दमौली / तनहुँको आँबुखैरेनी गाउँपालिका-६ डुम्रीडाँडास्थित भित्री सडकखण्डमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई पछाडि सरेर करिब ७ मिटर तल नालीमा खसेको थियो।
साँझ करिब पौने ६ बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएकी आँबुखैरेनी-६ खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङको उपचारका क्रममा आँबुखैरेनी अस्पतालमा साँझ ६:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपमा सवार ८ जनामध्ये घाइते भएका अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरू सबै खापस्वाराकै स्थानीय बासिन्दा हुन्।
प्रहरीका अनुसार घाइते ४९ वर्षीय तोकबहादुर गुरुङ, ६९ वर्षीय वकुलाल गुरुङ र १६ वर्षीया रिश्मा गुरुङको अवस्था मध्यम छ। यस्तै, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्विका गुरुङ र ३५ वर्षीय सानो कान्छा गुरुङ सामान्य घाइते भएका छन्।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदिप सुवेदीको कमान्डमा ट्राफिकसहित १० जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले चालक आँबुखैरेनी-६ हिलेखर्कका ३३ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको छ।





