
म्याग्दी, २२ मंसिर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज टे«ल’ सञ्चालनको तयारी भएको छ ।
आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सेली नागरिक मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनका लागि गाउँपालिका, पर्यटन बोर्ड र टे«किङ एजेन्सिज एशोसिएसन (टान)का प्रतिनिधिले स्थलगत अध्ययन गरेका छन् ।
हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविरलाई पदमार्गले जोडेर पर्यटक भित्राउन जुटेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए । गाउँपालिकाले नारच्याङबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिज हर्गोज टे«ल’ नामकरण गरेको छ ।
नारच्याङबाट मिस्त्रीखोलाको किनारैकिनार आधार शिविर जोड्ने पदमार्ग तयार भएको पुनको भनाई रहेको छ । मौरिजकालीन जस्तै कठिन र ‘वाइल्ड’ रहेकाले अन्नपूर्ण प्रथमको आधार शिविर पदयात्रामा नयाँ ‘ब्राण्ड’ हुने टान गण्डकीका अध्यक्ष पौडेलको भनाई छ ।
गाउँपालिकाले पदमार्गको नक्सा तयार पारेको छ । पर्यटन विभागले पदमार्ग निर्माणका लागि ठेक्का लगाइसकेको छ । आधारभूतस्तरको पदमार्ग, पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि ‘सेल्टर’ निर्माण भएको छ । होटल तथा लज नभएकाले ‘क्याम्पिङ’ पदयात्रा गर्नुपर्ने हुन्छ ।
नारच्याङबाट छोटेपा, हुमखोला, भुसकेतहँुदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण भएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।





