बागलुङ, १४ माघ– गण्डकी प्रदेशका ११ जिल्लामा आजबाट कोरोना भाईरस (कोभिड–१९) बिरुद्धको खोप लगाउने काम सुरु हुँदैछ । सामाजिक बिकास मन्त्रालयले ११ वटै जिल्लामा बिहान १० बजेदेखि पहिलो चरणको खोप लगाउने काम सुरु हुने जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले बिहान १० बजे गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा खोपको औपचारीक सुरुवात गर्नेछन् । भारत सरकारले सहयोग गरेको खोप ‘कोभिशिल्ड’ अग्रपंक्तीमा रहनेहरुका लागि लगाउन थालिएको हो ।
खोपको बिषमा जानकारी दिन मंगलबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका अस्पताल बिकास महाशाखाका निर्देशक डा. राम बहादुर केसीले खोप दिने र त्यसपछि आउन सक्ने खतराको सामनाका लागि सबै जनशक्ति तयार रहेको बताए । ‘यो खोप अग्रपंक्तीमा रहेकाहरुको लागि स्वइच्छीक खोप हो’ केसीले भने ‘हामी सम्पूर्ण तयारीका साथ लागेका छौं ।’
नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खोप भएकाले ढुक्क भएर प्रयोग गर्न उनले आग्रह गरे । अन्य खोपहरुमा जस्तै सामान्य प्रतिक्रिया कोभिडको खोपले दिने भएपनि त्यसबाट आत्तिन नहुने उनको भनाई थियो ।
बागलुङमा पहिलो दिन १ सय ५० जनालाई खोप लगाउने तयारी छ । खोप लगाईसकेपछि हुन सक्ने अवान्छनीय घटनाको सामना गर्नका लागि धौलागिरी अस्पतालका डा. दिवाकार पराजुलीको नेर्ततवमा ६ सदस्य रहेको व्यवस्थापन समुह बनाईएको छ । ‘आधा घण्टामा खोपको सबै क्रिया प्रतिक्रिया थाहा लाग्छ, त्यो समय हामी उच्च निगरानीमा राख्छौं’ केसीले भने ‘यदि खोपको नकारात्मक असर देखिए लगाउने अर्को खोप पनि तयारी अवस्थामा छ ।’
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अकस्मात हुने अबान्छनीय प्रतिक्रिया समन्वय समिति बनाईएको छ । बागलुङमा आउँदो माघ २४ गतेसम्म सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यक्षेत्रमा काम गर्ने कर्मचारी, एम्बुलेन्स तथा शवबाहनका चालक, सरसफाई मजदुर लगायतलाई खोप लगाईने छ ।
पहिलो दिन ७५ जना धौलागिरी अस्पतालका स्वास्थ्यकर्मी र ७५ जना बागलुङ नगरपालिकाका स्वास्थ्यकर्मिलाई खोप लगाईने छ । ११ दिन चल्ने खोप कार्यक्रममा पालिका अनुसारको तालिका बनाईएको छ ।
जिल्लाभर पहिलो चरणमा १ हजार ७ सय १४ जना स्वास्थ्यकर्मी तथा स्वयंसेवीकालाई खोप लगाईने छ । यो खोप पहिलोपटक लगाएको एक महिनामा दोस्रो डोज लगाएपछि पुरा हुनेछ । विश्व स्वास्थ्य संगठनका अनुसार खोपले ६ महिना मात्रै काम गर्छ ।





