बेनी, २७ मंसिर– पर्वतको जलजला गाउँपालिका–३, पुरानो बसपार्क निर्माणधिन एक घरमा प्रयोग गरिएको एड्भान्स सिमेन्ट प्रयोग गरिएको पिल्लर भत्किएको छ । अरनिको सिमेन्ट इन्डष्ट्रिज प्रालिद्वारा उत्पादित एड्भान्स प्लस सिमेन्टको प्रयोग गरी निर्माणधिन अवस्थामा रहेको दुई तले पक्की घरको पिल्लर तीनदिनसम्म ‘सेटिङ’ नभएको घरधनी खिमानन्द कँडेलले बताए । ‘पिल्लरबाट सबै सिमेन्ट खसेको छ,‘विक्रेतालाई पनि बोलाएर देखाएको छु’ कँडेलले भने । पिल्लर ‘सेटिङ’ नभएपछि अर्को कम्पनीको सिमेन्ट प्रयोग गर्दा भने कुनै समस्या नआएको कँडेलले बताए ।
‘घर निर्माणमा लामो अनुभव भएका मिस्त्रीहरूलाई प्रयोग गरिएको छ,‘केही अन्य घरमा पनि यस्तै भएको सुनेको छु’ उनले भने । पिल्लरमा मापदण्ड अनुसारको सिमेन्ट, बालुवा लगायतका अन्य निर्माण साम्रागीको प्रयोग गरिएको बताए । निर्माणधिन अवस्थामा रहेको घरको पिल्लरमा प्रयोग गरिएको सिमेन्टको सरकारी ल्याबमा परिक्षण गराउन समेत कँडेलले माग गरेका छन् । उनले करिब एक सातासम्म ८ जनाको ज्याला, २५ बोरा सिमेन्ट, बालुवा, गिटी लगायतको साम्रागीमा करिब डेढ लाखभन्दा धेरै खर्च भएको बताए । उनले सिमेन्ट गुणस्तरहिनका बारेमा विक्रेता समेत सहमत भएको र बाँकी सिमेन्ट फिर्ता लैजाने र क्षतीपुर्तीका लागि समेत पहल गर्ने प्रतिबद्धता जनाएको बताए । करिब साढे एकदशक देखि घर निर्माणको क्षेत्रमा मिस्त्रीको रुपमा कार्यरत प्रेम राईले सिमेन्ट गुणस्तरहिन भएको बताए । ‘मैले घर बनाउन लागेको १५ बर्ष भयो,‘अहिलेजस्तो समस्या भोग्न परेको थिएन’ राईले भने ।
उनका अनुसार पिल्लरमा प्रयोग गरिएको सिमेन्ट ‘सेटिङ’ नहुदाँ शंका लागेको बताए । सिमेन्टमा एमजीओको मात्रा बढी भएकाले गिट्टी, बालुवालाई राम्रोसँग नसमात्ने र सुके लगत्तै फुट्ने वा चर्कने गरेको बताए । उनले ओपिसी सिमेन्टमा सबैभन्दा सस्तो भएकाले धेरै घरहरुमा एड्भान्सको प्रयोग गर्न थालेको अवस्थामा गुणस्तरको परीक्षण गरेर मात्रै प्रयोग गर्नुपर्ने अवस्था आएको बताए । एड्भान्स सिमेन्टलाई प्रति बोरा ७ सय ३० रुपैयाँमा विक्री गर्ने गरिएको छ । यता जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बजार अनुगमनको टोलीलाई खटाउने बताए । ‘नमुना संकलन गरी सिमेन्टको गुणस्तर परीक्षण गर्न सकिन्छ,‘कमसल भेटिएमा बिक्री रोक्न समेत निर्देशन दिन्छौ’ शर्माले भने । यसअगाडी गुणस्तर तथा नापतौल विभागले देशको विभिन्न जिल्लामा गरेको परीक्षणमा समेत विभिन्न जिल्लामा अरनिको सिमेन्ट इन्डष्ट्रिजको एड्भान्स सिमेन्टमा सिमेन्टको नेपाल गुणस्तर मापदण्डभन्दा कमसल अवस्थामा भेटेको थियो ।उक्त कम्पनीका सिमेन्टमा खराबी फेला पर्न साथ ओपिसी र पिपिसीका सम्पूर्ण उत्पादन बजारबाट फिर्ता लिई बिक्री वितरण बन्द गर्न निर्देशन दिएको थियो । सहरबजार देखि ग्रामिण क्षेत्रमा माग बढेसँगै सिमेन्ट कम्पनीको सस्तो र विभिन्न उपहारको होडबाजीले सर्वसाधारण गुणस्तरहिन सिमेन्ट प्रयोग गर्न बाध्य छन् ।





