पोखरा, २२ कात्तिक– पोखरा महानगरपालिका वडा नं ३३ स्थित खुर्वादी हुँडिकोट लिफ्टिङ खानेपानी सरसफाई तथा सिंचाई उपभोक्ता समितिको सातौं अधिवेशन तथा आठौं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले कृष्ण पौडेल(दामोदर) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा डोलराज पौडेल, सचिवमा सीता महत, कोषाध्यक्षमा विकास महत र सदस्यहरूमा रविन पौडेल, रामचन्द्र पौडेल, मनबहादुर भुजेल, डम्बरबहादुर विश्वकर्मा र फुलमाया परियार रहेका छन् ।
कार्यसमिति चयनका लागि वासुदेव पौडेलको संयोजकत्वमा लोकबहादुर महत र कमलप्रसाद पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि साधारणसभामा समितिका अध्यक्ष चेतबहादुर महतले खानेपानीको चरम समस्या भोगिरहेको अवस्थामा सबैको साथ र सहयोगमा लिफ्टिङ प्रविधिका माध्यमबाट खानेपानी सुविधा सञ्चालनमा ल्याइएको स्मरण गर्दै यसको दीर्घकालीन व्यवस्थापनमा सबैको साथ र सहयोग आवश्यक हुने बताए । २०६५ देखि सञ्चालनमा आएको खानेपानी योजनाबाट यहाँका १२७ घर परिवार प्रत्यक्ष लाभान्वित बनेका छन् ।
समितिका सचिव सदनकुमार महतले खानेपानी योजनालाई प्रभावकारी व्यवस्थापनका लागि गरिएका प्रयासबारे जानकारी गराउँदै सबैको एकतावद्ध प्रयासबाट मात्रै हरेक सामाजिक कामले सफलता हासिल गर्ने बताए । कार्यक्रममा स्थानीय युवा रविन पौडेल, डम्बरबहादुर विश्वकर्मा, कमलप्रसाद पौडेल लगायतले खानेपानीको समुचित व्यवस्थापन लगायतका विषयमा आ आफ्ना सुझाव दिए ।




