बेनी, ३ पुस– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रन्जित तामाङले वर्तमान सरकार माफियाको घेरामा परेको गम्भीर आरोप लगाएका छन् ।
‘बालुवाटार माफियाको घेराबन्दीमा छ, उनले भने, ‘सबै सुधारका योजनाहरु बालुवाटारबाटै गायव हुन्छन् ।’
तामाङ शुक्रबार म्याग्दीको बेनीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थिए । अनेरास्ववियू क्रान्तिकारी म्याग्दीका पूर्व उपाध्यक्ष यामनाथ पौडेलको श्रद्धान्जली सभामा सहभागिहुन म्याग्दी आएका तामाङले आयोजना गरेको पत्रकार सम्मेलन ओली पक्षधर विद्यार्थी नेताहरु भने बहिष्कार गरे । अनेरास्ववियु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सशक्त भातृ संगठन मध्येको एक हो ।
उनले उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले आलटाल गरेको आरोपसमेत लगाए । प्रधानमन्त्री ओलीले अनियमितता र भ्रष्ट्रचारको आरोपमा फसेका आफ्ना निकटका नेताहरुलाई संरक्षण गरेको जिकिर पनि गरे । अर्का अध्यक्ष प्रचण्डले एकताको क्रममा गरेको सम्झौता र सहमतिलाई बिर्सेर ५ वर्षसम्म प्रधानमन्त्रीमा ओलीलाई गरेको समर्थनलाई कमजोरी सम्झिएर ओलीले मनपरि गरेको उनको भनाई थियो ।
तामाङ त्यत्तिमै रोकिएनन् । उनले पार्टी एकताको मर्म, भावना र निर्वाचनमा जनतालाई दिएको प्रतिबद्धता पूरा गर्नेतर्फ सरकारले ध्यान केन्द्रीतगर्न नसकेको जिकिर पनि गरे ।
‘एकताको मर्म अनुसार प्रधानमन्त्री चल्न सक्नुभएको छैन’, उनले भने,‘पार्टी भित्रको बहस सरकारलाई सही दिशामा लैजान केन्द्रीत छ ।’ उनले मेट्रो रेल, ठूला योजनाबना उनुभन्दा पहिले जनताको न्यूनतम आवश्यकता पूरा गर्नेतर्फ सरकार केन्द्रीत हुनुपर्ने बताए । ‘सरकारले मनपरी गर्न पाउँदैन्, विधिबाट सरकार चल्न नसके ठूलो दुर्घटना हुन्छ’, तामाङले भने ।
उनले पार्टीको एकताकालागि अखिल क्रान्तिकारीले ठूलो त्याग गरेको बताउँदै प्रधानमन्त्री विभिन्न किसिमका माफियाको घेराबन्दीमा रहेको बताए । ‘अहिलेको शैक्षिक समस्याको करिब ९० प्रतिशत समाधान प्रतिवेदन भित्र छ, ‘शैक्षिक माफियाको दवावमा कार्यान्वयन हुन सकेको छैन’ तामाङले भने ।
उनले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क गरी निजी विद्यालय बन्द गर्नुपर्ने सुझाव सरकार गठित विज्ञटोलीले दिए पनि चन्दा र ठूला आर्थिक प्रलोभनले प्रधानमन्त्रीबाटै कार्यान्वयन हुननसकेको गम्भीर आरोप लगाए । ३२ पृष्ठ लामो मस्यौदालाई शिक्षामन्त्रीले कार्यान्वयनमा दवाव दिँदासमेत प्रधानमन्त्रीबाटै असहयोग भएको तामाङको आरोप छ । ‘सरकारलाई सुध्रिएर जनताको पक्षमा कामगर्न अनुरोध गर्छु, ‘विद्यार्थी आन्दोलनका हरेक सफलताहरु सरकारकै कारण ओझेलमा परेको छ’, तामाङले थपे । उनले पार्टीको एकताको उद्देश्य प्रधानमन्त्रीलाई मनोमानी गर्न दिने नभई जनताको भावना र आवश्यकता अनुसार कामगर्नु भएको बताए ।





