तनहुँ, २७ पुस– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीले बाध्यताका कारण आफुलाई बहुमतले प्रधानमन्त्री बनाएको संसद विघटन गरेको बताएको छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी नेकपाले तनहुँको सदरमुकाम दमौलीमा आयोजना गरेको जिल्लास्तरीय भेलामा बोल्दै उनले पुष्पकमल दाहाल र माधव नेपालको पदको लोभका यो स्थिती पैदा भएको बताए । ‘के आफुलाई चुन्ने, सर्वसम्मत प्रधानमन्त्री बनाउने नेता र संसदलाई विघटन गर्नु खुशीको कुरा हो’, प्रश्न गर्दै उनले अगाडी भने, ‘त्यो बाध्यता कुरा हो । कसैले गर्दैन् । कस्तो स्थितीमा गर्छ भन्ने कुरा बुझ्न जरुरी छैन् । के कारण यस्तो कदम चाल्न बाध्य भईयो भन्ने कुरा बुझ्न जरुरी छ ।’
उनले मध्यावधि निर्वाचन गर्ने सरकारको निर्णय अग्रगामी कदम भएको जिकिर गरे । सरकारले गरेको राम्रा कामको प्रशंसाले केपी शर्मा ओलीले एकछात्र राज गर्ने सम्भावना भएपछि पार्टीभित्रैका मान्छेहरुको दिन हराम भएको मन्त्री रायमाझीले सुनाए । पुर्व माओवादी केन्द्रका नेता उनी पछिल्लो समय प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ओली खेमामा आएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रकै नेताहरुको कारण संसद विघटन भएको दाबी गरे ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्र नबुझेकाहरुले मध्यावधि निर्वाचनको विरोध गरिरहेको बताए । उनले कुनै हालतमा संसद पुनस्र्थपना नहुने दाबी गरेका छन् । भेलामा ओली पक्षका नेता कार्यकर्तालाई गाउँगाउँबाट दमौली उतारिएको थियो । भेलामा बोल्ने अधिकांशले केपी ओलीले चालेको कदम सही र प्रचण्ड–माधव समुह गलत रहेको टिप्पणी गरे ।





