बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

वन समिति गठनमा एकलौटीको आरोप, निर्णय वदर गर्न माग

वन समिति गठनमा एकलौटीको आरोप, निर्णय वदर गर्न माग


  • खगेन्द्र पराजुली
  • पुष ४ २०७७, शनिबार

नवलपुर, ४ पुस– नवलपुरको एक सामुदायिक वनको सञ्चालक समिति चयन बिवाद बढ्दै गएको छ । मध्यबिन्दु नगरपालिका वडा नं. ११ कुसुण्डेको सामुदायिक वनको सञ्चालक समिति गठन प्रक्रियामा नेपाली काँग्रेसले एकलौटी गरेको नेकपा निकट उपभोक्ताले आरोप लगाएका छन् । उनीहरुले अधिवेशनमार्फत नयाँ समिति चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाको तयारीमा हुदै गर्दा उम्मेदवार मनोनयन अवधिभर आफ्ना उम्मेदवारलाई बेपत्ता बनाई एकलौटी रुपमा समिति निर्विरोध भएको घोषणा गरेको भन्दै नवगठित सञ्चालक समितिको निर्णय वदर गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय नवलपुरमा ज्ञापन पत्र बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझेलगत्तै डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहन काफ्लेको संयोजकत्वमा छानविन गर्न निर्देशन भएको बताएकी छन् ।
आफूहरुलाई उम्मेदवार मनोयन गर्नै नदिएर घोषणा गरिएको निर्वाचन आफूहरुलाई स्वीकार्य नभएको नेकपा समूहले बताउँदै आएका छन् । ३ सय ७९ उपभोक्ता सदस्य रहेको जनजागरण सामुदायिक बनमा बहुमत उपभोक्ताको हस्ताक्षर संकलन गरि डिभिजन बन कार्यालय नवलपुर र जिल्ला प्रशासन कार्यालय नवलपुरमा समेत पेश गरेका छन् ।
नेकपाको समूहमा उम्मेदवार बनेका जीतबहादुर कुमाललाई नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष चन्द्रबहादुर दरैका छोरा जनक दरैले उम्मेदवार मनोनयन दर्ता अवधिभर बेपत्ता बनाएको नेकपा समूहबाट अध्यक्षका प्रत्यासी इमानसिंह बस्नेतले जिकिर गरेका छन् ।
मंसिर २० गते सामुदायिक वनको ८ औं अधिवेशनमा मुख्यतः नेपाली कांग्रेस र सत्तारुढ नेकपा समूहबीच दलीय भागबण्डामा रस्साकस्सी चलेको थियो । दुबै पक्षबीच सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । मतदानबाटै नयाँ समिति चयन गर्ने भएपछि निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवार मनोनयन दर्तासम्म आइपुग्दा एउटा समूहले अर्को समूहको उम्मेदवारलाई बेपत्ता बनाउनेसम्मको अवाञ्छनीय गतिविधि भएपछि यस्तो परिस्थितिमा स्वस्थ वातावरणमा निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन प्रक्रिया रोक्न निर्वाचन मण्डलसँग आग्रह गरेको बस्नेतले बताए ।
यता, निर्वाचनमा भाग नलिनेबारे निर्वाचन मण्डललाई निवेदन दिएका नेकपा समूहलाई पटक पटक बोलाउँदा पनि नआएकाले रित बमोजिम आफूले अन्तिम नामावली प्रकाशित गरेर मंसिर २७ गते निर्विरोध निर्वाचित सञ्चालक समिति घोषणा गरिएको निर्वाचन मण्डलका अध्यक्ष सूर्यप्रसाद भण्डारीले बताएका छन् ।
विवाद चर्किँदै गएपछि निर्वाचन मण्डलका ३ जनामध्येका एक सदस्य कृष्ण पाण्डेले सामाजिक तथा संस्थागत समितिमा उपभोक्ताहरुबाट आएका गुनासालाई विचार, विमर्श र छलफलबाट निचोडमा नपुर्याई निर्णय गर्दा आउने दिनहरुमा काम गर्न पनि अहसज हुने र नीतिगत रुपमा पनि गलत नजिर बस्दा दीर्घकालिन समस्या उत्पन्न हुन सक्ने भएकाले निर्वाचन समितिले बिवेक पुर्याएर निर्णय गर्न प्रस्ताव गर्दा बहुमतले पेलेरै समिति घोषणा गरेपछि निर्वाचन मण्डलबाट आफु बाहिरिएको बताएका छन् ।
तर निर्वाचित भनिएको कांग्रेस समूहले भने निर्वाचन समितिको प्रक्रियाबाटै आफूहरु निर्विरोध भएको दाबी गरेका छन् । सहमतिमा जान पनि नमान्ने चुनावमा पनि नजाने भएपछि निर्वाचन मण्डलले आफूलाई अध्यक्षमा निर्विरोध घोषणा गरेको कांग्रेस समूहका ज्ञानबहादुर दरैले दाबी गरेका छन् ।
निवर्तमान अध्यक्ष विमला सापकोटाका अनुसार सहमतिको प्रयास गरिए पनि विगतदेखि नै दलीय भागबण्डा हुने गरेको स्वीकार्दै रित बमोजिम निर्विरोध घोषणा गरिएकाले आफूले पद हस्तान्तरण गरिसकेको बताइन् । सापकोटा यसअघि दुई कार्यकाल कांग्रेस समूहको तर्फबाट नेतृत्वमा रहेकी थिइन् ।
शिक्षा, स्वास्थ्य, वन, खानेपानी तथा विभिन्न सामुदायिक संघ संस्थाहरुको नेतृत्वमा ओन राजनीतिक दलहरु हावी हुँदै गरहेका बेला अरुणखोलाको जनजागरण सामुदायिक वन उपभोक्ता समूहमा बहुमत सहितको एउटा ठूलै हिस्साले बिरोध गरेपछि वन समितिको कार्यसञ्चालन मात्र होइन, वन संरक्षणमा गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->