बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खाडीबाट मृगौला खराबीको खबर पठाएका चित्र घर आउँदा श्रीमती गायव

खाडीबाट मृगौला खराबीको खबर पठाएका चित्र घर आउँदा श्रीमती गायव


  • हरिकृष्ण गौतम
  • मंसिर २५ २०७७, बिहिबार

म्याग्दी, २५ मंसिर– म्याग्दीको मालिका गाउँपाकिला–१ निस्कोट जुवाङका चित्रबहादुर पुनले खाडीबाट श्रीमतिलाई मृगौलामा खराबी देखिएको जानकारी दिएको एक महिनामै श्रीमतीले दोस्रो विवाह गरिन् ।
गतवर्षको भदौमा खाडीबाटै श्रीमतीलाई आफ्नो मृर्गौलामा खराबी देखिएको जानकारी गराएका चित्रबहादुर घर फर्किने जानकारी पाएपछि दुई छोराछोरीलाई छोडेर अन्यत्रै गइसकेकी थिइन् ।
दुई वर्ष साउदी र दुई वर्ष कतारमा कमाएको पैसा सबै श्रीमतीकै नाममा पठाउने गर्थे । अहिले उनीसँग न पैसा छ न त श्रीमती नै । सानो झुप्रोमा बस्दै आएका बृद्ध बुबा, छोराछोरीलाई बिचल्लीमा पारेर गतवर्षको असोज महिनामा परपुरुषसँग घरबारै छाडेर अन्यत्र गएकी श्रीमतीलाई करिब ६ महिना खोज्दा पनि चित्रबहादुरले फेला पार्न सकेनन् ।
वैदेशिक रोजगारबाट फर्किदा श्रीमतीलाई पठाएको करिब २० लाख नगदको हिसाबकिताबसमेत उनले पाएनन् । बरु, विदेश जाँदाको ऋणको भारी अझै बोक्दैछन् ।
मृर्गौला रोगी श्रीमानलाई आफ्नै मृर्गौला दिनुपर्ने भन्दै छिमेकी र आफन्तलाई जानकारी दिएर एक्कासी घरबाट सम्पर्कविहीन भएको चित्रबहादुरको गुनासो छ । ‘रोग लागेको थाहा पाएपछि श्रीमतीले साथ छोड्नि, अत्तोपत्तो नभएपछि खोजी गर्दा मृगौला दिनुपर्छ भन्ने त्रास रहेछ’ उनले भने ।


‘हाम्रो सम्बन्ध मृगौलामा खराबी आएसँगै टुटेको छ, अब छोराछोरी कसरी पाल्ने चिन्ता छ’ उनले भने । घरपरिवारका लागि सुन्दर सपना देखेर विदेश गएको अवस्थामा रोगसँगै फर्किएको चित्रबहादुरले कमाएको पैसा समेत हिनामिना हुँदा डायलासिस गर्ने खर्चको अभावमा सहयोगको याचना गर्नुपर्ने अवस्थामा पुगेको बताए ।
श्रीमान रोगी भएपछि श्रीमतीले साथ दिनुपर्नेमा दोस्रो विवाह गरेर भागेको उनको गुनासो छ । ‘मेरो दुःखमा साथ दिनुपर्ने अवस्थामा श्रीमतीले नै छोडेर गइन्, दुई छोराछोरीसहितको परिवारको पालनपोषणका लागि पनि बाँच्ने रहर छ’ चित्रबहादुरले भक्कानिदै भने ।
चरम गरिबीका कारण ३ वर्षीय धिरन, ८ वर्षीया ज्ञानु पुनले पेटभरी खानसमेत पाउँदैनन् । ८० वर्ष नाघेका वृद्ध लालबहादुरले छिमेकी र आफन्तलाई मागेर खुवाउनुपर्ने बाध्यता छ । गरिबी काकारण कैयौं रात भोकै सुत्नुपरेको छ । छोरालाई जटिल रोग र बुहारीले दूध चुस्ने बालकलाई समेत छोडेर गएपछि बृद्ध लालबहादुरलाई अग्लो पहाड खसेर थिचेजस्तै भएको छ । उनले आँखासमेत देख्दैनन् । जीवन मरणको दोसाँधमा पुगेका चित्रबहादुरलाई छोराछोरीको शिक्षादीक्षासँगै गाँसबासकै समस्या छ ।
धिरन र ज्ञानु पुनलाई कापीकलम, खाने अन्न र लगाउने कपडा नहुँदा समस्या भइरहेको छ । ‘घरको अन्नबालीले खान पुग्दैन, भोको पेट र शिक्षादीक्षा कसरी गने चिन्ता छ’ स्थानीय भबहादुर पुनले भने । चित्रबहादुरको उपचारका लागि स्वदेश–विदेशमा रहेका निस्कोटबासीले सहयोग गरेका छन्भने छोराछोरीको शिक्षादीक्षाका लागि समेत अभियान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->