बेनी, ३ माघ– नेपालबाट गएका १० पर्वतारोहीले शनिबार विश्वकै दोस्रो अग्लो पाकिस्तानको माउन्ट केटुको सफल आरोहण गरेका छन् । आरोहणसँगै उनीहरुले इतिहास पनि रचेका छन् । यस शिखरमा हिउँद याममा आजसम्म कसैले आरोहण गर्न सकेका थिएनन् ।
तर नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ त्यहाँको समयअनुसार पौने छ बजे यो शिखर चुमेका हुन् । माउन्ट केटुको उचाइ ८ हजार ६ सय ११ मिटर छ । १० आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजन बिनै आरोहण गरेका छन् ।
आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्सका छाङदावा शेर्पाले आरोहणको सफलता पुष्टि गरेका हुन् । सुरुमा तीन वटा समूहमा विभाजित पर्वतारोही अन्तिममा एकसाथ शिखरमा पुगेका थिए । ‘हामीले नेपाल र नेपाली आरोही समुदायलाई गर्विलो तुल्याएका छौं’ चुचुरोमा पुगिसकेपछि मिङ्मा ग्याल्जी शेर्पाले सामाजिक संजालमा लेखेका छन् ।
यसैगरि निर्मल पूर्जाले पनि सामूहिक मिहेनतका कारण प्रयास सफल भएको लेखेका छन् । चुचुरोमा पुगेपछि सबैले एकैसाथ नेपाली राष्ट्रिय गीत गाएको समेत उनले जनाएका छन् । ‘यतिबेला देशप्रेम महसुस भयो’ पुर्जाले उल्लेख गरेका छन् । पर्वतारोहीका अनुसार केटु चढ्नु सगरमाथा आरोहणभन्दा कठिन कुरा हो किनभने केटु पर्वतको संरचना नै जटिल खालको छ । पूर्जाका अनुसार आफूहरु चुचुरोमा पुग्दा त्यहाँको तापक्रम माइनस ४० डिग्री सेल्सियस रहेको र २०० किमी प्रतिघन्टाले हावा चलेको थियो ।





तस्विरः विश्वकै दोस्रो अग्लो माउन्ट केटुको आरोहणदलका सदस्यहरुको सहयोगमा ।




