नवलपुर, ८ पुस– नेकपा विवाद गाउँ–नगर तहसम्म पुगेको छ । नवलपुरको गैंडाकोटमा पनि यसको असर परेको छ । मंगलवार केन्द्रमा भएको ओली र प्रचण्डका भिन्दाभिन्दै भेलाको असर तल्लो तहमा पनि देखिएको हो ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले सिफारिस गरेको प्रतिनिधि सभा विघटनको प्रस्ताव राष्ट्रपति बिद्यादेबी भण्डारीले स्वीकृत गरेपछि बैधानिक रुपमा अलग नभएको तर औपचारिक रुपमा पार्टी बिभाजन भईसकेको दुईपट्टिकै नेताहरुले बताएका छन् ।
यसैबीच, प्रचण्ड–माधव नेपाल पक्षले नवलपुरको गैँडाकोटमा गरेको भेलालाई ओली पक्षले बिथोलिदिएको छ । गैँडाकोटको फेम्ली पार्टि प्यालेसमा भईरहेको कार्यक्रममा ओली समर्थित युवाहरुको जत्थाले मञ्चको रोष्ट्रममै पुगेर कार्यक्रम प्रभावित पार्नेजस्तो घिनलाग्दो हर्कत देखाएको प्रचण्ड–माधव पक्षको जिकिर छ ।
यता, ओली पक्षधरले कार्यक्रम बिथोलिदिएको स्वीकार गरेका छन् । पार्टीको नगर कमिटिको ब्यानरमा एक पक्षको कार्यक्रम भएकोमा आपत्ति जनाउँदै बिरोध गरेको ओली निकटकाको दावी छ ।
नेकपा गैँडाकोटका अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नवलपुरका सचिव मित्रशरण शर्माले पार्टी केन्द्रीय कमिटि बैठकले गरेका निर्णयहरु भन्दै हिजो मंगलवार बहुमत केन्द्रीय कमिटि दावी गर्दै आएको प्रचण्ड–माधव पक्षले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा प्रतिरोध भएको छ ।





