पोखरा, ८ मंसिर– गण्डकी प्रदेशसभा सदस्य रामजी प्रसाद बरालले विन्ध्यवासिनी मन्दिर अब भक्तहरुको लागि खुल्ला गर्नुपर्ने बताएका छन् । स्थानीय व्यवसायीहरुले विन्ध्यवासिनी मन्दिरको उत्तरतर्फको ढोका खुल्ला गराउन आइतबार सांसद बराललाई मन्दिर परिसरमै बोलाएर माग गरेपछि उनले ढोका खुलाउने विषयमा सहमति जनाएका हुन् । उनले कोरोनाको नाममा अब मठ मन्दिरहरु खुल्ला गर्न ढिलाई गर्न नहुने तर आवश्यक स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने बताए । आफुहरुको माग विभिन्न ठाँउमा राख्दा समेत कतैबाट केही नलागे पश्चात सांसद बराल समक्ष मन्दिरको गेट खुलाउन आग्रह समेत गरिएको स्थानिय कृष्णप्रसाद शर्माले बताए । उत्तरतर्फको पुरानो बाटो बन्द हुँदा २० जना फूलमा आश्रित व्यवसायीहरुको रोजिरोटी गुमेको उनको भनाई थियो । पछिल्लो समय मन्दिर व्यवस्थापनले पूर्वतर्फको ढोकाबाट सीमित भक्तलाई मन्दिर प्रवेश गराएको थियो ।




