बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

९ महिनापछि कक्षा कोठामा साथीलाई भेट्दा…

९ महिनापछि कक्षा कोठामा साथीलाई भेट्दा…


  • हरिकृष्ण गौतम
  • मंसिर १७ २०७७, बुधबार

बेनी, १७ मंसिर-बेनी सामुदायिक माविका कक्षा ६ मा अध्ययनरत अनुष्का भट्टचनले ९ महिनापछि पहिलोपटक साथीलाई भेटिन् । आइतबार भट्टचनले कक्षा कोठामा असिमा केसी र रोस्ना छहारीसँग भेट्न पाउँदा हर्षित भईन् । कोभिड–१९ सङ्क्रमणका कारण बार्षिक परीक्षा सकिएपछि बन्द भएको विद्यालयमा पहिलोपटक पाइला टेकेका विद्यार्थीले आफ्ना साथीहरू खोजी–खोजी भेटेका थिए । विद्यालयले विभिन्न समयमा सञ्चालन गरेको घरदैलो र अनलाइन कक्षामा समेत नभेटिएका साथीहरू विद्यालयमा भेटिएपछि खुसी लागेको छात्रा भट्टचनले बताइन् । विद्यालयको गेटबाट प्रवेश गरेलगत्तै कक्षा कोठामा पुगेका विद्यार्थीको जमघटले माहोल नै फरक देखिन्थ्यो । ‘कोरोना भाइरसको कारण नियमित विद्यालय आउन पाइन्छ जस्तो लागेको थिएन,अब अतिरिक्त समयको प्रयोग गरी पढाईमा ध्यान दिनुपर्छ’। बानियाँले भने ।
स्वअध्ययन सामग्री र सहयोगी सामग्रीको माध्यमबाट वैकल्पिक विधिको अध्ययनले केही सहज भएपनि कक्षा कोठाबाट लिने ज्ञानजस्तो प्रभावकारी नहुने विद्यार्थीको भनाई छ । नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको बैठकले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयमा अध्ययन अध्यापन सुरु गर्ने निर्णय गरेसँगै विद्यालय खुलेको बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए । कोरोनाको जोखिम कायमै रहेको भए पनि लामो समयपछि विद्यालयमा आफ्ना विद्यार्थी भेट्न पाउँदा विद्यार्थी र शिक्षक हर्षित भएको श्रेष्ठले बताए । ‘नियमित पठनपाठन सुरु भएको छ,‘अभिभावकलाई समेत प्रतिबद्धतापत्र पठाएका छौ’ श्रेष्ठले भने ।
अभिभावकले विद्यालयले बनाएको प्रतिबद्धता पत्र अनुसार जनस्वास्थ्यको मापदण्डलाई कार्यान्वयन गर्ने, मास्क, सेनिटाइजर, फेस सिल्डको अनिवार्य प्रयोगमा समेत जोड दिएको उनले बताए । विद्यालय खुलेको पहिलो दिन कक्षा ब्यवस्थापन र कक्षा सञ्चालन र नियमित प्रयोग गर्नुपर्ने सुरक्षाका साम्रागीका बारेमा विद्यार्थीलाई जानकारी गराइएको छ । कोरोना भाइरससम्बन्धी लक्षणहरु मिल्दाजुल्दा देखिएका विद्यार्थीहरुको स्वास्थ्य अवस्था चेकचाँज गराउने, स्वास्थ्य कार्यालय र नगरपालिकालाई जानकारी गराउने,विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले भने । नगरपालिकाभित्र ५६ वटा सामुदायिक विद्यालय, १२ वटा संस्थागत, एकएक वटा अनौपचारिक, धार्मिक र म्याग्दी बहुमुखी क्याम्पस गरी कुल ७१ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->