मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

जंगलबाट खोजेर ७५ वर्षमा नागरिकता पाउँदा

जंगलबाट खोजेर ७५ वर्षमा नागरिकता पाउँदा


  • हरिकृष्ण गौतम
  • मंसिर १९ २०७७, शुक्रबार

बेनी, १९ मंसिर– मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, हापपाइन्ट लगाएका एक सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा देखिए । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १ बेगखोलाका ७५ वर्षिय ओमबहादुर फगामीलाई लिएर उनका भाई फ बहादुर फगामी प्रशासनमा पुग्दा प्रजिअ उमाकान्त अधिकारीले चासो व्यक्त गरे ।
खुट्टामा धुलैधुलो, पुरानो कपडामा प्रशासनमा प्रवेश गरेका फगामीलाई अन्य सेवाग्राहीजस्तै भिडमा राखिएन् । प्रजिअको कार्यकक्षमा राखेर नागरिकता दिइयो । कलिलै उमेरमा घरबाट हराएका फगामीले धेरै वर्ष भेडीगोठमा बिताए । घरबाट एक्कासी सम्पर्कविहिन फगामले पेटमात्रै पाल्ने गरी करिब पाँच दशकसम्म मुस्ताङ र उत्तरी म्याग्दीका विभिन्न चरनक्षेत्रमा विताए पनि भाईको सक्रियतामा खोजेर नागरिकता दिइएको छ ।
वषौंपछि घर फर्किदा ओमबहादुरले आमाबुबासँगै दुई दिदीबहिनीसमेत गुमाइसकेका छन् । नागरिकता पाएपछि २० वर्षको तन्नेरी भएको महसुस गरेको ओमबहादुरको भनाई छ । भाइ फबहादुरले आवश्यक कागजपत्र जुटाएर बुझाएसँगै ७५ वर्षीय ओमबहादुरको हातमा नागरिकता पर्यो ।
१५ वर्षको उमेरमा जंगल, भेडीगोठ र मानवबस्तीभन्दा धेरै टाढा पुगेर हुर्किएका ओमबहादुरले नौलो परिवेशमा घुलमिल हुने प्रयाससँगै आफ्नो गोठालो दैनिकीका बारेमा खुलेर सुनाउँदै थिए । मुस्ताङबाट आएर उत्तरी म्याग्दीको नारच्याङ र पाउद्धारको बिचमा रहेको एउटा जिर्ण घरमा भेटिएका ओमबहादुरलाई लिएर नागरिकता बनाउँदा एउटा भाईको जिम्मेवारी पुरा भएको फबहादुरले बताए ।
प्रजिअ अधिकारीले ओमबहादुरलाई नागरिकता हस्तान्तरण गर्दा दुवैजनाको अनुहारमा खुसी छल्किएको थियो । विसं २००७ असार २० मा जन्मिएका दाइलाई नागरिकता दिलाएसँगै अब वृद्घभत्ताले औषधि उपचार र सामान्य खाना खर्चका लागि सजिलो हुने फगामीको भनाई छ । हिडेर भेडीगोठमा पुगेका ओमबहादुरले पहिलोपटक सवारीसाधनमा चढेर बेनी आएका थिए । जीवनमा पहिलोपटक सवारीसाधनमा चढेको अनुभवसमेत नागरिकता लिने बेलामै ओमबहादुरले गर्ने पाए ।
पहिलोपटक भेट्दा राउटे दाई भन्दै भाईले जिस्काएको बताउँदै अब घरमै बस्ने ओमबहादुरको भनाई छ । ओमबहादुरको गोठालो अनुभव सुनेर बसेका प्रजिअ अधिकारीले जीवनको उत्तरार्धमा पुगेको अवस्थामा नागरिकता हस्तान्तरण गर्दा निकै खुसी लागेको बताउँदै गाउँघरमा ओमबहादुर जस्ता धेरै भएकाले प्रक्रिया पुरा गरेमा घरदैलोमै पुगेर नागरिकता दिने प्रतिबद्धता जनाए । म्याग्दीमा शरीरिक अपाङ्गता भएका, आर्थिक अवस्था कमजोरलगायत विभिन्न कारणले अझैपनि नागरिकता लिन योग्य उमेर भएका धेरै ग्रामिण बस्तीमा भेटिने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->