बेनी, २२ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले प्रचण्डले विगतमा सूर्य चिह्न च्यात्ने,जलाउने र आस्थावान कार्यकर्ताको हत्या गरेकाले उनले स्रूर्य चिह्नलाई माया गर्नु त्यो नक्कली माया भएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ओली समूहका नेता बस्नेतले प्रचण्डलाई २०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा सिरहामा लीलानाथ श्रेष्ठले जितेको सूर्य चिह्नको मतपत्र च्यातेर चुनाव जितेको बताउँदै २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चितवनमा आफ्नी छोरी रणु दाहाललाई मतपत्र च्यातेर चुनाव जिताएको आरोप लगाए । उनले भने,‘प्रचण्डले छातीमा सूर्य चिह्न टाँसेर हिँड्नु त्यो नक्कली माया मात्रै हो ।’
प्रचण्ड कहिले रोल्पाबाट, कहिले सिरहा र कहिले चितवनबाट उठेर निर्वाचन लड्ने गरेको आरोप लगाउँदै नेता बस्नेतले आगामी निर्वाचनमा कहाँबाट उठ्ने हो भन्ने ठेगान नभएको बताए । उनले चितवनको चुनावमा प्रचण्डले नेपाली कांग्रेसलाई त्यहाँको निर्वाचन क्षेत्रमा बिक्रम पाण्डेलाई नउठाइदिन समेत आग्रह गरेको आरोप लगाए नेता बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालय कब्जा, बैंक खाता रोक्का गर्ने जस्ता कार्य नगर्न आग्रह गर्दै प्रचण्डलाई त्यस्तो गरेमा सह्य नहुने चेतावनी दिए ।
पूर्व मन्त्री तथा राष्ट्रिय युवा संघका इन्चार्ज समेत रहेका नेता बस्नेतले अहिले नेकपामा जति पनि पार्टीका कमिटीहरु गठन भएका छन्, जति पनि सदस्यहरु मनोनित भएका छन् ती सबै केपी ओलीको सिफारिसमा भएकाले आधिकारिक भएको बताए ।उनले आगामी चुनावका लागि केपी ओली नेतृत्वको नेकपाले सूर्य चिह्न पाउनेमा कुनै विवाद नभएको तर्क गरे ।उनले अहिले नेकपा विभाजित भएर प्रचण्ड–माधव पक्षमा लागेका नेता, कार्यकर्ताहरु पुनः केपी ओलीको पार्टीमै फर्किने दावी गरे ।
नेता बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव संसदीय दलको वैठकमा दर्ता गर्नुपर्नेमा प्रचण्ड–माधव नेपालले संसदीय सचिवालयमा दर्ता गरेपछि नेकपा आधिकारिक रुपमा विभाजित भएको बताए । केपी ओलीले सरकार गठन गर्दा २ महिनासम्म अल्झाएको आरोप लगाउँदै उनले भने, ‘त्यो लोकतान्त्रिक हुने अनि बहुमतको प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचनको घोषणा गर्नु कसरी अलोकतान्त्रिक हुन्छ ?’ भन्दै प्रश्न गरे ।
‘समृद्ध नेपाल र सुखी नेपाली’ योजनाको परिकल्पनाकार केपी ओली भएको बताउँदै नेता बस्नेतले अहिलेको सरकारले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सशक्त बनाएको बताए । उनले आजको भू–राजनीतिमा चीन र भारतलाई गाली गर्ने नभई अन्तर्राष्ट्रियस्तरमा नेपालको सुमधुर सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिए । उनले अब वाईसीएल र युथफोर्स बनाउने नभई टोलटोलमा साइबर सेना बनाउनुपर्ने बताए ।
सोही भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले केपीओली नेतृत्वको सरकारले देशमा थुप्रै विकास निर्माणका कामहरु गरेको बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नवराज शर्मा, माधव बाँस्तोला, हरिकृष्ण श्रेष्ठ र सन्तोष रावलले ओली सरकारले उत्तर–दक्षिण जोड्ने अन्तर्राष्ट्रिय नाका खोल्नुका साथै विभिन्न जनमुखी विकासका कामहरु गरेको बताए ।
कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य दिनेश केसी, भोजबहादुर थापा, नेकपा रघुगंगा गाउँपालिका अध्यक्ष दिपक बिखर्ची, धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल, सावित्री केसी, युवा संघका जिल्ला सदस्य विजय घर्तीले मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सदरमुकाम बेनीमा मोटरसाइकलसहितको ¥याली निकालिएको थियो। ओली समुहले म्याग्दीका गाउँगाउँबाट करिक १ हजार यूवालाई सदरमुकाम बेनीमा ल्याएर शक्ति प्रर्दशन गरेको थियो ।





