तनहुँ, २९ मंसिर– नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले ओली सरकारलाई संविधानको एउटै धारा २९८ प्यारो रहेको टिप्पणी गरेका छन् ।
मंसिर १७ गते तनहुँको व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने तालघरे दुम्सीचौर सडकखण्ड अन्तर्गत बुल्दी खोलामा बनेको पक्की मोटरेबल पुल उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको बिरोधमा सोमबार दमौलीमा आयोजित बिरोध सभालाई सम्बोधनको शुरुवातमै गर्जदै रिजालले भने, ‘ओली सरकारलाई संविधानको एउटै धारा प्यारो छ, । त्यो २९८ धारा, जसबाट प्रधानमन्त्री ओली निर्वाचित भएका थिए ।’
उनले अन्तरमि व्यवस्थामा संविधान बनाउने क्रममा पटकपटक बैठमा बसको स्मरण गर्दै अगाडी थपे, ‘ओलीका मानिसहरुलाई संविधानका कुनै धारासंग मतलब थिएन् । ओलीलाई सधैँ संविधान जारी भएपछि एक हप्ताभित्र संसदको अधिवेशन बोलाउने र त्यो एक हप्ता भएपछि प्रधानमन्त्री छान्ने, त्यो बाहेक अर्को कुनै धारा ओलीका लागी आवश्यक थिएन् ।’
नेपाली कांग्रेस संविधानको हरेक धारा जोगाउनलाई प्रतिबद्ध भएर उभिएको उनको दाबी छ । ६० बर्षभन्दा लामो संघर्षबाट प्राप्त संविधानको धारा–धारामा शहिदको रगत मिसीएको उनले सुनाए । कुनैपनि हालतमा संविधानको व्यवस्था बदल्न नदिने जिकिर थियो ।
संसदमा नेकपाको दुई तिहाई बहुमत भएपनि जनताको भने झिनो मतले कांग्रेस पराजित भएको नेता रिजालले दाबी गरे । संसद अधिवेशनमा शक्तिशाली मानिएका ओली संसद अधिवेशन अन्त्य गरेर संसदबाट भागेको उनले आरोप लगाए । उनले कांग्रेसलाई सत्ताभन्दा जनता प्यारो भएको उल्लेख गरे ।
बुल्दी खोला पुल उद्घाटनको क्रममा निषेधाज्ञा जारी गर्दै सिडियोले मण्डलेतन्त्रलाई सघाएको आरोप लगाए । सिडिओको व्यवहार गर्न उनको निर्देशन थियो ।
मंसिर १७ गते तनहुँमा पौडेल माथी भएको धरपकडको बिरुद्धमा कांग्रेसको केन्द्रिय समितिले ७७ जिल्लामै बृहत प्रदर्शनसंगै बिरोध सभा गरेको छ । तनहुँमा भएको बिरोधसभामा कोरोना संक्रमणको कहर भुलेर गाउँ–गाउँबाट कांग्रेस समर्थक दमौली बजार ओर्लिएका थिए । दमौलीस्तिथ नेपाली कांग्रेसको जिल्ला कार्यायलबाट निस्किएको बिरोध ¥याली खुलामैदानमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागीले कांग्रेसको झण्डा फहराउँदै ओली सरकार बिरुद्ध चर्को नारा लगाएका थिए ।





