
पोखरा, ५ पुस– नेकपाको विवादले कार्यकर्तालाई समेत प्रभाव पारेको छ । केन्द्रीय स्तरमा देखिएको विवादको कारण अहिले ओलि गुटको भेला तथा छलफलहरु जिल्ला तथा स्थानीय तहमा व्यापक रुपमा हुदैँ गएको देखिन्छ ।
पार्टिभित्रै भएको द्धन्द्धको कारण अहिले आरोप–प्रत्यारोप समेत हुने गरेको छ । कुनै व्यक्ति निकट नरहेको बताउने मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको बिचार गोष्ठीमा भने ओलि निकट नेता तथा कार्यकर्ता मात्र देखिए । गोष्ठिमा सहभागी वक्ताहरुले पुर्वमाओवादीको कारणले नै पार्टीमा विवाद आएको जिकिर गरे । प्रधानमन्त्री तथा पार्टी सभापति केपी शर्मा ओलीले विश्वकै नमुना कार्य गर्दै दुई कम्युनिष्ट पार्टी एकता गराउने प्रयास गरेपनि अर्का अध्यक्ष प्रचण्डले अवसरवादी र अराजकता शैली देखाएको उनीहरुले आरोप लगाए ।
केन्द्रको विवाद स्थानीय तहमा पुग्दा यसले थप विवाद चर्काउने सम्भावना पनि देखिएको छ । नेकपाको विवादमा एकपछि अर्को जिल्लामा पुर्व माओवादि र पुर्व एमालेका नेता तथा कार्यकर्ताहरुबिच जुहारी चल्न थालेको छ । जनताले भोट दिएर दुई तिहाई बनाएको पार्टी जनताको चाहाना अनुरुप बन्न नसकेको मदन भण्डारी फाउन्डेसन कास्कीका अध्यक्ष माधव बास्तोलाले बताए । मुलधारका दुई पार्टीलाई एक गर्ने काम केपी ओलीले गरेको भन्दै उनले प्रचण्डको कारण एकता हुन नसकेको जिकिर गरे । सरकारले भ्रष्टचारी र दलालको संरक्षण गर्दै आन्तरिक द्धन्द्धमा मुछिँदा पार्टी विर्सजनतर्फ उन्मुख भएको उनको भनाई थियो । उनले पार्टी विसर्जन हुन पुगे नेताहरुलाई ठेगाना लगाउने चेतावनी समेत दिए । ‘आज म यही मञ्चबाट चेतावनी दिन चाहान्छु कि पार्टी विर्सजनको दिशामा गए नेताहरु जति ठेगाना लगाइन्छ’, उनले भने,‘पहिलो तहका नेताहरुको नेतृत्व अब समाप्त भयो ।’
मदन भण्डारी फाउन्डेसनका वडा–१० का अध्यक्ष राजु श्रेष्ठले केन्द्रमा नाटक मञ्चन भएको बताउँदै तत्कालै नेताको खटपट सुल्झाउन आग्रह गरे । शनिबार सम्पन्न सो बिचार गोष्ठीमा मदन भण्डारी फाउन्डेसनका सल्लाहकार दिलिपविक्रम शाहीले पूर्वमाओवादी अवसरवादी भएको कारण स्थानीय निर्वाचनमा कांग्रेससँग मिलेको र अहिले एमालेसँग मिलेको जिकिर गरे । । ‘कांग्रेससँग मिलेको पार्टी अस्तित्वको लागि एकीकरणमा आएको हो । प्रचण्डले अहिले आफ्नो चरित्र देखाएका छन् कांग्रेससँग मोर्चा बनाएर नेकपाको कार्यनीति र रणनीति विपरीत लागेका छन्’ उनले भने,‘प्रचण्डले अन्तरविरोधलाई सल्काउने काममात्र गरेका छन् । आफ्नै समकक्षीलाई प्रहार गर्नु प्रचण्डको गलत कदम हो ।’
नेकपाका केन्द्रिय सदस्य विनोद श्रेष्ठले प्रधानमन्त्री ओलीले रोजगार मुलक कार्यक्रम ल्याउँदै रोजगारको सृजना गरेको बताउँदै प्रचण्डलगायतका नेतालाई तत्काल कुनैप नि कार्यभारको जिम्मा दिन नसकिने बताए । ओली निकट रहेका उनले ओली नै प्रधानमन्त्री र अध्यक्ष हुनुपर्नेमा जोड दिए । सोही क्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवम् मदन भण्डारी स्पोर्टस एकेडेमीका गण्डकी प्रदेश संयोजक रमेश कुमार शिलवालले नेकपाको योजनामा प्रचण्ड बाधक बनेको जिकिर गरे । उनले पूर्वएमालेले ७० काटेका व्यक्तिलाई पदमा नल्याउने नीति बनाए पनि पूर्वमाओवादीसँग एकीकरण गर्दा त्यो नीति कार्यान्वयन गर्न नसकिएको जिकिर गरे । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष एवम् नेकपा केन्द्रीय सदस्य माधव ढुङगेलले पार्टी एकतामा आँच आउने किसिमको कुनैपनि काम नर्गन नेताहरुलाई आग्रह गरे ।




