बेलुकाको झिस्मिसे साँझ । आफ्नै मन्द गतिमा सलल बगिरहेको त्रियुगा नदी । नदीको छेउछाउमा लामबद्व रुपमा बनाइएका स–साना अस्थायी टहराहरु । जसलाई घाट भनिन्छ । हरेक घाटमा आफ्नै भिन्न रौनकता छाएको हँुदो हो । झिलिमिली बत्ती र दियोसँगै उज्यालिएका थिए छठ मनाउन आएकाहरुका मन पनि । भुराहरुले घरीघरी बेजोडले पड्काउने पटाकाको आवाज । यता अस्ताउँदो सूर्यलाई अर्घ दिन नदीमै डुबेर पूजा गर्र्दै गर्दाका व्रतालुहरुको आस्था । अनि यी सब हेर्न आउनेहरुको ठेलमठेल भीड । साँझ छिपिएसँगै उदयपुरको त्रियुगा नदीको किनारमा पोहोर सालको छठको रौनकता थियो यो ।
सानैदेखि किताबमा पढेको र कहिलेकाहीँ टिभीमा मात्र सिमित थियो मेरा लागि छठ । प्रत्यक्ष स्वयं आफैंले छठ नियाल्ने र यसको अंश हुने हुटहुटी कायमै थियो मनमा । त्यो इच्छा दुई वर्षअघि पहिलोपल्ट पूरा भएको थियो । चवालिस दिने एकल नेपाल साइकल यात्राको क्रममा थिए म । त्यही मेसोमा उदयपुरमा छठ मनाउने अवसर जुरेको थियो । अनन्य मित्र अमृता जीको घरमा । उहाँको स–परिवारसहित । एउटा फरक मेमोरी बनेको थियो वास्वतमै । अविस्मरणीय ।
विशेषतः चार दिन रहेपनि मुख्य दुई दिन छठलाई नजिकबाटै नियालिन् मात्र, आफैं पनि सहभागी भएँ । यसले ह्रदयमा एउटा छुट्टै स्थान ओगट्यो । विशिष्ट छाप पा¥यो मनमा । अनि पोहोर साल पनि हानिएको थिए उदयपुरमा छठ मनाउन । यसपालि पनि पुग्ने रहर नभा’को हैन तर कोरोना कहरले पूरा हुन सकेन । साँच्चै छठ मनाउने विधि, समय अनि यसको रमझमले मलाई लोभ्यायो । अनि यसको गुणगाण गाउन म बाध्य भएँ । लेख्न रहर जो जाग्यो ।
सांस्कृतिक, धार्मिक एवमं सामाजिक महत्वले अझ छठको महिमा चुलिएको छ नेपालमा । तराई जिल्लाहरुमा मनाउँदै आइरहेको यस पर्व केही वर्ष पहिलेदेखि पहाडलगायत हिमालमा पनि हर्षोल्लाषका साथ मनाइन्छ । छठी माईको पूजा गरिन्छ छठमा । उदाउँदो मात्र नभई अस्ताउँदो सूर्यलाई समेत पुजिन्छ यस पर्वमा । र, त यसको महत्व बढ्दो छ ।
छठ पर्वको शुभारम्भ कार्तिक शुक्ल पक्ष चतुर्थीको दिनबाट सुरु भई सप्तमीमा समापन हुन्छ । चार दिने छठ पर्व भए पनि तृतीय तिथिकै दिनमा व्रतालु महिला तथा पुरुषहरुले माछा मासुका साथै लसुन र प्याजरहित भोजन ग्रहण गर्दा रहेछन् । सोहीअनुसार पहिलो दिन चतुर्थीमा आफ्नो मन र शरीरलाई पवित्रिकरण गर्छन्, जसलाई नहाय खाय भनिन्छ ।
पञ्चमीका दिन सूर्यास्तपछि उपबास बसेका व्रतालु गुडले मिश्रित चामलले बनेका खिर र फलफूलले सूर्य भगवानलाई पूजाअर्चना गरी प्रसाद ग्रहण गर्छन्, जसलाई खरना भनिन्छ । कार्तिक शुक्ल षष्ठी, छठको मुख्य दिन । घरको एक जना ज्येष्ठ महिला सदस्य व्रत बस्नु पर्ने रहेछ । सम्भव भए अरु पनि बस्न मिल्छ । ३६ घण्टा निर्जल र निराहार व्रत । यो आफैंमा चुनौतीपूर्वक रहन्छ नै । घरमा व्रत बस्न कोही सक्षम नभए आफन्त वा कोही नजिकको व्रत बसेर उसकै घाटमा पूजा सम्पन्न गर्न पनि मिल्दो रहेछ । यो छुट भने छठले सबैलाई दिएको छ ।
षष्ठी तिथिको दिन । त्यस दिन दिउँसैदेखि छठको चहलपहल बढ्दै थियो त्रियुगा किनारमा । अस्थाथी घाटहरु बनाउने क्रममा थिए सबै जना । करिब सयको हाराहारीमा थिए घाटको संख्या । जब तीन चार बज्न थाल्यो, लाम लस्करका साथ सबै त्रियुगा किनारमा पुगे । व्रतालुलगायत अन्यका हातमा थिए बाँसको चोया काढेर बनाइएका नयाँ छिटी, कनसुत्ता, कोनियाँ र नाङ्लो । अनि त्यसमा भरिभराउ थिए विभिन्न फलफुल अनि प्रसादले । उस्तै लोभलाग्दो र आकर्षक सजिसजावट । एकैछिनमा सबै जना आ–आफ्नो घाटमा आइपुगे । अनि बल्ल रौनकता चुलियो ।
साँझ छिपिदै गयो । घाम डुब्न लागेको समय थियो यो । सबै व्रतालुहरु नदीमा पसेर सूर्यलाई अर्घ दिन थाले । यसलाई सझिया घाट भनिन्छ । क्या फोटोजेनिक पल । अर्घ दिइसकिएपछि दियो अनि बत्तीले हरेक घाट सझिन थाल्यो । सँगै सझाइएका थिए छिटी, कोनियाँ अनि नाङ्लोभरि फलफुल अनि प्रसादहरु ।
प्रसादका रुपमा चढाइने सामग्रीको संख्या ७० थरी पु¥याउनुपर्ने मान्यता हुँदोरहेछ । यस्ता सामग्रीमा मूला, गाजर, ज्यामिरे, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि थिए । साथै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो । स्वच्छता, शुद्धता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ हरेक सामग्रीहरु । कुनै कारण ७० प्रकारका सामग्री पु¥याउन नसकिए गम्हरी भन्ने धानको चामल चढाउँदा पुग्छ अरे । त्यसैले यो आर्थिक हैसियत र तडकभडक देखाउने नभई कृषिप्रधान क्षेत्रका मानिसको कर्मशीलता प्रदर्शनको पर्वसमेत मानिन्छ ।
बलिरहेको दियो, अगरबत्ती अनि अकेकथरिका रङ्गीचङ्गी बत्तीहरु । यसको समिश्रणले एकैछिनमा झिलिमिली बन्यो माहोल । बिचबिचमा केटाकेटीहरु बडेमानको आवाजमा पटाका पड्काउथे । सुरक्षामा तैनाथ प्रहरीहरु सम्यम भएर कुनै दुर्घटना नभई छठ पर्व मनाउन सम्झाउँथे ।
छठमय बनेको थियो माहोल । एकैछिनमा छेवैमा सुरु भयो छठ विशेष सांस्कृतिक कार्यक्रमहरु । झनै तातियो माहोल । आयोजक थिए त्यहींका विभिन्न समितिहरुको संयुक्त एक समिति । विभिन्न छठ विशेष स्थानीय नाचगानहरु मात्र पस्किएनन् स्टेजमा, सँगै छठको महत्व र यसको बारेमा विभिन्न वक्तहरुले प्रकाश पारेका थिए । यसले एक त छठको महत्व दर्साउन टेवा पु¥यायो त अर्को रुपमा रातभर जागराम बस्ने व्रतालुहरुलाई साथ पनि दियो ।
हरेक घाटमा कम्तीमा एक जना रातभर जागराम बस्थे । दियो निभ्न हुँदैन भन्ने विश्वास रहेछ, त्यसैले रातभर दियोमा तेल थपिरहनु पर्ने । बाँकी सदस्यहरु चाँहि घर फर्कदारहेछन् । माथि पुलबाट देखिएको मनोरम दृश्य एकदमै लोभलाग्दो थियो । विभिन्न कोणमा क्यामरामा कैद गर्ने जमर्को गर्थे म तर धित कहाँ मथ्र्यो र ? विभिन्न घाटहरु चाहार्दै समय बितेको पत्तै हुन्थेन । विभिन्न समूह बनाएर छठी माईको महिना र गुणगान गाउँदै पस्केका हुन्थे मिठा भाकाका गीतहरु । सुनिरहुँ जस्तो । हेरिरहुँ खालका । गीतको अर्थ नबुझेपनि त्यो लय अनि भाका विशेष लाग्यो ।
बिहानै सूर्योदय हुनु पूर्व सबै घाट पुगिसकेका थिए सबैजना । सुर्योदयसँगै व्रतालु एवं अन्य सदस्यहरु सूर्यको पूजा गर्न तम्तयार देखिन्थे । सबैका हातमा पूजाका कुनै न कुनै सामग्री, सामग्री माथि बलिरहेको दियोले वातावरण उल्लासपूर्ण बनेको थियो । पूजा पश्चात नदीमा तैरिरहेको दियोको बत्ती उस्तै आकर्षक देखिन्थे । केही प्रसादहरु भगवानका नाममा नदीमा बगाइदिँदा रहेछन् । सँगै बगाइएका प्लास्टिक एवं अन्य फोहोरहरु । यसले भने नदी वा खोला फोहोर गर्छन् भन्ने यथार्थता नबुझ्दा मन भने खल्लो बन्यो ।
पूजा सम्पन्न पश्चात विवाहित महिलाहरुले नाकदेखि कपालसम्म सिन्दुर लगाउने प्रचलन रहेछ । यता अरुले भने टीका लगाउँदा रहेछन् ठूलाबडाबाट । ठेकुवा, भुसुवा, खजुरिया पिरिकिया, लड्डुजस्ता प्रसादहरु । उस्तै स्वादिला अनि रसिला । खाइरहुँ जस्ता । अरु घाटहरुबाट पनि भिन्न–भिन्न प्रसाद अनि फलफुलहरु दिदाँ रहेछन् । सबै जना आ–आफ्ना घाटमा राखेका सामग्रीहरु लिएर घरतिर लागे । तर मेरो मन भने त्यहीं अडिएको थियो । अल्झिरह्यो अनायसै । नसकियोस् जस्तो लागेको थियो छठ ।
सामाजिक सद्भाव र एकताको पर्व
छठ आफैमा सांस्कृतिक समन्वय र सामाजिक सद्भावको पर्व मानिन्छ । छुवाछुत र भेदभावभन्दा माथि उठेर मनाइने एक पर्व हो यो । न जातीय न लैगिंक विभेद । सबै जना हर्ष उल्लासका साथ एकै ठाउँमा छठ मात्र मनाउँदैनन्, एक अर्कालाई घाट बनाउनदेखि पूजा व्यवस्थापनमा समेत सहयोग गर्छन् । पहिले तराईका जिल्लाहरुमा मात्र विशेष रुपमा मनाइने यस पर्व अहिले हिमाल र पहाडमा समेत मनाउँदै आएको छ । यस अर्थमा यसले नेपालीमाझ सामाजिक एकता, भातृत्व र भाइचाराको भावना विकास गराउँदै राष्ट्रिय एकताको पुलको भूमिका निवार्ह गरेको देखिन्छ ।
अहिंसाको पर्व
छठ आफैंमा अहिंसाको पर्व मानिन्छ । चाडभर माछा मासु त परको कुरा लसुन र प्याजसमेज भान्छामा पाक्दैन । शाकाहारी भोजनलाई प्राथमिकता दिइन्छ । न काटमार गरेर नै भगवानलाई बलि दिइन्छ । यस अर्थमा पनि छठ एक उदाहरणीय पर्वका रुपमा लिइन्छ ।
कृषकको सम्मान र कृषिप्रधानको झल्को
यस पर्वमा विशेष परिकारका रुपमा प्रयोग गरिने हरेक सामग्री खेती किसानबाट उत्पादित हुन् । कुनै बाह्य आयातित हैनन् । गहुँको पिठोबाट निर्मित ठेकुवा होस् वा चामलको पिठोबाट बनेको कसार । केराको घरी होस् वा उखु । हरेक सामग्रीहरु कृषिबाट उत्पादित हुन् । यसले नेपालको कृषिको महत्वलाई एकातिर झल्काउँछ भने अर्को अप्रत्यक्ष रुपमा किसानप्रति सम्मान, प्रोत्साहन एवं आदर प्रकट गर्दछ ।
स्वास्थ्य दृष्टिकोणले महत्व
सूर्यको पूजा गर्नु आफैंमा भौतिक ऊर्जा, शक्ति प्रकाश, आरोग्य, उपासना, मोक्ष प्राप्ती, आयु एवम् सुस्वास्थ्यको प्रतीकका रुपमा मानिन्छ । शरीरले एकातिर भिटामिन डी समेत प्राप्त गर्छ र अर्को रुपमा छाला र आँखाका विभिन्न रोगहरुको निराकरण हुन्छ भन्ने जनविश्वास पनि रहन्छ । सँगै सरसफाई एवं शुद्धतालाई बढी महत्व दिँदा स्वास्थ्यलाई प्रत्यक्ष र अप्रत्यक्ष धेरै फाइदाहरु समेत मिल्छ । साथै सूर्य र नदीप्रतिको सम्माम र भक्तिभाव आफैंमा अतुलनीय रहन्छ ।
अन्त्यमा,
छठको हरेक पाटोले मलाई विशेष लाग्यो छठ । यस अर्थमा मेरा लागि छठ पर्व विशेष रह्यो । र, रहिरहनेछ सधैं । गैरतराईबासी भएर पनि लाग्छ छठ मेरै पर्व हो । यो तराईबासीका पर्व मात्र नभई हरेक नेपालीको पर्व हो । यो हामी सबैको गर्वको विषय समेत हो । आशा छ, यसले हरेक नेपालीलाई एकताको सुत्रमा बाध्ने सेतुको भूमिका निर्वाह गर्नेछ । कोरोना साम्य भए अर्को पटक फेरि छठ मनाउन उदयपुर पुग्नुछ । नजिकैबाट धीतमरुन्जेल छठ नियाल्नु छ र हराउनु छ यसैमा । म फेरि भन्छु, ‘छठ इज द फेस्टिभ आई इन्जोइ द मस्ट’ ।





