तनहुँ, १८ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरिदिएपछि यतिबेला ठिहि¥याँउदो चिसोमा पनि राजनितिक सरगर्मी बढ्दो छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव पक्षले सडक तताएको छ । सडक तताउनलाई सघाएको छ प्रमुख प्रतिपक्ष कांग्रेसले पनि ।
संसद विघटन अगाडी नै दुई धारमा विभाजित नेकपाका नेता कार्यकर्ता एकअर्काप्रति हिलो छ्याप्नलाई व्यस्त छन् । चाहे त्यो सामाजिक सञ्जाल होस,या चिया चौतारी नै । आफ्नो पक्षको बचाउ र अर्कोको खोईरो खन्न व्यस्त छन् नेकपा समर्थकहरु ।
नेताहरुलाई एक होउ भनेर खबरदारी गर्नुको सट्टा तल्लो तहका नेता कार्यकर्ता पनि आ–आफ्नै गुटगत भेलामा व्यस्त देखिन्छन् । ‘भाई फुटे गवार लुटे’ भन्ने उखान बिर्सेर कानुनी रुपमा पार्टी विभाजन हुन नपाउदै तल्लो तहमा संसद विघटन भएपछि गुटगत भेलाले तिब्रता पाएको हो । तनहुँमा पनि जिल्लादेखि पालिका, वडा र टोलमा गुटगत भेला भईरहेका छन् ।
शुक्रबार शुक्लागण्डकीमा एउटै कमिटिको ब्यानरमा दुई फरक भेला भए । दुलेगौँडास्थित ह्वाईटहाउस पार्टी प्यालेसमा ओली पक्ष र बेलचौतारास्थित तालडाँडा सामुदायिक भवनमा प्रचण्ड–नेपाल समुहको ।
लेखाईमा शुद्धता नभएपनि दुवै भेलाको ब्यानरमा आयोजक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्लागण्डकी नगर कमिटि लेखिएको थियो । ओली पक्षले ब्यानरमा प्रधानमन्त्री ओलीको बडेमानको फोटो राखेको थियो ।
ओली पक्षको भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले लोकतन्त्रमा जनताको मत लिनु उपयुक्त हुने बताए । उनले भने, ‘लोकतन्त्रमा संसदिय अभ्यास अनुसार सदनमा मत लिने र जनमतमा जान पाईन्छ । यी मध्ये जनमतमा जाने कदम उपयुक्त हो ।’ गुरुङले प्रधानमन्त्रीले संसद विघटन गरेर जनमतमा जाने निर्णय गर्दा अलोकतान्त्रिक र असंवैधानिक भन्नेहरुले संविधान नपढेको बताए । सर्वोच्चले संसद पुनस्र्थापना गर्ने सम्भावना नरहेको नेकपा स्थायी कमिटि सदस्य समेत रहेका गुरुङको दाबी छ । एक घण्टा लामो सम्बोधन गरेका गुरुङले प्रचण्ड–नेपाल पक्षले संसद पुनस्र्थपनाका लागी गरेको आन्दोलनलाई असंवैधानिक कदमको संज्ञा दिए । सम्बोधनका क्रममा अधिकांश समय उनले ओली पक्षको बचाउ र प्रचण्ड–नेपाल पक्षको चर्को आलोचनामा खर्चिए ।
उता प्रचण्ड–नेपाल पक्षको भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले प्रधानमन्त्रीले चालेको कदर असंवैधानिक भएको आरोप लगाइन् । उनले आफुहरुको पक्षमा बहुमत रहेकाले संसद पुनस्र्थपना हुने उल्लेख गरिन् ।
दुवै गुटको भेलामा शुक्लागण्डकी नगरपालिकाको विभिन्न वडाका अध्यक्षहरु सामेल भए । ओली पक्षको भेलामा २, ६ र ९ नम्बर वडाका अध्यक्ष देखिए भने प्रचण्ड नेपाल समुहको भेलामा ५, १०, ११ र १२ नम्बर वडा अध्यक्ष सहभागी भएका थिए । शुक्लागण्डकी नगरपालिकाका १२ वडामध्ये नेकपाका ९ वटा वडामा अध्यक्ष निर्वाचित भएका हुन् । नेकपाबाट निर्वाचित उपमेयर सविता रसाईली ओली पक्षको केन्द्रिय सदस्यमा मनोनित भएको चर्चा चलेपनि उनी दुवै पक्षको भेलामा देखिइनन् । यस्तै ३ र ७ नम्बरका वडाध्यक्ष पनि भेलामा भेटिएनन् ।





