बागलुङ, २१ कात्तिक– बन्दाबन्दीमा धेरै निर्माणाधिन भौतिक संरचना अलपत्र भए । तर बागलुङ नगरपालिका वडा नं. १ बाङ्गेचौरमा निर्माणाधिन कवर्डहल निर्माणले भने गति लियो । निर्माणमा अगुवाइ गर्ने केही युवाको सक्रियताले वर्षौदेखि अलपत्र तेक्वान्दोको कवर्डहल निर्माणको अन्तिम चरणमा पुगेको छ । १७ वर्षदेखि अलपत्र यो भवनले बन्दाबन्दीमै गति पाएको तेक्वान्दो संघका सचिव परशुराम बोहोराले बताए ।
तेक्वान्दो संघको अगुवाईमा निर्माण भएपनि यो ‘इनडोर खेल’का लागि उपयोगी छ । संघले पनि मार्सल आर्टका सबै खेल यो कबर्डहलमा खेलाउन सकिने बताएको छ । ‘हामीले विदेशमा बसेका खेलप्रेमीको रकम संकलन गरेर अलपत्रबाट आशालाग्दो बनायौं’ बोहोराले भने, ‘अझै यसको फिनिसिङका लागि धेरै खर्चनुपर्नेछ ।’ २० लाख लगानी भएमा यो भवनको सबै डेकोरेसन निर्माण भैसक्ने उनले बताए ।
राष्ट्रिय खेलकुद परिषद राखेपले पनि आगामी नवौं राष्ट्रिय खेलमा बागलुङमा छनौट तथा राष्ट्रिय खेल संचालन गर्ने लक्ष राखेको छ । राखेपले पनि बागलुङमा खेल खेलाउने आश्वासन दिएपछि संघले छिटो हल निर्माण गरिसक्न चासो देखाएको हो । नवौं खेल कहिले हुने भन्ने मिति भने तोकिएको छैन । बन्दाबन्दी र कोरोना प्रभाव नभएको भए नबौ खेलको रौनक सुरु हुन्थ्यो । उक्त लक्षका लागि खेलकुद मन्त्रालयले पनि लगानी गर्ने बचन दिइसकेकोेले छिट्टै कवर्डहलले पूर्णता पाउने संघका अध्यक्ष दिपेन्द्र बाँस्कोटा बताउँछन् । यो कवर्डहल निर्माण भएमा कम्तिमा तेक्वान्दोसहित कराँते, उसुजस्ता मार्सल आर्टको सबै खेल प्रतियोगिता गर्न सकिन्छ ।
७६ लाख रुपैयाँ लागत स्टिमेट गरिएको योजनामा टुक्रे बजेटले सम्पन्न हुन सकेको थिएन । ‘हरेक वर्ष दुइचार लाख बजेट आएकोले काम अलपत्रै थियो, विदेशमा बस्ने साथीहरुले रकम संकलन गरेर पठाएपछि काम गर्न सकिएको हो’ उनले भने, ‘मन्त्रालयको बजेट प्राप्त भयो भने एकडेढ महिनामै काम सक्छौं ।’ कवर्डहल निर्माण थाल्नुअघि रामरेखा सामुदायिक वनले तत्कालिन जिल्ला खेलकुद विकास समितिलाई भोगाधिकार दिएको जग्गामा यो हल निर्माणाधिन छ ।
समितिले पाएको ३० रोपनीको बाङ्गेचौर खेल मैदानको दक्षिणमा यो कबर्डहल निर्माणाधिन छ । राष्ट्रिय प्रतियोगिताका केही खेल यहाँ संचालन भएमा खेल पर्यटनको क्षेत्रमा पनि जिल्लाले फड्को मार्न सक्ने समितिका पूर्व अध्यक्ष धनबहादुर परियारले बताए । बागलुङमा पनि केही संरचना छन्, खेलाउन सकिन्छ भन्ने सन्देश दिन सकेमा पर्यटक पनि बढ्ने परियारको मत छ ।
बन्दाबन्दीमा संघका पदाधिकारी नियमित खटिएर भवन बनेको हो । प्यारापिट निर्माण भैरहेको छ । ड्रेसिङ रुम र शौचालय तथा रंगरोगनका लागि थप २० लाख खर्च लाग्ने अनुमान अनुसार मन्त्रालय र राखेपमा जानकारी गराइसकिएको बोहोराले बताए । ‘राखेपका पदाधिकारीले रकम विनियोजन गरेर काम सक्ने आश्वासन दिएकोले आशावादी बनेका छौं’ बोहोराले भने, ‘जिल्लाका संस्था र नगरपालिकामा पनि लगानीमा साथ दिन आग्रह भएको छ ।’
सबैबाट सकारात्मक सन्देश आएकोले काम सकिने उनले विश्वास व्यक्त गरे । यो हलमा ५ सय जनासम्म अट्ने फोल्डिङ प्यारापिट बन्दैछ । बोहोराका अनुसार, बागलुङमा तेक्वान्दो, कराँतेलगायत मार्सलआर्टका १ सय ६७ वटा डोजाङ छन् । ती डोजाङमा सयौं खेलाडी छन् ।





