नवलपुर, ११ मंसिर – नमूना मध्यवर्ती सामुदायिक वनमा बिहीवार ५ महिने गैंडाको बच्चा मृत भेटिएको छ । दुई वयस्क भाले र पोथी गैंडाको लछारपछारबाट गैंडाको केटो मरेको हुनसक्ने चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका प्रमुख पशुपति अधिकारीले बताएका छन् । कावासोती १५ स्थित मध्यवर्ती क्षेत्रको स्वर्गद्धारी घाट नजिक मृतावस्थामा भेटिएको उक्त केटोलाई जंगल सफारीमा गएकाहरुले सूचना पाएलगत्तै स्थलगत निरीक्षण गरिएको अधिकारीले बताए ।
वयस्क भाले–पोथी गैंडा क्रिडा गर्ने क्रममा सँगै रहेको केटो लछारपछारमा परेको प्रकृति देखिएकाले मृत केटोलाई पश्चिम सेक्टर कार्यालय अमलटारी ल्याईएको जनाईएको छ । भोली शुक्रवार चितवन राष्ट्रिय निकुञ्ज सौराहाबाट पशु प्राविधिक र चिकित्सक सहितको टोलीले थप अनुसन्धान गरेपछि मृत केटोको ब्यवस्थापन गरिने अधिकारीले बताए ।
फोटोः जितेन्द्र सापकोटाको फेसबुकवाट





