पोखरा, २५ मंसिर– पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थानमा स्थानीयले रोक लगाएका छन् । पोखरा–१४ चाउथे अवस्थित ल्याण्डफिल्ड साइडमा मंगलबारदेखि फोहोर व्यवस्थापन गर्न स्थानीयले रोक लगाएका हुन् ।
तत्कालिन पोखरा उपमहानगरपालिका र वडा १८ का स्थानीय बिच भएको २८ बुदे सम्झौताको कार्यान्वयन नभएको भन्दै स्थानीयले विरोध गर्दै अनिश्चितकालका लागि फोहोर व्यवस्थापनमा रोक लगाएका हुन् ।
ल्याण्डफिल्ड साइट प्रभावित जनसरोकार समितिले बारम्बार सम्झौता कार्यान्वयन गर्न आग्रह गरेपनि महानगरले बेवास्ता गरेको भन्दै आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको समितिका अध्यक्ष बोधबहादुर कार्कीले बताए । गएको सोमबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जि.सीलाई ध्यानाकर्षण गराएपनि कार्यान्वयन नभएको भन्दै माग पुरा नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने अडान स्थानीयले लिएको कार्कीले बताए ।
२०५७ साल भदौ १३ गते उप महानगर र स्थानीय विच २८ बुदे सहमति भएको थियो । सहमती अनुसार नगरपालिकाबाट छुट्याएको २ प्रतिशत रकममध्ये १० प्रतिशतसम्म बजेट स्थानीय क्लबहरुले बाताबरण, स्वास्थ्य र शिक्षाको क्षेत्रमा अधिकार सम्पन्न नगर स्तरिय बाताबरण समितिमा योजना पेश गरि कार्यान्वयन गराउने भनि निर्णय गरिएको थियो । तर सोहि रकम जनप्रतिनिधि आएपछि अन्यन्त्र पारेको स्थानियको गुनासो छ ।
यस्तै सम्झौता अनुसार, ल्याण्डफिल्डमा फोहोर व्यवस्थापनको लागि फोहोर लिएर आउने साधनले फिनेल लगायतले गाडि सफा गरि सुख्खा बनाइ ल्याउने सम्झौता भएको थियो तर अहिले ती सम्झौता कार्यान्वयनमा नआएको स्थानीयहरुले बताए । ‘२८ बुदे सम्झौतालाई पोखरा महानगरपालिकाले पटक–पटक उल्लंघन गरि हामी ल्याण्डफिल्ड साइट प्रभावित बासिन्दाहरुलाई धोका दिदैँ आफ्नो अभिष्ट पुरा गर्दै आएको स्थिति छ ।
सम्झौता अनुसार उपलब्ध गराउने भनिएको विकास निमार्णका लागि प्राप्त हुने रकमसमेत निरन्तरतामा आलटाल गरि विकास निमार्ण समेत प्रभावित पारिएको छ’ अध्यक्ष कार्कीले भने । आफुहरुको माग पुरा नभए थप आन्दोलनमा जाने र यसको परिणाम महानगरले भोग्नुपर्ने स्थानीयहरुले चेतावनी समेत दिएका छन् ।
ल्याण्डफिल्डमा जाने बाटोमा तगारो लगाइ सवारी रोक्ने काम भइरहेको छ । महानगरले उठाएको फोहोर त्यहिँ लगेर व्यवस्थापन गर्दै आइरहेको छ । समयमै फोहोर व्यवस्थापन नहुने हो भने सहर दुर्गन्धित हुनेछ ।
त्यस्तै स्थानीय इन्द्रमाया बानियाले जनप्रतिनिधि नहुँदा सम्झौताको कार्यान्वय हुनेगरे पनि जनप्रतिनिधि आएपछि भने कार्यान्वयन नभएको बताइन् । महानगरले वातावरणको समेत मापदण्ड पुरा नगरी अव्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्दै आइरहेको उनले बताइन् ।




