पोखरा, २२ मंसिर– पोखरामा रहेका गुरुङ जातिसँग सम्बन्धित संघ÷संस्थाले विगतमा जस्तै यो पटक पनि सामूहिक रुपले ल्होसार÷ल्होछार मनाउने भएका छन् ।
तमु धिं नेपालमा आइतबार बिहान सम्पन्न तमु संघ संस्थाहरुको भेलाले कोभिड १९ कोरोना भाइरसको संक्रमणको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा र भौतिक दूरी कायम गरी सीमित उपस्थितिमा ल्होछार मनाउने निर्णय गरेका हुन् । ल्होछारको विशेष कार्यक्रम पुस १६ गते आयोजना हुने तमु धिंका अध्यक्ष होमबहादुर तमुले जानकारी दिए ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउन ११ सदस्यीय सचिवालय गठन गरेको आयोजक समितिका सहसंयोजक गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)का अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए । तमु (गुरुङ)कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, जिफानका अध्यक्ष भोजबहादुर गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषका सचिवालय सदस्य तथा प्रदेश प्रमुख दलबहादुर गुरुङ, तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष निम गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङ, तमु सञ्चारकर्मी नेपालका महासचिव एवम गुरुङ साहित्यिक मञ्चकी महासचिव रोशनी गुरुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ गण्डकीकी अध्यक्ष दिलमाया गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङ, ङ्योई तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर गुरुङ र बौद्ध अर्घौ सदनका अध्यक्ष क्या.भुवनसिं गुरुङ रहेका छन् । ल्वों ल्हो आगमनको अवसरमा तमु एकता र तमु ल्होछार÷ल्होसारबारे जुम सम्वाद गर्ने, तमु ल्होछार÷ल्होसारमा राष्ट्रिय विदाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, पुस १५ गते सबैले घर घरमा बत्ती झिलिमिली गर्ने, शुभकामना आदानप्रदान, जलपानलगायत सांस्कृतिक कार्यक्रम गरिने सामुहिक ल्होछार÷ल्होसार आयोजक समितिका संयोजक सुरेन्द्र गुरुङको भनाई रहेको छ ।




