
बेनी, १७ मंसिर– गएको बुधबार एकाबिहानै घाँस काट्न जाने तयारीमा रहेकी नरमाया रोकालाई फोनमा बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेको भन्दै छोरीको पहिलो बधाई आयो । विदेशबाट आएको फोनमा असल छोरीलाई जन्माउनु भएकोमा धेरै खुसी लागेर फोन गरेको बताउँदा नरमायाको आँखा रसाए । दिनभरी करिब ३० जनाभन्दा बढीको फोन, गाउँका छिमेकी, आफन्तको नियमित भेटघाटले नरमाया निकै ब्यस्त भईन् ।अर्को दिन विहानै छोरीको बधाईसँगै उच्च शिक्षामा लगानीगर्ने प्रतिबद्धतासहितको फोन आयो । नियमित घाँसदाउरा, घरायसी काम, मेलापातमा जानुपर्ने नरमाया तीन दिनसम्म लगातार फोनमै ब्यस्त हुनुप¥यो ।
‘स्वदेश विदेशबाट धेरै फोन आए,‘तीन दिनसम्म घाँस काट्न समेत जान पाइन’ नरमायाले भनिन् । उनले गाउँलेहरुबाट समेत फोन नम्बर मागेर फोन गर्न थालेपछि फोनमा बधाई सुन्दासुन्दै छोरीको वास्तविक सफलताका बारेमा जानकारी पाएको बताईन् । ‘मेलापात नगरी घरखर्च चल्दैन्, पशुचौपायालाई घाँस काट्न जानुपर्ने छोरीको सफलताको बधाई थाप्दा थाप्दै दिन बितेको पत्तै भएन्’,उनले भनिन् । म्याग्दीको मंगला गाउँपालिका–४ बुकेनीको सामान्य परिवारमा जन्मिएकी सपना रोका मगर बिबिसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचिमा परेपछि गाउँमा खुसीयाली छाएको छ । ‘पहिलोपटक सन्तानको सफलताको बधाई पाइयो,छोराछोरीको सफलता अभिभावकका लागि अमृत जस्तै हो’, सपनाका बुबा जित बहादुरले भने । उनले श्रीमतीको मोवाइलमा फोन आएको देखेर दंग परेको बताउँदै छोरीलाई बधाई दिन काठमाडौंमै जाने बताए । जीवनको हर क्षेत्रमा छोराछोरीले सदैव सफलता हासिल गरोस् भन्ने चाहना अभिभावकको हुने बताउँदै जित बहादुरले सन्तानको नामबाट चिनिने अभिभावक भाग्यमानी भएको बताए । दुईछोरी र एक छोरामध्ये परिवारकी कान्छी सपनाको नाम सँग म्याग्दी जिल्ला समेत आउने भएकाले म्याग्देली कै नाम राखेको उनले बताए ।
‘खुसीले भात समेत खान रुचेन, एकदिन त भान्सामा केही पाकेन’,उनले भने । घरमा रहेका पशुचौपाया लाई छिमेकीको जिम्मा लगाएर काठमाण्डौ हानिएका जित बहादुरले छोरीको अपुरो शिक्षालाई निरन्तरता दिने गरी सहयोग गर्न समेत अनुरोध गरेका छन् । कान्छी सन्तान भएकाले चञ्चले, केही अहम् र घमण्ड परिवारसँग गर्ने छोरी संसारकै प्रेरणादायी महिलाको सूचिमा परेपनि आफ्नो लागि तीनै सन्तान समानभएको उनले बताए । ‘छोरीको खराब आनीबानी भएकासँग रमाउँदा समाजबाट बहिष्कृत हुने चिन्ताले सताउने गरेको थियो,‘अहिले छोरीले नै संसारलाई नयाँ सन्देश दिने काम गरेकीछन’उनले भने । जित बहादुरका छोरा नविन रोका ७ बर्ष पहिलेदेखि मलेसियामा रहेका छन् । छोरालाई पटकपटक नेपाल फर्किन अनुरोध गरेपनि विभिन्न समस्या रहेको बताउँदै छोराको विवाह गरेपछि घरको सम्पूर्ण जिम्मेबारी दिएर छोरी सपनाको नजिक बस्ने चाहना रहेको बताए । ‘दुईबर्ष अगाडीसम्म छोरीको करिब जिन्दगीका सम्पूर्ण बाटा बन्द भएजस्तो लाग्थ्यो, अहिले उनको कामले जतापनि बाटैबाटो देख्छु’ जित बहादुरले भने । उनले सपनाले स्नातकोत्तरसम्मको पढाई सकेको हेर्न चाहेको बताए । सपनालाई प्रवासमा रहेका म्याग्देलीले उच्च शिक्षाका लागि आर्थिक सहयोग समेत जुटाइरहेका छन् ।





