पोखरा, १४ माघ– गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आधिकारिक रुपमा फुटेपछि मात्रै कांग्रेसले गण्डकी प्रदेश सरकार पुर्नगठनका लागि सरकारले धारणा बनाउने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपालाई जनताले ५ वर्षका लागि म्यान्डेट दिएपनि उनीहरु असफल भएको टिप्पणी गरे । ‘सरकार बन्न नसक्ने अवस्था भए कांग्रेसले सरकार बनाउँछ, अन्यथा अहिलेकै अवस्थामा अविश्वासको प्रस्ताव ल्याउने पक्षमा कांग्रेस छैन,’ उनले भने ।
सांसद थापाले कोरोना संक्रमणले जनता आक्रान्त बनेको बेला जनतालाई गफ र भाषणबाहेक केही दिन नसकेको भन्दै विकास बजेटको करिब ७ महिना सकिन लाग्दा मात्र १५ प्रतिशत खर्च मात्रै भएको बताए । उनले निर्वाचनपछि राज्यबाट पाएको सेवासुविधा सामाजिक सेवामा खर्च गर्दै आएको बताए । उनले बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सुविधा सामाजिक सेवामा खर्च गरेको दाबी गरेका छन् ।
कार्यक्रममा कांग्रेस कास्कीका सभापति कृष्ण केसीले प्रतिनिधिसभा विघटनको विरोधमा कास्की कांग्रेसले आन्दोलन सशक्त बनाउने बताए । केन्द्रमा नेताहरुबीच दोधारे प्रवृत्ति देखिए पनि कास्की कांग्रेसले भने निरन्तर आन्दोलनमा रहेको बताए ।
प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेलले पनि बोलेका थिए ।




