तनहुँ, १५ मंसिर– देवघाट गाउँपालिका–३ नाल्बुङ्गकी एकल महिलाले घरमै नागरिकता पाएकी छिन् । आफन्तबिहिन हिँडडुल गर्न र बोल्न नसक्ने अशक्त ७३ वर्षिया माया गुरुङलाई तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार घरमै पुगेर नागरिकता वितरण गरेका हुन् ।
‘उहाँको आफन्ती कोही पनि रैनछन् । आफु बोल्न पनि नसक्ने, गाउँ छोडेर अन्त जान नमान्ने भएकाले अहिलेसम्म नागरिकता लिनुभएको रैनछ । स्थानीय गंगासिं विकले पहल गरेपछि घरमै पुगेर नागरिकता वितरण गरेका छौँ’, उनले भने ।
वडा कार्यालयले गुरुङ त्यहीँ जन्मिएको र नेपाली नागरिक हो भन्ने प्रमाणित गरेर पठाएपछि गाउँपालिकाले गरेको अनुरोधको आधारमा गुरुङलाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार गुरुङलाई २००४ भदौ ३० गते जन्ममिति राखेर नागरिकता प्रदान गरिएको छ ।
२०७२ को भुकम्पले घर भत्काएपछि गुरुङ लाभग्राहीको सुचीमा परेपनि नागरिकता नहुँदा घर पुननिर्माणको सम्झौता हुन सकेको थिएन् । दयनिय झुप्रोमा उनी ओत लाग्दै आएकी छन् । अब गुरुङको घर राष्ट्रिय पुननिर्माण प्राधिकरणले नै बनाईदिने भएको छ ।
नाल्बुङ टोल विकास संस्थाका अध्यक्षसमेत रहेका गंगासिं विकका अनुसार भुकम्पले घर भत्काएपछि उनी फुसले छाएको झुप्रोमा बस्दै आएकी थिईन् । ३ वर्षअघि उक्त झुप्रोमा पनि आगलागी भयो । हाल स्थानीय कालिका आधारभूत विद्यालयले दिएको पुराना काठ र जस्ताले छाएको टहरामा बस्दै आएकी छन् उनी ।
‘भुकम्पले घर भत्काएपछि पुर्ण क्षतिग्रस्त लाभग्राहीको सुचीमा पर्नुभएको छ । नागरिकता नभएपछि घर पुननिर्माणको सम्झौता गर्न मिलेन् । नागरिकता भयो भने घर पनि बन्ने, जिवनयापनका लागी सामाजिक सुरक्षाभत्ताले केही सहज हुन्छ भनेर पहल गरेका थियौँ । सफल पनि भएका छौँ’, विकले भने ।
उनका अनुसार, ती बृद्धा छिमेकी एक जनाभन्दा अरुसंग नजिक छैनन् । अपरिचित व्यक्तिले दिएको लत्ताकपडा र खानेकुरा पनि नलिने उनले सुनाए ।





