बेनी, २५ मंसिर– मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, थोत्रा कपडा लगाएर धुलाम्मे अवस्थामा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रवेश गरेका रघुगंगा गाउँपालिका–१ बेगखोलाका ७५ वर्षीय ओमबहादुर फगामीलाई सेवाग्राहीको भीडबाटै प्रजिअ उमाकान्त अधिकारीले आफ्नो कार्यकक्षमा लगे । म्याग्दी र मुस्ताङको भेडीगोठमा पाँचदशक बिताएका फगामीलाई प्रजिअले आफ्नै कक्षमा राखेर नागरिकताको प्रमाणपत्र मात्रै दिएनन्, परिवारकै सदस्यजस्तै बनेर गोठालोको अनुभवसमेत सुने ।
उमेरले आफै डाँडामाथिको घामजस्तै अवस्थामा पुगेको अवस्थामा पुगेका फगामी पहिलोपटक प्रशासनमा सेवाका लागि प्रवेश गरेका थिए । फगामीजस्तै वृद्धवृद्धा, अपाङ्ग, असहायसँग प्रजिअ अधिकारीले दैनिकजसो आफ्नै कार्यकक्षमा भेट्छन् ।
जिल्ला प्रशासनको प्रवेशद्धारदेखि सेवाग्राहीले सेवा लिने स्थानसम्म विभिन्न सेवा सुविधाहरू थपिएपछि सेवाग्राहीलाई सहज भएको छ । राहदानी, नागरिकता, संस्था दर्ता तथा नवीकरणलगायत सेवा लिने कक्ष बाहिर सहायता कक्ष र वाइफाइको सुविधा छ । सेवाग्राहीले आफ्नो सेवामा कुनै समस्या आएमा सिधै प्रजिअलाई सुनाउन सक्नेगरीसंरचना तयार गरिएपछि सेवाग्राही समेत उत्साहित छन् ।
नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउन भन्दै प्रशासनले प्रवेशद्धारमा नै सेवाग्राहीको लागि सहायकता, स्तनपान कक्ष, पत्रपत्रिकालगायत सन्देशमुलक जानकारी दिने साम्रगीहरु समेत राखिएको छ । दुर्गम क्षेत्रबाट आएका सेवाग्राहीलाई प्राथमिकता दिने गरिएकोमा सेवाग्राहीसमेत सन्तुष्ट छन् ।

‘प्रजिअले नै दाईलाई आफ्नो कार्यकक्षमा लैजाँदा डर लागेको थियो, दुर्गम र समस्या हेरेर पहिलो प्राथमिकतामै काम गरिदिनुभयो’, बेगखोलाबाट आएका फबहादुर फगामीले भने । उनले कार्यालय अगाडी प्रहरी, कर्मचारी र भीडभाड देखेर प्रवेश गर्न आनकानी गरेका ओमबहादुरले प्रजिअसँग खुलेर कुराकानी गदैं फर्किएको सुनाए ।
यता, प्रजिअ अधिकारीले सेवाग्राहीलाई मुस्कानसहितको सेवा र सेवामैत्री कार्यालयको सुरुवात प्रशासनबाटै गरिएको बताए । ‘सेवा लिन आउनेलाई प्रक्रियामा झन्झट पारेमा सिधै मेरो कार्यकक्षमा आउन सक्ने बनाएको छ, सेवाग्राहीसँग मुस्कानसहित नम्र व्यवहारमा कर्मचारीलाई विषेश ध्यान दिननिर्देशन गरेको छु’ प्रजिअ अधिकारीले भने ।
प्रशासनबाट प्रवाह हुने सेवाप्रवाहमा निबेदनहरु लेखेवापत निःशुल्क, विचौलियाहरुले बिभिन्न बहानामा ठग्ने प्रबृत्तिको अन्त्यका लागि कर्मचारीबाटै सहयोग गर्ने गरिएको बताए । उनले हरेक कक्षबाट सेवाप्रवाहसँगै आफ्नो कक्षलाई सेवाग्राही सन्तुष्ट बनाउने कक्ष बनाएको बताए । सेवाग्राहीले घरबाटै आफूले लिने सेवाबारे जानकारी लिन सक्ने उनले बताए ।





