पर्वत, ११ मंसिर– कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा कास्कीको पोखरामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाको सङ्ख्या एक सय ४४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माद्वारा आज दिउसो जारी गरिएको विज्ञप्तिमा कास्की र लमजुङका एक÷एक जनाको मृत्यु भएको जानकारी दिइएको छ । उनीहरू कास्कीको पोखरा महानगरपालिका–१३ का ६६ वर्षीया महिला रहेकी छिन् । मङ्सिर सात गते संक्रमणको पुष्टि भएकी ती महिलाको गएराती साढे नौ बजे उपचारको क्रममा मणि पाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुने अर्की ८७ वर्षीया महिला लमजुङको मध्यनेपाल नगरपालिकाकी हुन् । हिजो मात्र कोरोना सङ्क्रमणको पुष्टि भएकोमा उनको मृत्यु हिजो नै राती साढे दुई बजे कास्की सेवा अस्पतालमा भएको हो । ती महिलामा श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको निर्देशनालयले जनाएको छ ।




