बेनी, १ पुस– कोरोना महामारीका कारण झन्डै ८ महिनादेखि बन्द रहेको म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित गलेश्वर शिवालय मन्दिरपुस १ गतेदेखि भक्तजनका लागि खुल्ला गरिने भएको छ। काठमाण्डौको पशुपतिनाथ मन्दिर खोल्ने निर्णयसँगै गलेश्वर मन्दिरमा भक्तजनलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी खोल्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुलीले बताए । ‘जनस्वास्थ्यको मापदण्ड प्रयोग गरी खोल्ने तयारीमा छौ,‘मन्दिरमा आउने भक्तजनहरु बाटोबाटै फर्किनुपरेको थियो,‘मास्क नलगाई आउनेलाई मन्दिरमा प्रवेश दिइनेछैन’ पन्डित पराजुलीले भने । उनले मन्दिरमा विशेष पूजा, भजनलगायत क्रियाकलाप नहुने गरी भक्तजनलाई खुल्ला गरिने बताए ।
कोषले मन्दिरको प्रवेशद्धार, ठाँउठाँउमा स्यानिटाइजर, साबुनपानी, भौतिक दुरी कायमका साथै भीडभाड हुन नदिने गरी खुल्ला गर्ने जनाएको छ ।मानिसहरु कोभिड संक्रमणको जोखिमको प्रवाह नगरी मन्दिरमा आउन थालेपछि लामो समयसम्म मन्दिरको मुल गेट नै बन्द गरिएको थियो । यता म्याग्दीमा प्रजिअ उमाकान्त अधिकारीले सम्बन्धित मन्त्रालयको निर्णय अनुसार नै मन्दिरमा पूजाआजाका लागि खुल्ला गर्न सकिने बताए । ‘जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ,‘विषयगत मन्त्रालयको निर्णय अनुसार सञ्चालन गर्न सकिन्छ,‘हामीले आवश्यकता अनुसार अनुगमन गर्छौँ’ कोषका संरक्षक समेत रहेका प्रजिअ अधिकारीले भने ।
मन्दिरभित्र प्रवेश गर्ने र निस्कने ढोका फरक हुन्छ । मन्दिरमा बालाचतुर्दर्शीमा भक्तजनहरु आएका थिए । कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ । मन्दिरमा नेपालका विभिन्न जिल्लाका साथै भारत लगायत हिन्दु धर्मालम्बी भएका देशहरुबाटसमेत वर्षेनी हजारौं भक्तजन दर्शनका लागि आउने गरेका छन् ।





