पोखरा, ८ पुस– पछिल्लो दुई दिन यता राष्ट्रिय राजनीतिमा जुन किसिमको उथलपुथल आयो । यो सबैका लागि अनपेक्षित थियो ।
पार्टी एकताको स्वाद चाख्न नपाउँदै सत्तारुढ दल नेकपा अहिले दुई कित्तामा बाडिई सकेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र माधव – नेपाल कित्तामा बाडिएसँगै माधव नेपाल दोस्रो बरियताको अध्यक्ष चुनिएका छन् । यता, ओली पक्षले पनि आउँदो बैशाखमा हुने चुनावमा ५० लाख मत सहित विजयी हुने योजनामा छ ।
ओली पक्षको ११९९ सदस्यीय महाधिवेशन आयोजक समितिमा कास्कीका ८ नेता थपिएका छन् । केही राष्ट्रिय राजनीतिमा नौला अनुहार हुन् । निर्वतमान प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, प्रदेश सभा सदस्य राजीव पहारी, कृष्ण थापा, प्रभा कोइराला, रश्मी आचार्य, बेदबहादुर गुरुङ(श्याम), पुण्य पौडेल र दामोदर बैरागी ओली पक्षमा कास्कीबाट चुनिएका केन्द्रिय सदस्य हुन् ।
अघिल्लो उपचुनावमा विजयी बनेर प्रतिनिधि सभामा डेब्यु गरेकी विद्या भट्टराईले पुग नपुग १ वर्ष नपुग्दै निवर्तमान सांसद बन्न पुगिन् । कुराकानीमा भट्टराईले अनपेक्षित परिणाम हाम्रो सामुन्ने आई पुगेको बताइन् । ‘संसद विघटन हुनु सबैका लागि दुखद हो । किनकी, कुनै पनि व्यक्ति जनताको अभिमतबाट विजयी हुनु भनेको सानो कुरा होइन । हामी त जनताका प्रतिनिधी मात्र हौ । जनअभिमत लिएर मात्रै हामी आएका हौ नि त,’ उनले भनिन् ।
५ वर्षको लागि गरेको प्रतिबद्धता बिचैमा टुंगिनु दुखद रहेको उनको टिप्पणी छ । यद्यपि, उनको एक वर्षमै आफ्नो कार्यकाल टुंगिएको छ । ‘जनताबाट त्यत्रो जिम्मेवारी लिएर पूरा गर्छु भनेर आएको बिचमै अन्त्य हुनु दुखद हो । तर, यो अवस्थासम्म आई पुग्न, त्यो एक दिनको घटना मात्रै हेर्नुभन्दा दल भित्रको बेमेल, जनउत्तरदायि क्रियाकलाप गर्नुपथ्र्यो,’ उनले भनिन्, ‘त्यो नगरेको कारण आयो भन्छु मैले । एक्सनको रुपमा त्यो देखियो । एक्सनमा पुग्न थुप्रो क्वेन्सिक्वेन थिए, जसकारण यो दुर्घटनाग्रस्त ठाउँमा आई पुग्यौं ।’
यसअघिका राजनीतिक घटनाक्रममा पनि राजनीतिक दलहरुले व्यहोर्दै आएको बताउँदै उनले ति दुखद अवस्थाहरुलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने जिकिर गरिन् । ‘आम जनतालाई के भन्न चाहन्छु भने एक वर्ष भित्र मैले जति गरें । त्यो अभिमतलाई तपाईंले मुल्यांकन गर्नु भएको छ । मैले निर्वाचन जितेर आएको दुई, तीन महिनाभित्रै कोभिड महामारि सुरु भयो । जनतासँग भेटघाट, अन्र्तक्रिया सहज रुपमा गर्न पनि कमी भयो होला,’ उनले भनिन्, ‘यहाँहरुले मुल्यांकन गर्नु भएको होला । त्यो मुल्यांकन यहाँहरुकै हातमा छ । संसद विघटन भए पनि जनताहरुकै मनमा छु ।’
निराश हुने भन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरेर अघि बढ्ने भन्नेमा राजनीतिक दलका नेताहरु सोच्नुपर्ने उनको भनाई छ ।
तपाईंलाई फेरि उम्मेदवारको रुपमा चुनावी रिङमा देख्न पाइन्छ त भन्ने हाम्रो प्रश्नमा उनले पार्टी जनताका लागि राम्रो कार्यदिशा र उद्देश्य बोकेर हिँडे व्यक्ति ठुलो कुरा नहुने उनले जिकिर गरिन् । ‘त्यो कुरा पछिको भयो । वर्तमानमा भविष्यको कुरा नगरौं । अहिलेको राजनीतिभित्र जुन किसिमको अवस्था आएको छ । यो अवस्थालाई राजनीतिक मुल्य मान्यता एउटा खालको राजनीतिक नेतृत्वको कुशलताको हिसाबले कसरी अघि बढाउने भन्ने विषयमा ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘त्यही कुरामा लागौं । हामी विभाजित हुनेभन्दा सिंगो मुलुकलाई कसरी अघि लैजाने भन्ने विषयमा सबै दलहरुले एउटा धारणा बनाएर अघि बढ्नुपर्छ । होइन भने आज एउटा दलले हार्ला भोलि अर्को दलले जित्ला त्यो फरक कुरा हो । सिंगो देशले हार्ने कुरा नगरौं । त्यसको लागि सबै सचेत बनो । मैले के पाउछु, पाउदिनँ भन्दा पनि मुलुक सही दिशामा हुँदा भोलि जो कोही पनि उम्मेदवार बन्न सक्छ । पार्टीले जनताका लागि कार्यदिशा उद्देश्य बोकेर अघि हिँडे व्यक्ति ठुलो कुरा होइन ।’
यस्तै नेकपा कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य समेत रहेका कृष्ण थापाले मुलुकलाई सही दिशामा लैजान ओलीले आफ्नो विशेषाधिकार प्रयोग गरेको जिकिर गरें । ओलीले नै पार्टी एकतामा अहम भुमिका खेलेको हुँदा उनी पक्षमै सामेल भएको उनले बताए ।
हामीसँगको संक्षिप्त कुराकानीमा माँदी गाउँपालिकाका अध्यक्ष समेत रहेका बेद बहादुर गुरुङले जनताले दिएको म्यान्डेड पूरा गर्न नसकेको अवस्थामा बाध्यात्मक अवस्थामा सार्वभौम जनताको ताजा जनमत दिने लोकतान्त्रिक मान्यता अनुरुप प्रधानमन्त्रीले प्रयोग गरेको बताए । ‘त्यसलाई स्वीकार्नु हाम्रो बाध्यता हो, त्यो भन्दा बाहिर जाने स्थिति अहिले छैन,’ उनले भने ।
गुरुङ र बैरागी जिल्ला सदस्यबाट सिधै केन्द्रमा बढुवा भएका हुन् ।
विद्यार्थी राजनीतिमा सक्रिय रश्मी आचार्यले पार्टीको पहिलो अध्यक्ष साथै एकताको अभियन्ता समेत रहेका केपी ओलीको पक्षमा भन्दा पनि पार्टीको मुल प्रवाह जे हो त्यसमै सामेल भएको जिकिर गरे ।
यता पूर्व माओवादी र नेपाल पक्षका नेता, कार्यकता पनि संगठन विस्तारमा कम्मर कसेर लागि परेका छन् ।




