सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

अनुभूति : रेडियोमा बोल्ने भूत चढ्दा

अनुभूति : रेडियोमा बोल्ने भूत चढ्दा


  • कृष्ण जिसी
  • कार्तिक २८ २०७७, शुक्रबार

मेरा स्वर्गीय हजुरवाको एउटा सपना थियो कि नातिले सरकारी जागिर खाओस् । उसलाई पनि पछिसम्म ढुक्क हुने अनि । सधैभरि दुखैदःुखमा जीवन बिताएका मेरा हजुरबुवा र निरक्षर मेरा बाबाआमालाई पनि नियमित आम्दानी भएपछी पैसोको मुख देख्न पाइने । म मुन्तिरका भाइहरु पनि दाइले कमाउन थालेपछि उच्च अध्ययनका लागि श्रोत जुट्ने । हजुरबुवाको त्यो चाहना लगभग पूरा हुनै थालेको थियो,जब मैले २०५० सालदेखि ५ वर्षसम्म खाएको निजि विद्यालयको जागिर छोडेर सरकारी विद्यालयमा निमावि तहको स्थायी दरबन्दीमा सरकारी शिक्षकको जागिर सुरुवात गरेको थिएँ । ठ्याक्कै ४ वर्षपछि २०५९ सालमा मावि दरबन्दी पाएपछि तलव पनि ह्वात्त्तै बढेको थियो । दुईवटा दशंैमा चौमासिक अनि दशैं भत्ता गर्दा टन्नै पैसा हुने बाबाआमाको हातमा पैसा हाल्दिँदा टप्प खस्ने हर्षका आँसु र हजुरबुवाको गद्गद् अनुहार त्यति बेला चौपट भयो जव २०६० सालमा बाग्लुङ्गको धौलागिरि एफएमले परीक्षण प्रसारण सुरु गर्नु अनि मैले जागिर छोडेर तालिम लिन जान्छु भन्ने उद्घघोष गरेँ ।
मेरो त्यो भनाइले हजुरबुवाको अनुहार एक्कासी मलिन भएको त्यो दिनले मलाई अझै पनि झस्काइरहन्छ । २०६० असोजमा दशैँ बिदापछि म सिधै बागलुङ हानिएँ । स्कुलबाट खबर आयो कि, हाजिर हुनुस् कि राजिनामा दिनुस् । मैले सिधै राजिनामापत्र पठाइदिएँ । किनकि तालिमबाट म कार्यक्रम प्रस्तोताको रुपमा छनोट भैसकेको थिएँ । मेरा हजुरबुवालाई त्यो थाहा थिएन । एक्कासी रेडियोबाट मेरो आवाज गुन्जन थालेपछि उहाँले नत हर्ष न त दुःख नै व्यक्त गर्नु भयो रे ! आमाले भन्नु भएको । तर, बाबाआमा भने खुसी हुनुहुन्थ्यो ।
बाबाआमा पनि त्यति बेलासम्म खुसी हुनुभयो, जब मैले पैसा दिन सकेँ । सरकारी तलव मासिक १२ हजार रुपियाँ थियो तर रेडियो भनेको निजि संस्था थियो । त्यही पनि भर्खरै भर्खरै स्थापना भएको । मेरो सम्झौता भएको थियो ४ हजार रुपियाँ मासिक तलवमा । त्यसैले खाना कोठा भाडा बुझाउनुपर्ने । एक महिनापछि जब तलव बुझिया,े त्यसपछि साह्रै नमज्जा लाग्यो । श्रीमति, छोरी अनि बाबुआमालगायतको परिवार अनि मेरो कमाइ ! आर्थिक रुपमा त गल्र्याम्मै पछारिएको थिएँ, त्यै पनि म खासै बेखुसी थिइन किनकि त्यो मेरो रोजाइको क्षेत्र थियो । मैले नै होश हवासमा गरेको निर्णय थियो । त्यसैले मलाई केही त हुन्छ भन्ने आशाचाहिँ थियो ।
रेडियोमा काम गर्न थालेपछि यति व्यस्त भइयो कि घरमा पनि खासै समय दिन सकिएन । साथीभाईहरुसँग केही टाढा हुन पुगियो । किनकि, यो क्षेत्रमा अत्यन्तै व्यस्त रहनुपर्ने, समयसंग चल्नुपर्ने । एकएक सेकेन्डको अत्यन्तै ख्याल गर्नुपर्ने अनि हेलचक्रयाँइ पनि गर्न भएको थिएन । शुन्यबाट शुरुवात भएको थियो मेरो करियर । स्क्रिप्ट लेखन,अभ्यास, रेकर्डिंङ अनि तयारी यसमा अत्यन्तै सजग र चुस्त एवं खरो उतार्नुपर्ने हुन्थ्यो, आफूलाई । मुस्किलले ३ महिनापछि समय निकालेर म घरमा पुगें । त्यतिबेला जिप चढेर बेनी लाग्दा म चढेको गाडीमा रेडियो धौलागिरी नै बजेको थियो । त्यो पनि आफ्नै रेकर्डेड कार्यक्रम अनि जिपका यात्रुको कुराकानी । मेरो छाती ढक्क फुल्यो । धौलागिरीको पहिलो रेडियो भएका कारणले सबैमा यसको चार्म निकै थियो । कुरा सुन्दा आफू निकै ठुलै सेलीब्रेटी भइएछ कि भन्ने लाग्यो । जीपमा यात्रा गर्दा आफ्नो बारेमा यसरी कुरा गरेको सुन्दा कसको मन खुशी नहोला र ?घरमा पुगेपछि सधैभरि चिनेकासँगै उठबस गरेका साथीहरु पनि बढो सम्मान गर्ने । छरछिमेकमा सबैले घेराहाल्दा बडो आनन्द लाग्यो । यो नाम, यो पैसासँग तुलना गर्न नसक्ने कुरा हो भन्ने लाग्थ्यो ।
यसरी नै रेडियो धौलागिरीका दिनहरु करिव ४ वर्षसम्म व्यतित भएका हुन् । अनुभवका फेहरिस्त यसरी केही पेजमा सकिने वाला छैनन् । उत्साह,खुशी,उमंग, कडा मेहेनेत, संघर्ष तनाव, खिचातानीकाबीच व्यतित भएका हुन् ,मेरा ४ बर्षे रेडियोका अनुभव र भोगाइ ।
संक्षेपिकरण गर्दा यसरी भन्न सकिन्छ कि, धौलागिरी अंचलमा स्थापना भएको पहिलो एफएम, यसले सूचना, संचार, गीत संगीत,साहित्यमा यस्तो बहार ल्याएको हो जुन धौलागिरीको इतिहाँसमा सुनौलो अक्षरले लेखिएका छन् । रेडियो सुनिने धौलागिरीका चारै जिल्ला यसका आसपासका जिल्लामा गठन भएका श्रोता क्लव, साहित्यिक समूह, ती साहित्यिक समूहले प्रकाशन गर्ने साहित्यिक पुस्तक, बुलेटिन र पत्रिका जसका कारणले धौलागिरी क्षेत्रमा यति धेरै साहित्यिक गतिबिधि हुने गर्थे । अनि गीत गजल कविता बेस्सरी जगमगाएको थियो । गीत संगीतका त कुरै नगरौं, यो क्षेत्र त्यसैपनि लोकगीत संगीतको खानी ! झनै रेडियोका कारणले गीत रेकर्डिग गर्ने यस्तो लहर आयो यस क्षेत्रका कुनाकुनामा रहेका प्रतिभाहरुले आफूलाई राष्ट्रियस्तरको कलाकारिताको पंक्तिमा उभ्याई सकेका छन् । शिक्षा र सचेतनाको क्षेत्रमा रेडियोको ठूलो योगदान रहेको छ ।
द्वन्दकालमा राज्यले मिडियामाथि लगाएको अंकुस र त्यसमा उनिएका हामी मिडियाकर्मी । त्यो बेलाको व्यथा र चोट, त्यो चोटबाट मुक्ति पाउन रेडियोबाट गरिएका हाम्रा आन्दोलन स्मरणयोग्य छन् । ६२÷ ६३ को आन्दोलनमा रेडियोको माध्यमबाट हामीले खेलेको भूमिका कहिँकतै मूल्यांकन भए कि भएनन्, देखिए कि देखिएनन, लेखिए कि लेखिएनन तर एउटा बर्गले रेडियोको त्यो भूमिकालाई सधै प्रशंसा गरिरहन्छ ।
मेरो व्यक्तिगत अनुभव र बुझाइमा मैले रेडियो धौलागिरीलाई मेरो जीवनको जननी नै मान्छु । यसकै माध्यमबाट मैले आफ्नो व्यक्तित्व र क्षमता अभिबृद्धि गर्न पाएको हुँ। आर्थिक रुपमा परिवारको जिम्मेवार व्यक्ति हुँदाखाँदाको जागिर छोडेर परिवारको सपना लत्याउदै स्थायी शिक्षकको जागिर छोडेर रेडियोको भूत चढेको उपमा पाएको व्यक्ति र त्यहाँबाट सुरुवात गरेको मेरो मिडियाको यात्रा यहाँ लेखेर व्यक्त गर्न सबै कुरा सम्भव हँदैन । तर अन्त्यमा फेरि भन्छु, आर्थिक रुपमा मैले एउटा त्याग गरेर व्यक्तित्व र क्षमता अभिबृद्धि गर्न रेडियो मेरो पहिलो प्ल्याटफर्म नै हो ।
तीे ४ वर्षका अनन्यमित्रहरु, संचालक, प्रशाशनिक टिम सबैलाई अझै पनि हृदयको कुनामा सुरक्षित गरिरहेको छु र सम्झिरहन्छु । म अझै पनि धौलागिरी एफएम सुनिरहन्छु । बागलुंग जाँदा एकपटक एफएममा पुग्छु र गेटमा यो शीर राखेर ढोग्छु र आनन्दको अनुभूति गर्छु । धौलागिरीको पहिलो एफ एम धौलागिरि एफ एम, थुप्रै एफ एमहरुको बीचमा अझै पनि पहिलो नै छ । खुशी लाग्छ, गर्व लाग्छ मेरो जननी संचार क्षेत्रको अग्रतालाई कायम राख्न सफल रहेकोमा ……
(जिसी धौलागिरी एफएम बागलुङका पूर्व कार्यक्रम संयोजक हुन्)

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->