पोखरा, २ पुस– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिले कांग्रेस सत्तामा जानु आत्महत्या सरह भएको बताएका छन ।
‘जहाँसम्म सत्तामा जाने कुरा छ सत्तामा कांग्रेसलाई ५ वर्षसम्म जनताले प्रतिपक्षिमै बस भनेका छन्’,बुधबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रमार सम्मेलनमा बोल्दै उनले भने,‘सत्तामा बसेकाहरुले जुन फोहोर थुपारेका छन् त्यो फोहोरको सहभागी हुन कांग्रेस सत्तामा जानु भनेको आफ्नो निम्ति आत्महत्या हुन्छ कांग्रेस सत्तामा जादैँन । प्रमुख प्रतिपक्षिकै रुपमा रहन्छ ।’
फरक प्रसंगमा बोल्दै नेता केसीले राष्ट्रपति विद्यादेवी भण्डारीले जारीको गरेको अध्यादेश लोकतन्त्र विपरित रहेको बताउँदै उनले अध्यादेश विधि र विधानसँग मेल नखाएको जिकिर गरे । ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख प्रमुख प्रतिपक्षि दलका नेतालाई सम्मिलित गरेर संवैधानिक परिषद्को व्यवस्था गरियो र अहिलेको अध्यादेशमा त्यस्तो संवैधानिक व्यवस्था भएन । कमसेकम ६ जनाको व्यवस्था गरेको ठाउँमा ४ जना अनिवार्य रुपले कोरम पु¥याउने संवैधानिक व्यवस्था एकातिर थियो भने अर्कोतिर निर्णय सहमति प्रक्रियाबाट’, उनले भने,‘ त्यो सबै तोडेर ६ जनामा ३ जनाको उपस्थिति छ भने २ जनाले निर्णय गरेको जुनखाल्को अध्यादेश आएको छ । यो लोकतन्त्रको आधारभुत संस्थाहरुलाई धोस्त गर्नेमात्र हो ।’ केही महिनाअघि पनि यस्तै विधेयक ल्याएको र अहिले पनि त्यस्तै विधेयक ल्याउँदा लोकतन्त्रमाथि नै चुनौति दिएको उनले बताए । सर्वसत्तावाद सरकारको कारण देशमा गम्भीर परिस्थितिको सृर्जना भएको बताउँदै उनले कांग्रेसले यसको समर्थन कदापि नगर्ने स्पष्ट पारे । उनले कांग्रेससँग अहिले महाधिवेशन सम्पन्न गर्ने र लोकतन्त्रमाथि भएको प्रहारको चुनौतिको सामना गर्न आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने बाध्यात्मक स्थिति आइलागेको बताए ।
महाधिवेशन छलफलको विषय हो । अहिले कांग्रेसले भित्र सबैको सहमति हुनसक्यो भने कम्तिमा एक डेढ वर्ष पुरानै महाधिवेशनले बनाएका कार्यसमिति र अन्य इकाईलाई संचालन गर्न सकिने तर्क पनि उनले गरे ।




