नवलपुर, १० माघ- विघटित प्रतिनिधि सभा सदस्य तिलक महतले नवलपुरको गौरवका रुपमा रहेको धौवादी फलाम खानी कार्यान्वयनमा ल्याउन सरकार लागिपरेको जिकिर गर्दै धौवादीबाट फलाम उत्पादनको काम शुरु हुदा सबैभन्दा पहिले प्रत्यक्ष लाभ नवलपुरका ब्यवसायीलाई हुने दावी गरे ।
शुक्रवार कावासोतीमा भएको ग्रील तथा स्टील ब्यवसायी संघ नवलपुरको चियापान, पदस्थापना तथा बिदाई कार्यक्रममा बोल्दै महतले बिद्युतको समस्याका लागि सम्वन्धित कार्यालयसँग समन्वयका लागि सघाउने जनाएका छन् ।
महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ब्यवसायीहरुको प्रतिनिधित्व गर्दै बोल्ने बक्ताहरुले फलाममा भएको मुल्यबृद्धि, भाडामा ठाउँ लिएर सञ्चालित उद्योग घर मालिकका कारण ठाउँ सरिराख्नुपर्ने अवस्था, उद्योग सञ्चालनका लागि आवश्यक पर्ने बिद्युत क्षमता नहुनु लगायतका कारणले ब्यवसायी मर्कामा परेको बताएका थिए ।
कार्यक्रममा निवर्तमान समितिका पदाधिकारी–सदस्य सवैलाई सम्मानका साथ बिदाई गरिएको थियो भने नवनिर्वाचित कार्य समितिका पदाधिकारी–सदस्यलाई स्वागत गर्दै पदस्थापना गरिएको हो । नवनिर्वाचित समितिका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिका वडा नं। ३ का अध्यक्ष अमृत श्रेष्ठले बोलेका थिए । पेशागत संघमा जिल्लाभरिका करिव १ सय २० उद्योग सञ्चालक आवद्ध छन् ।





