनुपर्छ ।
आजैदेखि अत्यावश्यकबाहेकका बिलासी आयातित वस्तुलाई देशमा बन्देज लगाउने र युवालाई प्रोत्साहन दिँदै प्रत्येक बस्ती बस्तीमा सामाजिक, आर्थिक विकासका पन्चवर्षिय कार्ययोजना सार्वजनिक गर्नुपर्छ । औद्योगिक पार्क, कलकारखाना, जलविद्युत, जल बिहार, आन्तरिक र बाह्रय पर्यटकको विकास साथै विद्युतिय सामग्रीको उत्पादनमा सरकार र नागरिकको प्रत्यक्ष लगानीमा जोड दिनुपर्छ । लगानी स्वामित्वको जिम्मेवारी सरकारले बहन गर्नुपर्छ । भ्रष्टाचार निर्मुल पार्न सरकारी संयन्त्र चुस्त दुरुस्त राख्न । उच्च स्तरिय नागरिक आयोग गठन गर्दै देशमा अस्थिरता पैदा गर्दै नेपाली नेपालीबीचको भाइचारा सम्बन्ध बिगार्ने सम्पुर्ण एनजिओ र आइएनजिओ देशभित्र बन्देज लगाउनुको कुनै विकल्प छैन । अब जन कल्याणकारी अवधारणा ल्याउन अत्यावश्यक भैसकेको छ । आधुनिक शिक्षाको नाममा युरोपेली, अमेरिकी कथा र तिनका सँस्कृती घोकाएर आफ्नै देश र आफ्नै सँस्कारलाई खराव देख्ने जमात र बैरी उत्पादन गर्ने अश्लिल र अर्थहिन पश्चिमेली शैक्षिक नीतिको विकल्प खोज्न अत्यावश्यक भैसकेको छ ।





