शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अस्पतालमा घुम्दाघुम्दै ज्यान गयो काँडेका राजेश कार्कीको

अस्पतालमा घुम्दाघुम्दै ज्यान गयो काँडेका राजेश कार्कीको

बिरामीलाई भर्ना लिन नमान्ने गण्डकी मेडिकल कलेज, मनीपाल अस्पतालका प्रतिनिधी भर्ना लिन नमान्दा अनुगमन गर्न बनाइएको समितिमा सदस्य छन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७७, बिहिबार

पोखरा, ११ मंसिर – गाउँ छोडेर मान्छेहरु शहरतिर किन ओइरिन्छन् ? धेरै थोकको सुविधा सहरमै पाइने भएकाले पनि सहर धेरैको रहर बनेको होला ! तर, देशकै सुविधा सम्पन्न सहर पोखरामा उपचार नपाएरै मर्नु पर्ने अवस्था पैदा भएको छ । अन्नपूर्ण गाउँपालिका-३ काँडेमा बसोबास गर्दै आएका राजेश कार्कीको अस्पताल घुम्दाघुम्दै बुधबार राती ज्यान गएको छ ।
अस्पताल पुगेका कार्कीको अस्पतालले उपचार लिन नमान्दा ज्यान गएका उनका आफन्तहरुले आरोप लगाएका छन् । ललिपुर स्थायी ठेगाना भएका कार्की पछिल्लो समय अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ काँडेमा बसोबास गर्दै आएका थिए । पेशाले ट्रक चालक रहेका कार्कीलाई बुधबार बेलुका श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा मेट्रोसिटी अस्पतालमा पु¥याइएका कार्कीलाई अस्पतालले भर्ना लिन नमानेका मृतकका आफन्तहरुले बताएका छन् ।
मेट्रोसिटीले भर्ना लिन नमानेपछि उनका आफन्तले लेकसिटी अस्पताल पु¥याए । ‘मनीपालमै लग्ने भनेका थियौं । दिदीले मेट्रोसिटीमै लग्ने, त्यहाँ राम्रो उपचार हुन्छ भनि सकेपछि त्यहाँ लगेका थियौं । अस्पतालले भर्ना लिएन,’ मृतकका आफन्त सुजन गुरुङले भने, ‘त्यहाँ एम्बुलेन्स एकै छिन रोक्न पनि दिइएन । त्यहाँ बेड नभएको भए पनि कमसेकम अस्पतालले अर्को अस्पतालमा रिफर गरेको भए भिनाजुको ज्यान बचाउन सकिन्थ्यो होला !’ सुजन नाताले मृतक कार्कीका सालो पर्छन् । मेट्रोसिटीले भर्ना लिन नमानेपछि सुजन र उनका दुई दिदीले लेकसिटी अस्पतालमा पु¥याएका थिए ।
एकैछिन आकस्मिक कक्षमा राखि सकेपछि लेकसिटीले भेन्टिलेटर नभएको बताएर अर्को अस्पताल लैजान भनेको उनले बताए । ‘एकै छिन राखेर इन्जेक्सन दियो । लेकसिटीले पनि भेन्टिलेटरको अभावले बिरामी भर्ना लिन नसक्ने बताएपछि फिस्टेल अस्पताल पु¥याएका थियौं । त्यहाँ पनि एकै छिन अवस्था हेरि सकेपछि भर्ना लिन मानेन्,’ दुखेसो पोख्दै उनले भने, ‘त्यहाँबाट मनीपाल ल्यायौं । यहाँ पनि भर्ना लिन सुरुमा आनाकानी भयो । हामी यसै त पीडामा थियौं, इमर्जेन्सीमा लगेको । तिमीहरुलाई पनि श्वास फेर्न गाह्रो हुन्छ भन्ने जस्ता गैह्र जिम्मेवार कुरा आयो ।’ उपचार खोज्दै अस्पताल आएका बिरामीलाई अस्पतालले गैह्र जिम्मेवार व्यवहार गरेकोमा उनको गुनासो छ । मनीपाल अस्पतालले बिरामी ल्याएको करिब १ घण्टा अस्पताल प्रांगणमा राख्दा पनि उपचार गर्न नमानेको उनको आरोप छ । मनीपालले भर्ना लिदाँसम्म उनको स्वास्थ्य अवस्था झनै नाजुक भएको उनले बताए ।
बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएर चरक मेमोरियल अस्पतालमा सम्पर्क गर्दा अस्पतालले त्यहाँ पनि बेड नभएको बताएको मृतकका आफन्तको भनाई छ । ४८ वर्षीय कार्कीमा अन्य कुनै दीर्घ रोगको समस्या भने नरहेको मृतकका जेठी सासु अनिता गुरुङले बताइन् । बुधबार बेलुका नवलपुरदेखि कार्की काँडे आई पुगेका कार्की खाना खाएर सुतेका राम्रै सुतेका थिए । कार्कीमा सुतेको समयमा घुर्ने समस्या रहेको उनले बताइन् । ‘सुरुमा निद्रामा घुरेको होला भनेर पनि वास्ता भएन । पछि व्यथाले च्याप्दै गएपछि अस्पताल ल्यायौं । अस्पताल ल्याउदा यस्तो भयो,’ उनले भनिन् ।
मृतक कार्कीकी अर्की दिदी सासू लक्ष्मी गुरुङले उपचारै नगर्ने अस्पताल खोल्नु भन्दा बन्द गरेर राख्नुपर्ने बताइन् । अस्पताल बन्द भई सकेपछि मर्नै परे पनि उपचार पाइन्न भनेर ढुक्कले मर्ने बताइन् । ‘मर्ने मर्छ, बाँच्ने बाँच्छ । बरु, अस्पतालको गेटै बन्द गरेर राखे हुन्छ,’ उनले भनिन्, ‘उपचारै नगर्ने अस्पताल किन खोलेर राख्ने ।’
अस्पतालले कोरोना संक्रमित भएको आशंका गरेर भर्ना लिन नमानेको उनीहरुको आशंका छ । ‘ल, कोरोनै लागेको भए पनि त उपचार त पाउनु प¥यो नि, कोरोना लागेको हो भने पनि भेन्टिलेटरमा राख्न पाएको भए पनि ज्यान बचाउन सकिन्थ्यो,’ उनले भनिन्, ‘न पीसीआर गर भनेर भनियो । न केही हाम्रो बिरामीको अस्पतालले भर्ना नलिएरै ज्यान गएको हो ।’
केही दिनअघि मात्रै स्याङ्जा पुतलीबजारकी धनमाया गुरुङको पनि उपचार.खोज्दै अस्पताल घुम्दाघुम्दै ज्यान गएको थियो । यो घटनापछि प्रदेश सरकारले अस्पतालसँग स्पष्टिकरण समेत सोधेको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीकाका निर्देशक विनोद विन्दु शर्मालाई संयोजक तोकेर अस्पतालको अनुगमन गर्ने जिम्मेवारी पनि दिएको थियो । तर, अस्पतालले अझैं पनि कोरोना संक्रमित भएको आशंकामै भर्ना नलिने गरेका छन् ।
यस विषयमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्मासँग बुझ्न खोज्यौ । पटक पटक सम्पर्क गर्दा समेत उनको फोन उठेन । प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरेदेवी पुनलाई सम्पर्क गर्दा यस विषयमा अनुगमन गर्न निर्देशनालयका निर्देशकको संयोजकत्वमा समिति गठान भएकाले उतै सम्पर्क गर्नुपर्ने बताइन् । ‘यस विषयमा अनुगमन गर्न स्वास्थ्य निर्देशनालयका निर्देशक ज्यु को संयोजकत्वमा समिति गठन गरिएको छ,’ उनले भनिन्, ‘उतै सम्पर्क गरेर बुझ्नुपर्छ ।’
यता समितिका संयोजक भने सम्पर्कमा आउन चाहेनन् । सदस्य सचिव डाक्टर राम बहादुर केसीलाई सम्पर्क गर्दा यस विषयमा जानकारी लिएर मात्रै प्रतिक्रिया दिन मिल्ने उनले बताए । नीजि अस्पतालले भर्ना लिन नमान्दा अनुगमन गर्न बनाइएको समितिमा भने बिरामीलाई भर्ना लिन नमान्ने गण्डकी मेडिकल कलेज, मनीपाल अस्पतालका प्रतिनिधी पनि सदस्य छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->