बेनी, २२ कात्तिक– समुदायस्तरमै कोराना संक्रमण फैलिएपछि बेनी नगरपालिकाले कोरोनाको अवस्था बुझन् ‘कम्युनिटी टेष्ट स्किृनिङ’सहित आइतबारदेखि घरदैलो सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै आगामी कात्तिक २८ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरेको नगरपालिकाले संक्रमणको उच्च जोखिममा रहेका वडा नं ७ र ८ का प्रत्येक घरमा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधिको टोलीले पुग्ने नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले बताए ।
‘समुदायमा जोखिम कायमै छ, संक्रमणको लक्षण भएकाको स्वाबसमेत संकलन गरिने छ’ बराईलीले भने । उनका अनुसार, सबैभन्दा जोखिम बजारक्षेत्रमै भएकाले बजारको अवस्था हेरेर थप योजनासहित ग्रामिण क्षेत्रमा प्रवेश गरिनेछ ।
जिल्ला बाहिर गएको ट्राभल हिष्ट्रीसमेत नभएकामा धमाधम कोरोना पुष्टी हुन थालेपछि संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङका बाहेकको पहुँचमा स्वास्थ्यकर्मीको टोली पुग्ने नगरपालिकाले जनाएको छ ।
गत कात्तिक १४ गते यता एकसाताको अवधिमा जम्मा १ सय ८ जनाको पिसिआर परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टी भएको र २६ जनाको रिपोर्ट आउन बाँकी रहेको अवस्थामा पिसिआर परीक्षणको दायरा बढाउन समेत नगरपालिकाले आवश्यक तयारी गरेको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । उनले कोरोनाको लक्षणसँग मिल्ने समस्या भएमा टोलीसँग सम्पर्क गर्न समेत अनुरोध गरे ।
संक्रमित भेटिएका आसपासका क्षेत्रका साथै कोरोनाको लक्षण भएकाको खोजी गर्नेगरी ‘कम्युनिटी टेष्ट स्किृनिङ’ को योजना बनाउन नसक्दा थप जोखिम बढेको थियो । संक्रमित र उनीहरुको सम्पर्कमा आएका व्यक्तिबाहेक समुदायमा कोरोना छ कि छैन भनेर जानकारी लिन सजिलो होस भनेर समुदायस्तरमा परीक्षण गरिन्छ ।





