नवलपुर, २ पुस– मध्यबिन्दुको तम्सरिया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा उपभोक्ताले तालावन्दी गरेका छन् । ४ बर्षसम्म पनि संस्थाको अबिधेशन नभएकाले समिति नै अबैधानिक भएको भन्दै उपभोक्ताले आज (बुधवार) अनिश्चितकालिन तालावन्दी गरेका हुन् ।
उनीहरुले कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरुको राजिनामासँगै तुरुन्त निर्वाचन मण्डल गठन गर्नुपर्ने माग राखेका छन् । निर्वाचन मण्डलमार्फत् अविलम्व अबिधेशन गराउन दवाव दिएका छन् ।
खानेपानी संस्थाको ब्यवस्थापन बिग्रदै गएको र मिटर रिडिङमा पटक–पटक त्रुटि गर्दै अस्वभाविक महशुल आउँदा उपभोक्तामा आर्थिक आतंक समेत छाएको आरोप लगाएका छन् ।
संस्थाको प्रशासनिक भवनमा तालाबन्दी गरिएकाले खानेपानी बितरण प्रणालीमा भने कुनै पनि अवरोध नगर्ने कार्य समितिको विरोधमा उत्रेका उपभोक्ताले बताएका छन् ।





