बेनी, २४ मंसिर– बेनी नगरपालिका–६ खरेनीकी दुर्गी किसान गएको असार महिनादेखि पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) रोगले पीडित छन् । महिनावारी नभएको समयमा पनि रगत बग्न थालेपछि बेनी अस्पतालहुँदैचितवनको भरतपुर क्यान्सर अस्पतालसम्म उपचार गर्न पुगिन् ।पाठेघरमा क्यान्सर रोग लागेको पत्ता लागेपछि पीडित किसान उपचारकै क्रममा छन् । चरम आर्थिक अभावका कारण आफन्त र ऋण खोजेर अस्पतालसम्म पुगेकी किसानले उपचारमा थप आर्थिक जुटाउन नसक्दा उपचार छोडेर फर्किन बाध्य भइन् ।
श्रीमानको सामान्य मजदुरीबाट परिवारको गुजरा चलाउँदै आएकी किसानले अस्पतालमै नियमित उपचारका लागि गरेको प्रयास असफल भयो । ‘अस्पताल धाउँदा–धाउँदा डेढलाख सकियो,आर्थिक समस्याले उपचारमा कठिनाई भइहरेको छ’, उनले भनिन्,‘कलिला छोराछोरी सम्हाल्न पनि मैले बाँच्नुपर्छ ।’ क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक आर्थिक जुटाएर आउन अनुरोध गरेपछि उनी बाध्य भएर फर्किएको बेनी फर्किएकी हुन् । घरमा सानो छोरालाई हेरविचार गर्न कोही नभएपछि अस्पतलामै लगेकी किसानले उपचारमा सानो–सानो सहयोगको अपिल समेत गरिन् । ‘म बिरामी भएर सुत्दा छोराछोरी भोकै बस्नुपर्छ’, उनले थपिन्,‘श्रीमानको कमाईले एक छाक खान पनि पुक्दैन ।’ बेनीबजार र आसपासमा मजदुरी गर्ने श्रीमानले समेत आफ्नो उपचारका लागि ऋण खोजेको बताउँदै सबैले सानो सहयोग गरेमा आफ्नो उपचार सम्भव रहेको बताईन् ।
‘पैसा जुटाउन सकेमा म बाँच्न सक्छु,‘छोराछोरीका लागि पनि अहिले म बाँच्नुपर्छ’,उनले आँसु पुछ्दै भनिन् । छोरी कालिपुलको बालमन्दिर आधारभूत विद्यालयमा कक्षा ४मा अध्ययरत छिन् । आवश्यक पोशाक, शैक्षिक सामगीको अभावममा सुस्मिता समेत नियमित विद्यालयमा जान पाएकी छैनन् । यता, बेनी अस्पतालका डा. सागर लामिछानेले क्यान्सर पीडित किसानको बेनी अस्पतालमा नियमित उपचार सम्भव नभएकाले क्यान्सर अस्पतालमै लैजानुपर्ने बताए । पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) भएकी महिलाले केमोथेरापी लिनुपर्ने भएकाले रगत चढाउनुपर्ने र सामान्य उपचार अस्पतालमा भइरहेको बताए। नियमित परीक्षण र तुरुन्त उपचार हुने रोगले जटिल रूप लिँदै जाने भएकाले उपचारका लागि आर्थिक जुटाउन आवश्यक रहेको डा.लामिछानेको भनाई छ ।





