शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

सडक संघर्षमा कांग्रेस नेता रामचन्द्रको जोड

सडक संघर्षमा कांग्रेस नेता रामचन्द्रको जोड

भन्छन् : कम्युनिष्टसँग मिलेर कांग्रेस कहाँ बिग्रियो ?


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७७, शुक्रबार

पोखरा, १७ पुस– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओली निर्वाचित तानशाह बन्न खोजेको आरोप लगाएका छन् ।
‘तेस्रो विश्वमा निर्वाचनबाट धेरै तानशाह जन्मिएका छन्’, नेपाली कांग्रेसले बिहीबार पोखरामा आयोजना गरेको प्रवचन कार्यक्रममा उनले भने,‘केपी ओली निर्वाचित तानशाह बन्न खोजेका छन्, नेपाली कांग्रेसले उनलाई तानशाह बनेर हुकुम चलाउन दिँदैन ।’ उनले केपी ओलीको मुखमा कानून नभएको बताउँदै संसद भंग गर्ने अधिकार प्रधानमन्त्रीसँग हुँदै नभएको जिकिर पनि गरे ।
केपी ओलीको विरुद्ध संविधान पुनःस्थापनाका मागसहित सडकमा आएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को प्रचण्ड–माधव नेपाल समूहसँग मिलेर अघि बढ्नुपर्ने धारणा पनि उनको थियो ।
‘यहाँ केही साथीहरु कांग्रेस कम्युनिष्टसँग मिल्न हुँदैन भन्छन्’, उनले संसद पुनःस्थापनाको माग गर्न नहुने भन्ने आफ्नै पार्टीका सभापति शेरबहादुर देउवातिर लक्षित गर्दै भने,‘कम्युनिष्टसँग कांग्रेस मिलेर कहाँ बिग्रियो ? २०४६ सालमा कम्युनिष्टसँग मिलेर संयुक्त संघर्ष नगरेको भए पञ्चायत जान्थ्यो, जाने भए २०४२ सालमा सत्याग्रह गर्दा किन गएन ?’
उनले कम्युनिष्टसँगको सहकार्यबाटै देशमा विभिन्न परिवर्तन र गणतन्त्र आएको व्याख्या गर्दै कम्युनिष्टसँग मिलेर गरिएको हरेक संघर्षपछि कांग्रेस पहिलो शक्ति बनेको पनि बताए । ‘२०४६ सालको परिवर्तनपछि जनताले कांग्रेसलाई पहिलो शक्ति बनाए,बहुमत दिए, आफ्नै सुझबुझ र ढंग पुगेन,जनताले त दिएको थियो नि’, उनले भने,‘आत्मविश्वास नभएका,आफूसँग नैतिक शक्ति नभएका र दरवारपरस्त व्यक्तिले मात्रै कम्युनिष्टसँग मिलेर बिग्रन्छ भन्छन् ।’
उनले प्रधानमन्त्रीले चुनाव गराउनको लागि संसद भंग नगराएको बताउँदै अगाडि भने,‘ भएको दुई तिहाई फालेर दुई तिहाई ल्याउन संसद भंग गरेको कुरा लाटोले पनि पत्याउँदैन, नेपाललाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको भुमरीमा पार्न संसद भंग गरिएको हो ।’ नेपाली कांग्रेस नहुने चुनावको पछि लाग्न नहुने पटक–पटक दोहो¥एका नेता पौडेलले तत्कालीन स्वार्थ हेरेर र केही मन्त्री पदको लोभमा चुनावको कुरा गर्न नहुने जिकिर गरे ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा आफ्नै सभापति शेरबहादुर देउवाले चुनाव नगरेपछि केपी ओली नेपालमा कसरी बस्न सक्छन् भन्दै चुनावमा जानुपर्ने धारणा राखेको सुनाउँदै नेता पौडेलले चुनाव नभएपछि आउने आँधीले तपाईंलाई पनि बगाइदियो भने के हुन्छ ? भन्ने प्रश्न गरेको स्मरण गरे ।

२०६२/०६३ को आन्दोलनताका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनेको स्मरण गर्दै नेता पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र प्रधानमन्त्रीको चाहना नभएको जिकिर पनि गरे ।
‘उहाँले नपत्याएको, नचाहेको कुरा भयो’, उनले भने,‘तर,दुर्भाग्य उहाँ नै त्यसको ( गणतन्त्र) को संरक्षक बन्न पुग्नुभयो,बिडम्वना नै यही हो । उहाँले संविधान मान्दिन भन्नुभयो,संसद विघटन गर्नुभयो ।’
प्रधानमन्त्री ओलीले संविधानविपरित संसद विघटन गरेका र राष्ट्रपति पनि प्रधानमन्त्रीकै मतियार बनेको उनको जिकिर थियो ।
उनले नेपालमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेल सुरु भइसकेको पनि बताए ।‘यहाँ को–को आए, को–को गए देख्नुभयो होला,को कसरी कुँदेर दौडादौडी भयो’, उनले भने,‘उनीहरुले नेपाललाई अफगानिस्तान बनाउन खोजे ।’
‘हामीले पर्खने ठाउँ अदालत नै हो तर हाम्रा साथीहरु अदालतको बारेमा केही भन्न हुन्न भनेर पन्छनुहुन्छ’, आफ्ना पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै उनले भने,‘यो भनेको के हो ? हामीले हाम्रो पक्षमा बहस गर्न हुन्छ कि हुन्न ? यो संविधान मेरो पक्ष हो, त्यसैले म यसको पक्षमा वकालत गर्न पाउनु हाम्रो अधिकार हो ।’

राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा आयोजित वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता विषयक प्रवचन कार्यक्रममा बोल्दै पूर्वसभामुख तारानाथ रानाभाटले संसद विघटन अवैधानिक भएको जिकिर गरे । पूर्वमन्त्री यज्ञबहादुर थापाले कांग्रेसले एउटा चुनाव जित्ने लोभमा संविधान धुजाधुजा हुँदा मौन बस्न नहुने बताए ।
‘हिटलरले भनेजस्तो समाजवाद र राष्ट्रवादको नारा दिएर अनि राष्ट्रपतिसँग मिलेर संविधान धुजाधुजा पारिएको छ’, यो तानशाही हो’,उनले भने । प्रधानमन्त्री ओलीले चुनाव नगराउने र अख्तियारमा प्रेमकुमार राईलाई ल्याएर विरोधीहरुलाई सिस्नुपानी लगाउने तयारी गरेको जिकिर पनि गरे ।
नेताहरु शुक्रराज शर्मा, खेमराज पौडेल,सोभियतबहादुर अधिकारी, गण्डकी प्रदेशका सभासद तथा कांग्रेसका वैकल्पिक केन्द्रीय सदस्य कुमार खड्का, देवराज चासिले, कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतले नेपाली कांग्रेसले संगठन निर्माण र आफ्नो विचार प्रष्ट पार्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->