बेनी, २२ कात्तिक– एक्सन फर सोसल चेन्ज (बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र)ले म्याग्दीमा शाखा विस्तार गर्ने भएको छ ।
काठमाण्डौको पशुपती आर्यघाटमा बेवारिसे शवलाई आफन्त बनेर दागबत्ती र सडकमा भेटिने भोकालाई भोजनलगायत सामाजिक अभियानको नेतृत्व गदैं आएको संस्थाका अध्यक्ष विनयजंग बस्नेत, संयोजक सपना रोका मगरले म्याग्दीमा शाखा विस्तार गरी सामाजिक कार्यलाई तिब्रता दिने जनाएको छ ।
७७ वटै जिल्लामा शाखा खोल्ने अभियानअन्तर्गत सामाजिक अभियान्ता हेमराज थापासहित आएको टोलीले क्रियटिभ मञ्च म्याग्दीमा आवद्ध किशोर किशोरीसँग अन्तरक्रियासमेत गरेको थियो ।
कोरोना भाइरस रोकथाम अभियानअन्र्तगत मञ्चबाट खटिएको टोलीको कामबाट उत्साहित भएको बताए । बेनीमा शाखा स्थापना गरी संरचना बनाएर विभिन्न कार्यक्रम गर्ने संस्थाका अध्यक्ष बस्नेतले बताए । ‘म्याग्दी सहयोगी मनका धनी भएको जिल्ला हो, हाम्रो धेरै अभियानमा म्याग्देलीले साथ दिनुभएको छ’ बस्तनेले भने ।
उनले बेवारिसे शव ब्यवस्थापन, लागुपदार्थ दुर्यव्यसनीविरुद्ध विद्यालयमा कार्यक्रम, प्रहरी प्रशासन, नागरिक समाज, सामाजिक अभियन्ता, स्थानीय निकाय, प्रशासन, बुद्विजिवी विद्यार्थी, युवा, महिलालाई सहयोग पुग्ने विभिन्न कार्यहरु संस्थामार्फत गरिने बताए ।
मञ्चका अध्यक्ष विवेक चन्दले कोरोना रोकथाममा प्रशासनलाई सघाउनुका साथै बाल विवाह रोक्ने, क्षमता विकास, शिक्षा स्वास्थ्यका साथै छुवाछुतका विषयमा विद्यालयस्तरबाटै अभियान सुरु गर्ने उद्देश्यले स्थापना भएको संस्थालाई निरन्तर साथ र सहयोग आवश्यक रहेको बताए ।
सोही अवसरमा मञ्चका गतिविधिलाई सघाउन ५ हजार नगद सहयोग गरिएको थियो । बेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्रकी संयोजक सपना रोका मगर म्याग्दी मंगला गाउँपालिका–४ बंरजाकी हुन् ।





